‘टिम ६१’ भन्छ, ‘नेकपा फुट्न दिन्नौँ’

‘टिम ६१’ भन्छ, ‘नेकपा फुट्न दिन्नौँ’

पार्टी एकीकरणको प्रक्रिया पूरा नहुँदै गुट उपगुटका विवादले सत्ताधारी दल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)भित्रको तिक्तता झन चुलिँदो छ। 

कतिले पार्टीको विधि र प्रक्रिया मिच्दै प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीले मनलागी गरेको आरोप लगाउँदै आएका छन्। 

कतिपय नेताहरू अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल र झलनाथ खनाल मिलेर गुटबन्दी गरेको आरोप लगाउँछन्। 

चार महिनाअघिबाट सुरु नेकपाभित्रको तिक्तता अन्ततः साउनसम्म आइपुग्दा सडकमा पुग्यो। पार्टीका मुख्य नेतृत्व नै सभा सम्मेलनमा जाँदा एकअर्काको खेदो खन्न तल्लीन देखिए। 

लामो प्रयासबाट कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्ने भन्दै एकता गरिएको पार्टी एकता प्रक्रिया पूरा नहुँदै फुटको संघारमा पुगेपछि नेकपा कार्यकर्ता तहमा चिन्ता बढेको थियो। 

राजीनामा मागिने त्रासका कारण प्रधानमन्त्रीले स्थायी कमिटी बैठक नै नबोलाउने र बोलाइएको समयमा पनि अकस्मात स्थगन गर्नाले नेकपाभित्रको विवाद झन् उत्कर्षमा पुग्यो। 

सत्तारुढभित्रको नेतृत्वभित्रको बोली बाराबारको स्थितिले सरकारका नीति तथा कार्यक्रम प्राथमिकता पनि प्रभावित भएको प्रस्टै देख्न सकिन्छ। 

दुईतिहाइ बहुमतको सरकार त्यसैमाथि ५ वर्षसम्म कार्यकाल रहे पनि पहिलो तीन वर्षमा राम्रो काम गर्न नसकेको आलोचना जनतामाझ पनि बढ्दो छ। 

यस्तो स्थितिमा पार्टीलाई एकताबद्ध भएर सरकार सञ्चालनमा प्रभावकारिता निभाउनुपर्ने बेला मुख्य नेतृत्व नै गुट उपगुटमा लागेर पार्टी सिध्याउन लागेको निष्कर्ष निकाल्दै नेकपाभित्रैका सांसदहरू एकताका पक्षमा अगाडि आए। 

आइतबार नेकपाका ६१ जना सांसदले पार्टीको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन नै गरेर पार्टी एकताको पक्षबाहेक अन्य कसैको गुट उपगुटको स्वार्थका पछि आफूहरू नलाग्ने भन्दै मुख्य नेतृत्वको ध्यानाकर्षण गराए। 

पार्टी फुटे देश, जनता र समग्र कम्युनिष्ट आन्दोलन नै सकिने उनीहरूको निष्कर्ष थियो। 

उनीहरूले मुख्य नेतृत्वले एकतालाई भत्काउने काम गरे कुनै पनि हालतमा त्यस्तो काममा आफूहरूको सहयोग नहुने घोषणा नै गरे।
बुधबार ध्यानाकर्षण पत्र बुझाएको तीनदिन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि त्यसको कुनै प्रतिक्रिया आएको छैन। 

यता प्रचण्ड–माधवकुमार नेपाल पक्षबाट पनि कुनै आधिकारिक धारणा आएको छैन। 

ध्यानाकर्षणले पार्टी फुटको संघारमा जानबाट जोगिने ६१ सांसदको विश्वास छ। तीन दिनदेखि नेकपा नेताबीच पनि कुनै आरोप प्रत्यारोपका अभिव्यक्ति आएका छैनन्। 

