डाक्टरसहित ५९ जनामा कोरोना, बाँकेकै २६ जना

डाक्टरसहित ५९ जनामा कोरोना, बाँकेकै २६ जना

बाँकेमा मंगलबार थप २६ जनामा कोरोना  भाइरसको संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार बाँकेमा संकलन गरिएको स्वाब परीक्षण गर्दा बाँकेका २६ सहित ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये २६ जना बाँकेका छन् भने बाँकी अन्य जिल्लाका छन्। 

संक्रमित देखिएकामा नेपालगन्ज मेडिकल कलेजका एक डाक्टर, दुईजना कर्मचारी र उपचारत दुई बिरामीमा समेत संक्रमण पाइएको हो।

यस्तै बाँकेसहित अन्य जिल्लामा देखिएका कोरोना संक्रमितमा केही राष्ट्रसेवक कर्मचारीसमेत रहेको उनले जानकारी दिए। दैनिक धेरै संख्यामा कोरोना पोजेटिभ भेटिन थालेपछि उनीहरूलाई कहाँ राख्ने भन्ने विषयमा अन्योलता हुन थालेको छ।
बाँकेमा विभिन्न स्थानमा सञ्चालनमा रहेका ८ वटा आइसोलेसनमा ३ सय बेड छन्।

भेरी अस्पताल नेपालगन्जबाट कन्ट्रयाक ट्रेसिङबाट संकलित स्वाबमा २१ जनामा कोरोना पुष्टि, नेपाली सेनाको फिल्ड एम्बुलेन्स दाङबाट संकलित स्वाबबाट २९ जना, नेपालगन्ज मेडिकल कलेजबाट कन्ट्रयाक टे«सिङबाट संकलित स्वाबबाट ५ जना, बाँकेको राप्ती सोनारी गाउँपालिकाका १ जना, २ जना दाङका र १ जना अछामका व्यक्तिमा कोरोना पुष्टि भएको छ।

फोकल पर्सन श्रेष्ठका अनुसार हालसम्म भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला गरिएको परीक्षणबाट १ हजार १ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने प्रयोगशाला सञ्चालनमा आएसँगै हालसम्म २६ हजार ८ सय ३० जना व्यक्तिको कोरोना परीक्षण गरिएको छ।


Leave a Reply

Your email address will not be published.