बिपी प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा ताला, उपकुलपति सिनेट बैठकलाई काठमाडौं लागे

बिपी प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा ताला, उपकुलपति सिनेट बैठकलाई काठमाडौं लागे

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको कार्यकक्षमा नेपाली कांग्रेसको भातृ संगठनहरूले तालाबन्दी गरेका छन्। 

नेपाल तरुण दल र विद्यार्थी संघले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै कोभिड–१९ अस्पताल सुचारु गर्न माग राखेका छन्। 

उनीहरूले गिरीले कोभिड–१९ अस्पताल सञ्चालन गर्नुुको सट्टा सिनेट बैठकका लागि पदाधिकारीसहित काठमाडौं गएको भन्दै प्रतिष्ठान पदाधिकारीको गैरजिम्मेवारपूर्ण कदमको विरोध गरेका हुन्। 

तरुण दल धरानका अध्यक्ष हिमाल श्रेष्ठ र नेविसंघ सुनसरी क्षेत्र १ कार्यसमितिका सचिव दोची शेर्पाले संयुक्त हस्ताक्षर गरे विज्ञप्तिसमेत जारी गरेका छन्। 

श्रेष्ठले धरानका १० संक्रमित आइसोलेसन बेडको अभावले घरमा नै बस्नुपरेको तर प्रतिष्ठानका उपकुलपति भने आफ्नो स्वार्थपूर्तिका लागि सिनेट बैठक बस्न काठमाडौं गएको भन्दै विरोधस्वरुप तालाबन्दी गरिएको बताए। 

उनीहरूले कोभिड अस्पताल तत्काल सञ्चालन गर्न र अघिल्लो सिनेट बैठकमा धरानवासीको तर्फबाट सिनेट सदस्य तथा धरानका मेयर तिलक राईले राखेका माग पनि पूरा गर्नुपर्ने सर्त राखेका छन्। 

आन्दोलनकारी संगठनले उपकुलपति आएर छलफल गरेर निकास नभएसम्म ताला नखोलिने अडान लिएका छन्।

धरान उपमहानगरपालिकाका मेयर राई र उपकुलपति गिरीबीचको सम्बन्ध खटपट स्थितिमा छ। कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा उपमहानगरसँग समन्वय नगरेको जनप्रतिनिधिको गुनासो छ। सोही कुराले बिपी प्रतिष्ठान र धरान उपमहानगरपालिका प्रमुखबीच सम्बन्ध चिसिएको स्थानीय बताउँछन्। 

नेकपाको ओली गुुटबाट राजनीतिक सिफारिसमा नियुक्त भएका गिरी विराटनगरको एक निजी स्वास्थ्य संस्थाका सञ्चालक समेत हुन् भने तत्कालीन नेकपा एमालेका तर्फबाट निर्वाचित भएका तारा सुब्बाको निधनपछि धरानमा भएको उपनिर्वाचनमा कांग्रेसका तर्फबाट राईले मेयर पदमा बाजी मारेका थिए। पछिल्लो समय यी दुुई संस्थाबीचको सम्बन्धमा राजनीतिक रंग मिसिएको जानकारहरू बताउँछन्। 
बहिरंग सेवा अनिश्चितकालका लागि बन्द 

बिपी प्रतिष्ठानले अनिश्चितकालका लागि ओपिडी सेवा बन्द गरेको छ। मंगलबार प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ को संक्रमणले उत्पन्न हुने अप्ठ्यारो परिस्थति भन्दै साउन २८ देखि बहिरंग सेवा बन्द गर्ने निर्णय गरेको हो। 

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साहका अनुसार सुनसरी जिल्ला प्रशासनको निषेधाज्ञा र धरान उपमहानगरपालिकाको लकडाउनलाई मध्यनजर गर्दै बिपीको सेवा बन्द गरिएको हो।  प्रतिष्ठानमा कार्यरत २ चिकित्सक र उनका परिवारमा कोरोना संक्रमण पुष्टि भइसकेको प्रतिष्ठानकाले जानकारी दिएको छ।

प्रदेश एकको भरपर्दो स्वास्थ्य संस्थाको सेवा अनिश्चितकालका लागि बन्द भएपछि दैनिक सेवा लिन आउने सयाैं सर्वसाधारण समस्यामा परेका छन्। बिपीमा कोरोना संक्रमित उपचार गर्ने एक सय बेडको आइसोलेटेड उपचार केन्द्र अलग्गै छ भने पिसिआर ल्याब समेत सञ्चालनमा छ।  


Leave a Reply

Your email address will not be published.