‘दैनिक एकअर्काबीच आरोप प्रत्यारोपमा उत्रिने नेताहरू हामीले ध्यानाकर्षण बुझाएपछि मौन हुनुहुन्छ। यसको मतलब पक्कै पनि त्यो पत्रको सकारात्मक प्रभाव पर्‌यो भन्ने हाम्रो विश्वास छ,’ ६१ सांसदभित्रका कृष्णप्रसाद दाहालले भने, ‘नेता कार्यकर्ता कोही पनि विभाजनमा छैनन् भन्ने त्यही पत्रबाट स्पष्ट हुन्छ, उहाँहरूले पनि यो मनन गर्नु नै हुनेछ। मिल्नुको विकल्प छैन। यही पत्रले नै काम गर्छ भन्नेमा हामी विश्वस्त छौं।’

उनले अहिले नै नेतृत्वकै विकल्प सोच्नुपर्ने अवस्थामा पुगिहाल्नुपर्ने बताए। ‘केही माननीयज्यूहरूको त उहाँहरू एकताको पक्षबाहिर गए, नेतृत्व नै दोस्रो पुस्तामा हस्तान्तरणका लागि उत्रिने कुरा पनि गर्दै हुनुहुन्छ, तर मलाई अहिले त्यतिसम्म गइहाल्नुपर्ने अवस्था आउला जस्तो लाग्दैन,’ उनले थपे, ‘यही पत्रले नै काम गर्छ। उहाँहरूले पनि हजारौं कार्यकर्ता र लाखौं जनताको कुन निर्णयबाट भलाइ हुन्छ भन्ने सोच्नुहुन्छ नै।’

मिल्नुको विकल्प नभएकाले जति आरोप प्रत्यारोपमै उत्रिए पनि पार्टी कुनै एक व्यक्तिको स्वार्थमा लागेर फुटको संघारमा नजाओस् भन्ने विश्वास व्यक्त गरे। 

तिनै ६१ सांसदमध्येकी केन्द्रीय कमिटी सदस्यसमेत रहेकी सांसद रामकुमारी झाँक्री पनि आइतबारकै ध्यानाकर्षण पत्रले काम गर्ने बताउँछिन्। 

‘अहिले जवाफ आएन भनेर आत्तिनुपर्ने अवस्था पनि छैन, अझै समय छ। अहिले कोरोनाको संक्रमण उच्च भएकाले भेटघाट गर्ने अवस्था पनि छैन,’ झाँक्रीले आयोमेलसँग कुरा गर्दै भनिन्, ‘तल्लो तहसम्मका नेता कार्यकर्ता पनि एकताकै पक्षमा रहेकाले उहाँहरूले पनि फुटतर्फ लैजाने चेस्टा गर्नुहुन्न। उहाँहरूले छलफलबाटै समस्याको समाधान निकाल्नुहुन्छ भन्ने विश्वास छ।’

यद्यपि यो ध्यानाकर्षणले पनि काम नगरेको अवस्थामा भने एकता जोगाउन अर्को कुनै दबाबको कार्यक्रम ल्याउन भने तयार नै रहेको उनको भनाइ छ। 

यता सांसद गोमा देवकोटा महाधिवेशनसम्म पनि विवाद समाधान गर्न नसकेको खण्डमा दोस्रो तहका नेतालाई नै नेतृत्व दिनुपर्ने अवस्था पनि आउने बताउँछिन्। 

‘अब महाधिवेशनसम्म मिल्नुहोस् र महाधिवेशनपछि पनि प्रधानमन्त्री केपी ओली नै र अध्यक्ष प्रचण्ड नै हुने कुरामा हाम्रो पनि सहमति हो। तर आरोप प्रत्यारोपको शृंखला महाधिवेशनसम्म रोक्न भनेका छौं,’ उनले भनिन्, ‘सबै तहका नेताहरू एकताका पक्षमा रहेका बेला मुख्य नेतृत्व नै फुटको बाटो रोज्छ भने सबैको दबाबबाट नेतृत्व दोस्रो तहका नेतामा हस्तान्तरणको अवस्था पनि आउन सक्छ।’ 

तर, अरू सांसद र नेताहरू पनि एकताकै पक्षमा रहेकाले ध्यानाकर्षणबाट मुख्य नेतृत्वले आफ्नो जिम्मेवारीबोध गर्नेमा सांसद देवकोटा पनि विश्वास व्यक्त गर्छिन्। 


Leave a Reply

Your email address will not be published.