चुलिँदो चीन-अमेरिका असमझदारी

चुलिँदो चीन-अमेरिका असमझदारी

दुई ठूला शक्तिसम्पन्न राष्ट्र चीन र अमेरिकाबीच बढ्दो विवादले एकपछि अर्को असमझदारी चुलिँदै गएको छ। विश्वकै ठूलो अर्थतन्त्र बनेको अमेरिका र दोस्रो चीनबीचको आर्थिक मतभेद बढ्दै गएका बेला अमेरिकाले टेक्सासको ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्ने निर्णयपछि दुई देशमा कुटनीतिक विवाद चरमचुलीमा पुगेको हो। 

अमेरिकाले आफ्नो महावाणिज्य दूतावास बन्द गरेको निर्णय फिर्ता लिन चीनले अनुरोध गरेकै थियो। तर, अमेरिकाले चीनको अनुरोध सुनुवाइ नगरेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले कदम नसच्च्याए जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने धम्कीपूर्ण सन्देश पठाएका थिए। 

अमेरिकास्थित आफ्नो वाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको हप्ता दिनपछि जवाफमा चीनको छेन्दुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेपछि दुई देशबीच कुटनीतिमा थप जटिल र कुटिल द्वन्द्व सिर्जना भएको छ । अमेरिकाले ७२ घन्टाभित्र चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न दिएको निर्देशनअनुसार चीनले पनि जवाफी कारबाही भन्दै छेन्दुस्थित महावाणिज्य दूतावास बन्द गर्ने समयसीमा पनि ७२ घन्टा नैं दिएको थियो। 

अमेरिकाले चीनको महावाणिज्य दूतावास बन्द गराएपछि चीनले प्रतिउत्तरमा छेन्दुस्थित महावाणिज्य दूतावास बन्द गर्न दबाब बढेको हो। 

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनले बौद्विक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै महावाणिज्य दूतावास बन्द गर्ने निर्णय लिएको बताएका थिए। तर, अमेरिकाले भने चीनले कुन, कस्तो र के चोरी गरेको हो भन्ने प्रष्ट जानकारी भने दिन सकेको छैन। अहिले दुवै देशबीच आरोप–प्रत्यारोपमा कूटनीतिक वाकयुद्धमात्र चलिरहेको छ।  

चीनले पनि छेन्दुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न कुनै कारण त भनेन । तर, छेन्दुबाट तिब्बत नजिकै भएका कारण यो दूतावासले रणनीतिक महत्व हुनसक्ने भन्दै छेन्दुलाई रोजेको हो । किनकि, अमेरिकाको छेन्दुस्थित महावाणिज्य दूतावासमार्फत चीनको तिब्बत गतिविधिमा बढी चासो रोखेको चिनियाँ पक्षको आरोप छ । त्यसो त चीनमा अमेरिकाको छेन्दुसहित चार महावाणिज्य दूतावास र बेइजिङमा दूतावास छ। हङकङमा पनि अमेरिकाको महावाणिज्य दूतावास छ। चीनका कूटनीतिक मामिलाका जानकारका अनुसार छेन्दु र हङकङ महावाणिज्य दूतावासमार्फत चीन र चिनियाँ जनताविरुद्ध अमेरिकाले चीन विरोध गतिविधि चलाएको आरोप छ। 

छेन्दुस्थित महावाणिज्य दूतावास बन्दको घोषणपछि हजारौं चिनियाँ दूतावास अगाडि चिनियाँ झण्डा लिएर उपस्थित भएको तस्बिर चीनको एकमात्र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिजिटिएनले प्रशारण गरेको थियो। छेन्दुको महावाणिज्य दूतावास सन् १९८५ मा स्थापना भएको थियो। पछिल्लो समय चीन र अमेरिकामा बसोबास गर्ने व्यक्तिहरूको सहयोगमा अमेरिकाले तिब्बतमा चीन विरोधी अभियान चलाएकोमा चिनियाँले चिन्ता जनाएका थिए। 

