कोरोनाबाहेकका रोग पनि त लाग्छन्, तर जाने कहाँ? 

कोरोनाबाहेकका रोग पनि त लाग्छन्, तर जाने कहाँ? 

पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले ट्वीटरमा लेखे- म आफ्नो पिताको गैर संक्रमणसम्बन्धी उपचारका लागि विराटनगरमा भौतारिइरहेको छु। एक सामान्य व्यक्तिले भोग्नुपरेको अकल्पनीय पीडाले यतिमात्र भनिरहेको छ। राज्यबाट वा निजी क्षेत्रबाट प्रदत्त सबै स्वास्थ्य सेवा क्षतविक्षत भैसकेको अनुमानका बावजुद ५ महिनामा हामीले के ग-यौ?

सबैले देखे भोगेकै कुरा हो, चार महिना ‘लकडाउन’बाहेक अरु केही गरेनौं।

कोरोना संक्रमण बढ्दै जाँदा आमनागरिक उपचारका लागि यसरी भौतारिनु मात्रै परेको छैन। कतिले त ज्यानै गुमाउनुपरेको छ। 

झाडापखालाले थला परेका १३ वर्षे बालकलाई वीरगन्जको नेसनल मेडिकल कलेजले कोरोनाकै रिपोर्ट माग्दै रातभरि कोठामा थन्क्याउँदा उनको ज्यानै गयो। 

वीरगन्ज त अहिलेको हटस्पट नै हो, जहाँ संक्रमितसँगै संक्रमणै नभएका बिरामी पनि उपचार नपाएर मर्नु परिरहेको छ।

यहाँ हरेक दिनजसो कोरोनाबाहेकका बिरामीको अस्पताल चहार्दा चहार्दै मृत्यु भइरहेको छ।

भक्तपुरकी गायत्री रन्जितकारको लकडाउनका बेला चिप्लेर हात भाँचियो। त्यतिबेला अस्पताल र जनस्वास्थ्य चौकीहरू पनि खुलेको थिएन। निजीका चिकित्सकलाई घरमै बोलाएर प्लास्टर गरिन् ।

पछि स्वास्थ्य संस्थाहरू खुल्यो । तर १२ बजे दिने टिकट लिन बिहान ७ बजेदेखि लाइन बस्नुपर्ने अवस्था आयो। 

हातमा प्लास्टर निकाल्न भक्तपुरको जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमा बिहान ७ बजेदेखि उनी लाइनमा बसिन्। प्लास्टर निकाल्नकै लागि दिन बिताइन्। 

‘हामी पनि रहरले आएको होइन नि अस्पताल,’ उनले गुनासो गरिन्, ‘कोरोनाका साथै अरू पनि बिरामीलाई सजिलो र सुलभ तरिकाले सेवा दिनुपर्ने होइन?’

कोरोनाका कारण गायत्रीले जस्तै सरु लेवाले समयमै उपचार नपाउँदा ६ महिनाको गर्भ खेर गएको छ। उपचारार्थ धुलिखेल अस्पतालमा पु-याइएकी उनलाई आइसियूको बेड खाली नभएकै कारण पाटन अस्पतालमा रेफर गरिएको थियो। त्यहाँ पुग्दा धेरै ढिलो भइसकेको थियो । त्यसमाथि तुरुन्त उपचार नगरी पहिला कोरोना टेस्टका लागि आइसोलेसनमा राखियो। ‘रिपोर्ट नआउँदासम्म उपचार नै भएन। दुई दिन त मलाई कसैसँग नि भेट्न दिइएन,’ उनले आफूले भोगेको पीडा सुनाइन्। 

पछि उनले उच्च रक्तचापका कारण गर्भ गुमाउनुपरेको थाहा पाइन्। ‘क्युरेट’ गरिसकेपछि पनि नर्सहरू हेर्न नआएको उनकी दिदीले सुनाइन् । ‘अरू बिरामी मर्न लाग्दा पनि कोरोनाको डरले हेरविचार नै नगर्ने रहेछ,’ आखाँभरि आँसु पार्दै उनले भनिन्।

कोरोना  संक्रमितबाहेक अरू रोगका बिरामीलाई कम प्राथमिकता दिएको भन्ने भनाइमा स्वास्थ्य सेवा विभागका शाखा प्रमुख बद्री ज्ञवाली पनि सहमत रहे। 

कोरोना महामारीले गर्दा अरू रोगका बिरामीको स्वास्थ्योपचारमा कमी आएको उनले स्विकारे । ‘यसलाई हामी नकार्न सक्दैनौं, उपत्यकाबाहिर र भित्रको अवस्था त्यस्तै छ। अब कुन–कुन रोगका बिरामीको सेवामा कमी आयो भन्ने विषयमा तथ्यांक भने निकालिसकेका छैनौं,’ उनले भने। 

