झापा सदरमुकाममा मास्क बाँड्दै युवा
झापा सदरमुकाम भद्रपुरका युवाले नि:शुल्क मास्क वितरण कार्यलाई निरन्तरता दिएका छन्। कोरोना संक्रमणको जोखिमबाट बच्न र रोकथामको पूर्वतयारीका लागि युवाले मास्क वितरण तीव्र बनाएका हुन्।
उनीहरूले आज मात्रै ५ सय मास्क वितरण गरेका छन्। भद्रपुर १० र ७ का युवाले चन्द्रगढीको लेखनाथचोक भएर हिँड्ने यात्रुलाई मास्क वितरण गर्दै आएका छन्। प्रहरीसँगको समन्वयमा मास्क वितरण गरिएको भद्रपुर १० का राजन न्यौपानेले बताए।
मास्क अनिवार्य प्रयोग गर्ने बानी बसाल्न सो कार्य गरिएको उनको भनाइ छ। हालसम्म १ हजार मास्क वितरण गरिएको उनले बताए।
मास्क वितरण कार्यमा रमेश भट्टराई, अमित भट्टराई, प्रकाश अधिकारी, दिपेश न्यौपानेलगायत युवा खटिएका छन्।
सदरमुकाममा मानिसको बढी चाप हुने भएकाले र धेरै मानिस मास्कबिनै हिँड्ने गरेको देखेपछि आफूहरूले मास्क वितरणलाई अभियानका रुपमा सञ्चालन गरेको प्रकाशले बताए।