चीन–अमेरिकाबीच आर्थिक द्वन्द्व सुरु भएयता अमेरिकी ट्रम्प प्रशासनले चीनलाई तानाशाह, बौद्धिक सम्पत्ति चोर, उत्पीडन गर्ने देश र कोभिड–१९ लाई चिनियाँ भाइरस भन्ने गम्भीर आरोप लगाएको छ । तर, त्यो आरोपको तथ्य दिन सकेको छैन।  

विवादबीच अमेरिकाले चिनियाँ कम्पनी सिजियाङ प्रोडक्टस् एन्ड कन्स्ट्रक्सनका उत्पादन र त्यहाँ कार्यरत चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाएको छ। उक्त कम्पनीका दुई प्रमुख अधिकारीलाई प्रतिबन्ध लगाउँदै अमेरिका प्रवेशमा रोक लगाएको छ । उक्त कम्पनीको सम्पत्तिसमेत हरण हुनेछ।  

अमेरिकाले चीनको मुस्लिम समुदाय रहेको सिङज्याङ प्रान्तमा रहेको इङ्गुर मुसलमान समुदायमाथि उत्पीडनको आरोप र मानवअधिकार उल्लंघनमा सहभागी भएको आरोप लगाएको छ। गत जुलाईमा अमेरिकाले सिङजियाङ कम्युनिस्ट पार्टीका सचिव सहित तीन नेतामाथि प्रतिबन्ध लगाएको घोषणाले दुई देशबीचको सम्बन्धमा अन्तर्राष्ट्रिय चर्चा थप चुलिँदो छ। 

अमेरिकी सरकारले चीन कुनै पनि तरिकाले दुनियाँमा शक्तिशाली (सुपरपावर) बन्न चाहन्छ भन्दै अमेरिकाले चीनविरुद्वको लडाइँ स्वतन्त्रता र उत्पीडनबीचको संघर्ष भनेको छ। तर, चीनस्थित विदेश मन्त्रालयका प्रवक्ताले भने ‘अमेरिकाले लगाएको सम्पूर्ण आरोप चीन विरोधी र अमेरिकी अधिकारीको झुठको खेती मात्र भएका हो’ भनेका छन्। अमेरिकाले चीन मानवअधिकार र स्वतन्त्रता नभएको भन्ने आरोप लगाउँदै आएको छ। चीनले चाहिँ आफ्ना नागरिकलाई देशको मूलकानुनको अधिकार क्षेत्रभित्र रहेर मावअधिकार प्रत्याभूतिमा कहीँ कतै कमी नभएको दाबी गरेको छ। 

चीनले अमेरिकी सरकारसँग चीन विरोधी गतिविधि रोक्न र अनुचित फैसला तुरुन्त रद्ध गर्न गरेको आग्रहको सुनुवाइ नभएपछि दुई देशले एकपछि अर्को जवाफी कदम उठाउँदै आएका छन्। अमेरिकाले चीनलाई बौद्धिक चोरीको आरोप लगाए पनि पछिल्लो कदमलाई कूटनीतिक सम्बन्धमा हानी पु-याउने दोषारोपण गरेको छ। चिनियाँ अधिकारीको विचारमा अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरोधी गतिविधि गरी अर्कोपटक पनि राष्ट्रपतिय चुनाव जित्ने चालबाजीमात्र भएको बताएका छन्। अमेरिकारले चीनका दुई समाजिक सञ्जाल टिकटक र विच्याटलाई समेत अमेरिकामा प्रतिबन्ध लगाउने घोषण गरिसकेको छ। 

पछिल्लो समय चीनले अर्धस्वायत्त हङकङका सन्दर्भमा पारित गरेको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले चीन र चिनियाँ सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्न सुरु गरेको हो। चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई कडा सन्देश दिँदै अन्तर्राष्ट्रिय कानुनसमेत गम्भीर उल्लंघन हुने गरी अमेरिकाले चालेको कदमको विरोध जनाउँदै लज्जाजनक एवं अन्यायपूर्ण कदमको कडा शब्दमा निन्दा गर्दछौं भनेको छ। 

चिनियाँ कूटनीतिक शैली कम बोल्ने तर प्रत्युत्तर दिन पछि नहट्ने खालको छ। चीनले अमेरिका सम्बन्धमा पहिले यस्ता मतभेद हुँदै आए पनि अहिलेको जस्तो कूटनीतिक मतभेद भएको यो पहिलोपटक हो।

