विदेशबाट फर्किएकालाई काठमाडौंमै क्वारेन्टाइनमा राखिने

विदेशबाट फर्किएकालाई काठमाडौंमै क्वारेन्टाइनमा राखिने

सरकारले विदेशबाट फर्किएका नेपालीलाई काठमाडौं उपत्यकामै क्वारेन्टाइनमा राख्ने भएको छ।

यसअघि विदेशबाट उद्धार गरी ल्याइएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होल्डिङ सेन्टरमा लगी व्यक्तिगत विवरण र स्वास्थ्य परीक्षण गरी सम्बन्धित प्रदेशको रोहबरमा पठाइने गरिएको थियो।

तर, काठमाडौं उपत्यकासहित मुलुकका धेरै जिल्लामा संक्रमितको संख्या बढिरहेको र विदेशबाट आएका नेपालीमा समेत यसअघि नै संक्रमण रहेको हुनसक्ने भएकाले अब काठमाडौंमै क्वारेन्टाइनमा राख्ने निर्णय मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको हो।

हाल विदेशबाट आएका नेपालीलाई काठमार्डौंमा व्यवस्थापनका जिम्मा नेपाली सेनाको उपत्यका पृतनाले लिएको छ। नेपाली सेनाले तयार गरेको गाडीमा विमानस्थलबाट उनीहरूलाई होल्डिङ सेन्टरमा लगिन्छ। 

काठमाडौं उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनधिहरूको संस्था उपत्यका नगरपालिका फोरमले पनि तेस्रो मुलुकबाट फर्कने नेपालीको संख्या बढ्न सक्ने भन्दै संघीय सरकारको पहलमा स्थानीय तहले व्यवस्थापन गर्ने गरी क्वारेन्टाइन बनाउनुपर्ने निष्कर्ष निकालेको थियो।

यसैगरी,अब विदेशबाट दैनिक ५ सय जनाको मात्र उद्धार गरिने छ।

विदेशबाट चैत–वैशाखमा पनि नेपाली फर्किएका हुन्। तर, उनीहरू सम्बन्धित देशबाटै विमानको व्यवस्था भएर फर्किएका थिए।
जेठमा सरकारले विदेशबाट नेपाल फर्कन चाहने नेपालीहरूको सूची तयार गरेको थियो। 

मन्त्रिपरिषद्को जेठ ४ गतेको निर्णय र सिसिएमसीको जेठ १६ गतेको निर्णय अनुसार नेपालबाट चार्टर्ड विमान पठाएर नेपालीको उद्धार गरिँदै आएको छ। यद्यपि, स्वदेश फर्किँदाको लागत भने सम्बन्धित व्यक्तिले नै व्यहोर्दै आएका छन्।

विदेशबाट आउने नेपालीले विमान चढ्नुअघि कोरोना भाइरसका परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ।  विदेशबाट फर्कन चाहने नेपालीको सूची बनाउने कामको संयोजन परराष्ट्र मन्त्रालयले गरेको हो। स्वदेश फर्कन चाहनेको सूची संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा छ।


Leave a Reply

Your email address will not be published.