कोरोनाकै कारणले अरू स्वास्थ्य सेवामा एकदमै असर परेको स्वास्थ्य सेवा विभागका तथ्यांक अधिकृत वीरबहादुर रावतको भनाइ छ ।

उनका अनुसार २०७६ साउनदेखि २०७७ असारसम्म सबैभन्दा धेरै २६ लाख श्वासप्रश्वासका बिरामी थिए । त्यही अवधिमा सबैभन्दा कम जुकाका बिरामी थिए। 

कोरोना महामारीभन्दा अगाडिका टपटेनमा पर्ने रोगमा श्वासप्रश्वासका २६ लाख, ग्यास्टिकका १५ लाख, टाउको दुख्ने, ज्वरो आउनेका १३ लाख, छाला रोगका १२ लाख, विभिन्न फ्याक्चरका १० लाख, मुटुका ७ लाख, दुखाइका ६ लाख, झाडापखालाका ६ लाख, नाक–कान–घाँटीका ५ लाख, जुकाका ५ लाख बिरामी थिए । 

माघदेखि असारसम्म इसिजी खोप लगाउने २ लाख १३ हजार ५ सय २० थियो। गतवर्ष यसै अवधिमा इसिजी खोप लगाउनेको संख्या २ लाख ६७ हजार ८ सय ६८ रहेको छ। ५४ हजार ३ सय ४८ जना कम भएको तथ्यांकले देखाउँछ। 

माघदेखि असारसम्म गर्भजाँच गर्नेको संख्या गतवर्ष ६० हजार ४ सय ८ जना थिए भने यो वर्ष ५० हजार ३ सय १९ जनामात्र छन्।

यसपालि वैशाखमा ईसिजी खोप ३३ हजारले लगाएका थिए भने गतवर्ष ४२ हजार २ सय ६३ थिए। 

यो तथ्यांकअनुसार कोरोनाले गर्दा अरू बिरामीको उपचारमा असर परेको छर्लङ हुन्छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले अप्रेशन गर्नुपर्ने बिरामीका लागि मात्र पिसिआर जाँच जरुरी भएको बताए। 

आइसियूमा अपे्रशन गर्ने बेलामा बिरामीमा कोरोना भाइरस जाँच नगरी उपचार गर्दा अस्पताल नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने कार्कीको दाबी छ। ‘पिसिआर जाँच नगरी उपचार गर्दा बिरामी कोरोना भाइरस संक्रमित भएको खण्डमा अस्पतालका सबै डाक्टर र नर्सलाई संक्रमण हुनसक्छ,’ उनले भने। 

धेरै कोरोना पोजेटिभ चिकित्सक, स्वास्थ्यकर्मी र नर्सहरू कोरोना पोजेटिभ बिरामी हेरेका कारण संक्रमित भएको उनले बताए।

अत्यावश्यक नभएसम्म अस्पताल नजान उनको आग्रह छ। ‘कुनै सानो रोग लिएर उपचारमा आएर कोराना संक्रमित हुनुभन्दा त्यसको सामान्य उपचार घरमै गरे राम्रो हुन्छ,’ उनले भने। 

अध्यक्ष कार्की भन्छन्, ‘पेशाका कारण म पनि अस्पताल जानुपरेको हो । बाध्यता छ । नभए म आफैंलाई पनि अस्पताल जान मन छैन।’ उनले सबै रोगको उपचार भइरहेको भने बताए। ‘हामीले कुनै पनि उपचारमा कम्प्रमाइज गरेका छैनौं,’ उनले भने, ‘सबै रोगका बिरामीको उपचार भइरहेको छ, नभएको भए अहिलेसम्म कति बिरामी मरिसक्थे होला।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी भने कोरोनासँगै अरू रोगका बिरामीलाई पनि सेवा दिँदै आएको दाबी गर्छन्। 

‘जुनसुकै रोगमा पनि कोरोना देखिएको हुनाले यसलाई पहिलो प्राथमिकता दिएको मात्र हो,’ उनले भने, ‘कोरोनाले गर्दा अरू बिरामीले सेवा पाउन अलि कठिनाइ भएको भने हुनसक्छ।’ 

अन्य रोगका बिरामीले ढिलासुस्ती उपचार पाएको कुरामा सहमत हुँदै सहप्रवक्ता अधिकारीले भने, ‘यसलाई अझ सहज तरिकाले सेवासुविधा दिने र व्यवस्थापन गर्ने काममा लागिपरेका छौं।’

अरू रोगलाई अलि कठिनाइ भयो भनेर कोरोनालाई हेलचेक्र्याइँ गर्न नहुने उनको सुझाव छ। उनले भने, ‘सबै क्षेत्र जनसमुदायको हितमा नै लागिपरेका छौं।’


Leave a Reply

Your email address will not be published.