दुई महाशक्ति राष्ट्रबीचको कटुतापूर्ण बयानबाजी सुरु भएपछि राजनीतिमा दुई देशबीच हुने तनावबाट विश्वअर्थतन्त्रमा थप गम्भीर समस्या उत्पन्न हुने अर्थशास्त्रीहरूको आँकलन छ। 

कोभिड–१९ समस्याबीच शक्तिसम्पन्न राष्ट्रबीचको वाकयुद्ध र कूटनीतिक तनावले थप जटिलतातर्फ धकेल्न सक्ने छ। त्यसो त अमेरिकी जनगणना ब्युरोको २०१९ को एक प्रतिवेदनअनुसार अमेरिकामा चिनियाँ मूलका ४० लाखभन्दा धेरै मानिस बसोबास गर्दछन्। अहिले चीन र अमेरिकाबीच द्वन्द्व सुरु भएपछि उनीहरू अमेरिकामा बस्ने कि चीन फर्कर्ने अन्योलमा छन्। 

चीन–अमेरिका कूटनीतिक यात्रा 

अमेरिकाको ‘अफिस अफ द हिस्टोरियन’ का अनुसार सन् १७८४ मा ‘एम्प्रेस अफ चाइना’ नामक पानीजहाज अमेरिकाबाट चीनको ग्वान्जाओ प्रान्त पुगेको थियो। त्यसपछि अमेरिका र चीनबीच व्यापारिक सम्बन्धको सुरुवात भएको मानिन्छ। त्यसबेला चीन र अमेरिकाबीच चियापत्ती, चिनी, माटो र रेशम प्रमुख उत्पादनबाट व्यापार सुरु भएको थियो। 

१८३० मा पहिलोपटक केही अमेरिकी पादरी ईसाइ धर्म प्रचार गर्न चीन पुगेका थिए। तिनले चीनको इतिहास, भाषा र संस्कृति अध्ययन गरे र अमेरिकाको इतिहासलाई चिनियाँ भाषामा लेखेको इतिहास भेटिन्छ।  

१८५० देखि १९०५ अवधिमा चीन–अमेरिका सम्बन्धमा धेरै उतारचढाव सुरु भएका थिए। दुवै देशबीच व्यापारिक सन्धि भए र विवाद बढ्दै गएपछि सन्धि पनि हट्दै गए। दुवै देशले एकअर्काका नागरिकमाथि प्रतिबन्ध लगाए र दुवै देशका नागरिकले एकअर्काप्रति मौखिक विरोध पनि प्रदर्शन गरे।

१९११–१२ मा चीनमा साम्राज्यवाद पतन भएर गणतन्त्र स्थापना भयो। १९१९ मा अमेरिकी राष्ट्रपति वुड्रो विल्सनको आग्रहमा चीनले पहिलो विश्वयुद्धमा मित्र देशको गठबन्धनलाई साथ दिएको थियो।
 
१९२१ मा बामपन्थी विचारधाराका समर्थक केहीले चीनको व्यापारिक सहर सांघाईमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरे र १९४९ मा पार्टीका नेता माओत्से तुङले बेइजिङमा ‘पिपुल्स रिपब्लिक अफ चाइना’ स्थापना गरे। कम्युनिस्ट पार्टीलाई किसानहरूको समर्थन प्राप्त भएको थियो। उनीहरूले चाङ काइ शेक नेतृत्वको राष्ट्रवादी कुओमिन्ताङ पार्टीको सत्तालाई परास्त गरे।

राजनीतिक लडाइँमा अमेरिका राष्ट्रवादी कुओमिन्ताङ पार्टीको समर्थनमा थियो। अध्यक्ष माओत्से तुङ सत्तामा आएको केही दशकसम्म अमेरिका र चीनबीच सम्बन्ध त्यति प्रगाढ हुन सकेन।

