देशभर ४४ नर्समा कोरोना संक्रमण

देशभर ४४ नर्समा कोरोना संक्रमण

नेपालमा कोरोना महामारी सुरु भएपछि हालसम्म देशभरमा ४४ जना नर्स कोरोना संक्रमित भइसकेका छन्। नेपाल नसिंङ संघको तथ्यांक अनुसार उपत्यकाबाहिर र भित्रसमेत गरेर ४४ नर्स संक्रमित भएका हुन्।

नेपालमा पहिलोपटक वैशाख ३० गते तौलिहवा अस्पतालकी एक नर्समा संक्रमण पुष्टि भएको थियो। त्यसयता चिकित्सक संक्रमित हुने संख्या बढी छ।

संक्रमितको तथ्यांक हेर्दा उपत्यकाबाहिर त्यसमा पनि प्रदेश २ का नर्स सबैभन्दा बढी प्रभावित छन्। जसमा जनकपुरमा १० र वीरगञ्जका ९ नर्स कोरोना संक्रमित भइसकेका छन्।

त्यसैगरी प्रदेश १ को विराटनगरमा पनि ९ जना नर्स संक्रमित भइसकेका छन्।

नेपालगञ्चमा ३ जना नर्स संक्रमित छन्। धनगढीमा २ जना र राजविराजमा र विराट नसिंङ होममा १-१ जना छन्।

काठमाडौ उपत्यकामा सबैभन्दा बढी शिक्षण अस्पतालमा ४ जना नर्स संक्रमित भएका छन्। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा २–२ जनामा कोरोना पोजेटिभ पाइएकाे छ।

कान्ति बाल अस्पतालमा जम्मा १ जनामा कोरोना पोेजेटिभ पुष्टि भएको तथ्यांक छ।

संक्रमितको उपचार, परामर्शदेखि, शल्यक्रियालगायतका प्रक्रियामा नर्स सहभागी हुन्छन्। यसबीचमा संक्रमणबाहेक आर्थिक र मनोवैज्ञानिक रूपमा पनि नर्स प्रभावित बनेका छन्।

संघले संकलन गरेको विवरणमा कतिपय संक्रमित संस्थाको संख्या छुटेको हुनसक्ने बताइएको छ।

नेपाल नर्सिङ संघका अध्यक्ष मनकुमारी राईका अनुसार सबै नर्स क्वारेन्टाइन तथा आइसोलेसन भएका कोरोना पोजेटिभ बिरामीमा सेवारत नर्स कोरोना संक्रमित भएका हुन्।

उनले सुरु सुरुमा पिपिईलगायतका सुरक्षा सामग्रीको अभावमा नर्सहरू संक्रमित हुने गरेकोमा अहिले यस्ता सामग्रीको उपलब्धता बढेको बताइन्।

‘चाहिने पिपिई, मास्क, पन्जाको अभावका कारण सुरुमा संक्रमण दर बढी थियो, अहिले दर कम छ,’ उनले भनिन्।

पहिला सामग्री थिएन, अहिले भत्ता छैन

अध्यक्ष राईले अहिले पनि नर्सले पर्याप्त मात्रामा सबै प्रकारका सुरक्षा सामग्री नपाएको भन्दै अहिलेको प्रमुख समस्या पेसागत असुरक्षा र जोखिम भत्ताको अभाव हो ।

संक्रमण जितेकी नेपालगञ्जकी नर्स लक्ष्मी केसीलाई संक्रमणपछि आफ्नै सहकर्मीको व्यवहारमा पनि धेरै फरक पाएको सुनाइन्।

त्यसमा पनि श्रीमानसमेत संक्रमित भए पनि आइसोलेसनमा बस्दा बच्चासमेत अलपत्र परको उनको अनुभव छ। ‘दिनरात नभनी सेवामा खटिने नर्स कोरोना पोजेटिभ हुनासाथ सबै सेवा बिर्सिइनेरहेछ,’ उनले गुनासो गरिन्।

‘सेवा गरेको भएरै त हामीलाई पनि संक्रमण भएको हो नि। हामी नर्स पनि डराएर घरमै बस्न थाल्यो भने के हुन्छ?’ उनले प्रश्न गरिन् ।

कोरोना पोजेटिभ भयो भनेर कुनै पनि व्यक्ति त्यसमा पनि स्वास्थ्यकर्मी, नर्समाथि अमानवीय व्यवहार नगर्न उनको आग्रह छ।


Leave a Reply

Your email address will not be published.