‘विश्वकै पहिलो’ खोप अनुमोदन भएको पुटिनको दाबी, छाेरीमा परीक्षण

‘विश्वकै पहिलो’ खोप अनुमोदन भएको पुटिनको दाबी, छाेरीमा परीक्षण

सुरक्षा र प्रभावकारिताबारे निरन्तर चिन्ता र अनुत्तरित प्रश्नबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विश्वकै पहिलो’ कोरोना भाइरसविरुद्ध खोपलाई मंगलबार स्वीकृति दिएको दाबी गरेका छन्।

‘आज बिहान संसारमै पहिलो पटक कोरोना भाइरसविरुद्ध खोप दर्ता गरिएको छ,’ पुटिनले रुसी सरकारी टिभीमा भने। ‘यसले एकदम प्रभावकारी रूपमा काम गर्नेछ भन्नेमा म विश्वस्त छु। यो कोरोना भाइरसविरुद्ध प्रतिरक्षाका लागि पूर्ण हुनेछ।’

‘मलाई आशा छ हाम्रा विदेशी सहयोगीका प्रयासहरू पनि अगाडि बढ्ने छन् र अन्तर्राष्ट्रिय बजारमा भाइरसविरुद्ध प्रयोग गर्न सकिने धेरै उत्पादन देखा पर्नेछन्।’

मस्कोस्थित गामालेया इन्स्टिच्युटद्वारा विकसित गरिएको सो खोपलाई स्पुटनिक-५ नामकरण गरिएको छ। उक्त नाम सोभियत संघद्वारा सन् १९५७ मा प्रक्षेपण गरिएको विश्वको पहिलो उपग्रहबाट लिइएको हो।

उपचार अझै महत्त्वपूर्ण तेस्रो चरणको परीक्षणमा प्रवेश गर्न बाँकी छ, जहाँ उक्त खोप हजारौं व्यक्तिलाई लगाइने छ।

उनकी एक छोरीलाई पनि उक्त खोप लगाइएको भन्दै पुटिनले थपे, प्रत्येक खोपपछि उनलाई हल्का ज्वरो आयो, ‘तर अहिले उनी सहज महसुस गर्दैछिन्।’

कोभिड–१९ विरुद्ध प्रभावकारी खोप बनाउन विश्वव्यापी दबाबबीच पुटिनको दाबीले रूस यस रोगको सफल उपचारको विकास नजिक पुगेको इंगित गरेको छ।


Leave a Reply

Your email address will not be published.