त्यसपछि १९७२ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध विस्तार गर्न पहल गरे। त्यसबेला चीन पुगेका निक्सन त्यहाँ आठ दिन बसेका थिए। कम्युनिस्ट नेता माओत्से तुङसँग भेटघाट र  ‘सांघाई कम्युनिक’ मा हस्ताक्षर गरेपछि चीन–अमेरिका सम्बन्ध सुधारको सबैभन्दा महत्वपूर्ण उपलब्धी मानिएको थियो।   

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जर र राष्ट्रपति रिचार्ड निक्सनले चीनलाई विश्वशक्तिको सन्तुलन बदल्ने एक माध्यमका रूपमा बुझेका थिए। अमेरिकाले चीन र सोभियत संघलाई अलग गर्न सक्यो भने फाइदा हुनेछ भन्ने सम्भावना देख्यो र अमेरिकाले त्यही नै ग-यो।

चीनसँग सम्बन्ध सुधार्ने दिशामा अमेरिकाले सन् ८० को दशकपछि केही कदम उठाएको देखिन्छ। यतिबेलासम्म माओत्से तुङको निधन र देङ सियाओपिङ चीनका नेता बनिसकेका थिए।

देङ सिआयोपिङ चीनको रोकिएको अर्थव्यवस्था माथि उठाउने नेता हुन्। उनले चीनको आधुनिकीकरणको कुरा गरे र अन्तर्राष्ट्रिय बजारका लागि चीनको ढोका खुला गर्नुपर्छ भन्ने राष्ट्रिय नीति लिए। १९८५ सम्म आइपुग्दा जापान र अमेरिकी कम्पनीले चीनमा आफ्नो चासो दिन सुरु गरेका थिए। त्यतिबेला नै चीन समृद्धिको यात्रामा अघि बढिसकेको थियो। अमेरिकी कम्पनीका लागि पनि यो फाइदाजनक थियो। चीनसँग बजार निकै ठूलो थियो र चीनमा कम मूल्यमा र आवश्यकताअनुसार कामदार पाउन सजिलो भएपछि अमेरिका र विश्वका ठूला कम्पनी चीनतर्फ लागेका थिए। 

चीन–अमेरिका सम्बन्धमा भ्रमण आदानप्रदान हुने क्रम त जारी थियो। अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले १९९८ मा चीन भ्रमण गरेका थिए। त्यसपछि दुई देश निकै नजिक हुन पुगेका थिए। दवै देशमा एकअर्काका राजनीतिक प्रतिनिधि आदानप्रदान र व्यापारिक सम्बन्ध मजबुत बनाउने अभियान नै चलाइएका थिए। 

अमेरिकी व्यापारीहरूले चीन एक ठूलो बजार हो भन्ने सोचेर व्यापारमा लगानी विस्तार गरेका थिए। त्यही बेला नै बेलायतले पनि चीनलाई हङकङ हस्तान्तरण गरिदियो तर पश्चिमाहरूले चीन व्यापारिक केन्द्र बन्ने छ भन्ने आँकलन गर्न सकेनन्। पछि उनीहरूले आफ्नो देशमा सबै चिनियाँ उत्पादनले बजार लिन थालेपछि मात्र थाहा पाएको जस्तो गरे।  

अमेरिका चीनको राजनीतिमा कहिल्यै पनि हाबी हुन सकेन। चीनमा बहुदलीय लोकतन्त्रको कुरा होइन विकास र समृद्धिका कुरा भए। जनतालाई सुख, सुविधा र रोजगारी चीनको राष्ट्रिय नीति बन्यो। चिनियाँमा अधिकार होइन कर्तव्य र राष्ट्र विकासमा नागरिकको भूमिकाबारे बहस हुन थालेको थियो। 
  
त्यसो त अमेरिका र पश्चिमी देशका सरकारले चिनियाँ कम्पनीबारे धेरै गुनासो गर्दै आएका छन्। चीनको निजी क्षेत्र वास्तवमा निजी होइन किनकि त्यसमा चिनियाँ सरकार या चिनियाँ कम्युनिस्ट पार्टीको हिस्सा हुन्छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सन्देशमार्फत चीनको अस्तित्व नै चिनियाँ कम्युनिस्ट पार्टी हो भन्दै आएका छन्।  

