प्रतिपक्षले सस्तो लोकप्रियता रोज्यो : मुख्यमन्त्री

प्रतिपक्षले सस्तो लोकप्रियता रोज्यो : मुख्यमन्त्री

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षले सस्तो लोकप्रियता रोजेर जनतालाई भ्रममा पार्ने गरेको आरोप लगाएका छन्। 

मंगलबार प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले कोरोना नियन्त्रणका नाममा भएको खर्चको हिसाब माग्दै लामो समय प्रदेश सभा अवरोध गरेको प्रति कटाक्ष गर्दै भने, ‘प्रतिपक्षले कोरोनाका नाममा ९३ करोड खर्च भयो हिसाब देऊ भन्छ, तर हामीले ५० देखि ५३ करोड खर्च गरेका छौं अनि बाँकी खर्च नभएको रकमको हिसाब कताबाट दिनु?’ 

मुख्यमन्त्री भट्टले प्रदेशवासी कोरोना कहरमा जुधिरहेका बेला नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने बारेमा सोच्नुपर्ने बेला प्रमुख प्रतिपक्षी दलले जनतालाई भ्रममा पार्दै सस्तो लोकप्रियता कमाउनेतर्फ नलाग्न पनि आग्रह गरे।

‘प्रमुख प्रतिपक्षी दलले प्रदेश सरकारका नाममा अफवाह फैलाउँदा जनता निरास भएका छन्,’ उनले भने, ‘यस्ता कामले संघीयता कम्जोर बन्छ, संघीयता कमजोर बन्दा प्रतिपक्षी दललाई पनि राम्रो हुँदैन।’ आज कम्युनिष्ट पार्टीको सरकार भएकाले झुटो प्रचार गर्ने प्रमुख प्रतिपक्षी दललाई भन्दै मुख्यमन्त्री भट्टले प्रश्न गर्दै भने, ‘भोलि तपाई पनि यही कुर्चीमा आउँदा जनतालाई के भन्नुहुन्छ।’ 

मुख्यमन्त्रीले प्रदेश सभामा भने, ‘संघीय सरकारले २० औं करोड दियो भनेर प्रतिपक्षका साथीले भन्नुभएको छ, त्यसको हिसाब माग्नुभएको छ, हामीलाई संघीय सरकारले दिएको ६ करोड हो, त्यो पनि हामीले खर्च गर्न पाउने गरी होइन, स्थानीय तहहरूलाई दिनका लागि अनि त्यसको हिसाब कसरी दिनु?’ 

‘यसैका नाममा प्रदेश सभा लगातार अवरुद्ध भयो र हामीले चाहेअनुसार बजेट सभामा छलफल हुनै पाएन,’ बिना छलफल नै बजेट पारित गर्नुपर्ने बाध्यता हाम्रोसामु आयो ।’ उनले लोकतन्त्र भन्दैमा मनपरी नगर्न पनि प्रमुख प्रतिपक्षी दललाई आग्रह गरे । प्रतिपक्षले आफूलाई जिम्मेवार बनाउनुपर्ने र भ्रम छर्ने काममा लाग्न नहुने उनले बताए। 

प्रदेश सरकारले २४ करोडभन्दा बढी रकम राहत वितरण, आइसोलेसन निर्माण, क्वारेन्टाइन व्यवस्थापनका लागि स्थानीय तहलाई दिएको मुख्यमन्त्रीले बताए। 

कोरोना भाइरस प्रदेशमा समुदायस्तरमा फैलिन नदिन प्रदेश सरकारले विभिन्न उपायहरू गरिरहेको उनले बताए । 

मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा बाढीपहिरोबाट असार १ गतेयता मात्रै ४३ जनाको मृत्यु भएको स्मरण गर्दै बाढीपहिरोबाट घरबार गुमाएका तथा घाइतेका लागि लगत संकलन गरी उपचार र क्षतिपूर्तिको व्यवस्था गरिने बताए।

उनले समाजमा कारोना फैलिन नदिन प्रदेश सरकारले पिसिआर परीक्षणको दायरा बढाउँदै लगेको बताए। ‘प्रदेश सरकार नागरिकको सुरक्षामा जिम्मेवार छ,’ उनले भने, ‘समुदाय स्तरमा रोग फैलन नदिन हामीले सक्दो प्रयत्न गरेका छौं।’ 
 


Leave a Reply

Your email address will not be published.