‘अनलाइन ग्याम्बलिङ’ गराउने पवनकुमार पक्राउ
क्रिकेट, फुटबललगायतका विभिन्न खेलमा पैसाको सट्टेबाजी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने भारत राजस्थानका ५० वर्षीय पवनकुमार डालमियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनले विद्युतीय उपकरणका साधनहरू मोबाइल र ल्यापटप प्रयोग गरी अवैध रूपमा सट्टेबाजी गराउँदै आएकाे प्रहरीले जनाएकाे छ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पवनलाई अनलाइन ग्याम्बलिङ गराउँदै गरेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो।
उनको साथबाट १ थान ल्यापटप, ५ थान मोबाइल, १ लाख ४ हजार नेपाली रुपैयाँ, १९ हजार ३ सय भारतीय रुपैयाँ, ४ हजार २ सय ४० अफगानी मुद्रा, २ सय अमेरिकी डलर, विभिन्न डायरी तथा भौचर र १ थान क्यालकुलेटर समेत प्रहरीले बरामद गरेको छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।