अहिले पनि चीनमा जनताले हाम्रो सरकार र हामी सरकारको नियम पालना गर्ने नागरिक हौं भन्दै गर्व गर्दछन्। 

चीनका निजी कम्पनीमा कम्युनिस्ट पार्टीको एक कमिटी राखिएको हुन्छ र त्यसले व्यवस्थापनसँग मिलेर सक्रिय भूमिका खेल्छ। पार्टीको उपस्थित पूरै देशमा छ। त्यसैले विकासमा अनियमितता हुन पाएको छैन। यदि कतै गलत काम भएको छ भने प्रष्ट दण्ड र जरिवाना उल्लेख छ। वास्तमा चीनको यस्तो खालको विकास नीति अमेरिकालाई मन नपरेको पनि हुनसक्छ।  

चीनका लागि कम्युनिस्ट पार्टी जीवित राख्नु सबैभन्दा महत्वपूर्ण लक्ष्य हो। अमेरिकाले बारम्बार चीनलाई बौद्धिक सम्पत्ति चोरी, अल्पसंख्यक मुसलमान समुदायको उत्पीडन, कोरोना महामारी, दक्षिण चिनियाँ सागर र हङकङको मुद्दा लिएर चीनविरुद्ध एक वैश्विक मोर्चा खोल्ने अभियान सुरु गरेको छ।

१९९२ मा शीतयुद्ध जितेपछि अमेरिकाले कुनै मुलुकको विकासमा खर्च गरेको छैन, बरु मानिसलाई मार्न पैसा खर्च गरेको चिनियाँ विश्लेषण छ। अफगानिस्तान, इराक, लिबिया, यमन र सिरियामा अमेरिकी उपस्थितिले देखिइसकेको चिनियाँ अन्तर्राष्ट्रिय टेलिभिजन सिजिटिएनमा विश्लेषण हुने गरेको छ।   

अमेरिकाले लडाइँमै ५० खर्ब अमेरिकी डलर खर्च गरिसकेको तथ्यांक छ। तर, अमेरिका चीनसँग लड्न चाहँदैन किनकि चीनसँग धेरै परमाणु अस्त्र छ। डर चीनलाई पनि छ किनकि उसलाई आफ्नो व्यापारको बढी खतरा छ। चीन सम्बन्ध जस्तोसुकै होस् व्यापार बिग्रिनु हुँदैन भन्ने सोचमा छ। त्यसको उदाहरण भनेको केही समयअघि मात्र भारतमा चीन विरोधी टिसर्ट र टोपी छापेर चीनले नै भारत पठाएको थियो। 

चीनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) जस्ता परियोजनामार्फत आफ्ना लागि व्यापार गर्ने वैकल्पिक बाटो तयार गर्दैछ। अमेरिकाले जतिसुकै आरोप-प्रत्यारोप लगाए पनि व्यापारमा कुनै फरक नपार्ने नीति लिएर बिआरआई सदस्य राष्ट्रहरूसँग व्यापार बढाउने काम गर्दैछ। 

अमेरिकाले चीनसँग व्यापारिक र कूटनीतिक द्वन्द्व सुरु गरी चीनको अर्थव्यवस्था र चीनलाई विश्वका शक्तिबाट एक्ल्याउने प्रयास गर्न खोजेको चीनलाई स्पष्ट थाहा छ। विगतदेखि अमेरिका-चीनको व्यापार र कूटनीतिक अभ्यास पनि प्रतिस्पर्धामा चलेको देखिन्छ। 

२०३० सम्म चीनले अमेरिकाको अर्थव्यवस्थाभन्दा माथि पुग्ने लक्ष्य लिएर अघि बढेको छ। जनताको साथ र सहयोग लिएर अघि बढिरहेको चीनलाई विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकाले यात्रामा छेकबार गर्छ भन्ने जानकारी पाएर चीन विकास र समृद्धि यात्रामा कुदिरहेको छ। 

अमेरिकाले लगाएको आरोपको खण्डन, प्रतिवाद र आवश्यक परे अमेरिकाले चाल्ने कदमको उत्तर दिन चीन तयार देखिन्छ।


Leave a Reply

Your email address will not be published.