एक चिकित्सकसहित मेचीनगरका चारजनामा कोरोना

एक चिकित्सकसहित मेचीनगरका चारजनामा कोरोना

झापाको मेचीनगर नगरपालिकामा एक चिकित्सकसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। मेचीनगरमा समुदायस्तरमा कोरोना पुष्टि भएको हो।

मेचीनगर १० स्थित आम्दा अस्पतालका २९ वर्षीय  एकजना चिकित्सकमा आज कोरोना पुष्टि भएको हो।

त्यस्तै यसअघि संक्रमण देखिएका मेचीनगर- १० का १५ वर्षीय युवाका परिवारका सदस्य २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको मेचीनगर नगरपालिकाले जनाएको छ। परिवारका सदस्य दुई मध्ये एकजना  २५ वर्षीया  महिला र अर्का १३ वर्षीय बालक रहेका छन्।

समुदायस्तरमा गरिएको पिसिआर परीक्षणको आज  नतिजा आएको हो। नतिजा अनुसार मेचीनगर ७ का २८ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

उनी फुटबल खेलाडी रहेको बुझिएको छ। कोरोना संक्रमण पुष्टी भएका सबै जनाको गत साउन २४ गते शनिबार धुलाबारी माविमा स्वाब संकलन गरिएको थियो।

बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणको नतिजा अनुसार आज संक्रमण देखिएका चारजना नै समुदायस्तरका व्यक्ति हुन्। आजका चार जनासहित मेचीनगरमा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ।

समुदायस्तरमा चिकित्सक सहित एकै पटक चारजनामा कोरोना संक्रमण देखिएपछि आगामी रणनीति बनाउन अहिले  मेचीनगर नगरपालिमा आकस्मिक बैठक बसिरहेको छ।


Leave a Reply

Your email address will not be published.