यसैगरी बिताइदिए ‘बलराम दाइ’ ले जिन्दगी…

यसैगरी बिताइदिए ‘बलराम दाइ’ ले जिन्दगी…

जिन्दगीप्रतिको अथाह उत्साह लिएर बलराम दाइ आउनुभएको थियो मसँग कफी गफका लागि। त्यो उत्साहको पुर्जा थियो, एकपत्ते नक्सा। 

मुलपानीस्थित चार आना जग्गामा एउटा सानो घर बनाउने योजनालाई मूर्तरूप दिँदै हुनुहुन्थ्यो उहाँ। बाटो छेको मोहडा, छरितो परिवारको खाँचो सुहाउँदो कोठा-मझेरीको प्लान।

हार्ड न्युजकै बान्की कोरेजस्तो। सूचना आइसकेपछि कोट, पृष्ठभूमि र तथ्य जोडेर तत्काल समाचारको बान्की कोर्न उहाँतिरै झुम्मिन्थ्यौं हामी। दाइ चाहिँ उस्तै परे सुन्दासुन्दै आफैं लेखेर बनाइदिइहाल्ने।

एकैछिनको एकाग्रतामा उहाँले बनाउने समाचार सिधै पेज लेआउटमा पठाइदिए हुन्थ्यो– पुष्ट र चुस्त। थापागाउँको कफी सपमा घरको स्केच हेर्दा न्युजरुमकै बलराम दाइ खुल्दै थिए। 

‘एकदिन मुलपानी हुँदै अफिस जाउँ है, जग खन्न सुरु गर्छु अब,’ गएको माघतिरको त्यो भेटमा उहाँले भन्नुभएको थियो। 

लकडाउनबीचै फेरि दाइको फोन आयो। फोनमा उहाँलाई म प्रायः भन्ने गर्थें– ‘दाजु, गोडा कता छन् कुन्नि। ढोगेँ है।’ त्यो ठट्टामिश्रित सम्मानमा उहाँ छोटकरी खुतखुत हाँसो निकाल्दै जवाफ दिनुहुन्थ्यो– ‘मेरो खुट्टा आफ्नै ठाउँमा छन्। तिमी चाहिँ कता हो?’ 

त्यो बातचितमा उहाँले फेरि मुलपानी आउन भन्नुभयो। घरको प्रगति भएको रहेछ। खुसी लाग्यो। पक्का छिट्टै आउँछु भनेर वचन दिएँ। तर त्यो वचन पूरा नहुनै लेखेको रहेछ।

तर लकडाउन, कोभिड–१९ को रुमलो र नयाँ परियोजनाको लनतनले निर्माणाधीन घरअगाडि बसेर दाजुको खुशी परख गर्ने मौकाबाट म पूर्णतः विमुख हुनपुगेछु। यो धर्तीमै उहाँ अब जो रहनुभएन। 

कलेजका ती दिनमा कान्तिपुरका अग्रपृष्ठ हाम्रा लागि पाठ्यपुस्तकभन्दा आधिकारिक लाग्थे। प्रायः प्रमुख समाचारहरूमा एउटा नाम छुट्दैनथ्यो– बलराम बानियाँ। 

को हो त्यो मानिस? कसरी यस्ता खरा–खरा समाचार सिपालु सिकर्मीले दराज बनाए झैं लेख्नसक्या होला? कल्ले भन्दो हो त्यस्ता गुह्य सूचना? 

समाचारका हरफहरूमा सीप खोज्ने तिर्खा गढ्दै गएको पत्रकारिता–विद्यार्थीको मनमा एउटा विशाल चित्र बनेको थियो– महाभारतका बलरामजस्तै, सायद ठूलो आङ तेस्र्याएर कडा प्रश्न गर्ने। 

पत्रकारिताको जागिर खाइयो, सात वर्ष बितिसकेको थियो, काम गरेको संस्थामा अस्थिरता छाएको थियो, असामयिक ढंगले ‘करिअर क्राइसिस’ आएजस्तै महसुस भइरहेको थियो। त्यतिबेलै एउटा पोस्टपेड नम्बरबाट कल आयो।

‘म बलराम बानियाँ। आउनोस् गफ गरौं, सँगै काम गरौं,’ न्युरोडतिर घडी बनाउन गएका बखत कोलाहलमै मलाई फोन गर्न भ्याउनुभएको रहेछ। मधुरो स्वर आएको थियो। म उहाँलाई भेट्न धुम्बाराही पुगेँ। 

नारायण वाग्लेको नेतृत्वमा दैनिकी डटकम सुरु हुन लागेको थियो। निर्माणाधीन न्युजरुममा मलाई परिचय गराउँदै डुलाउने एउटा सानो कदको गोरो र गम्भीर मानिस बलराम बानियाँ पाएँ। आफ्नै स्वर्गीय पिताको नाम पनि बलराम। उहाँले बाकै भाइ झैं स्नेह र विश्वासले सिञ्चित गराइदिनुभयो। 

दैनिकी डटकमको समाचार मेसिनरी बलराम दाइले चलाउनुहुन्थ्यो। समाचारको मूलप्रवाह उहाँबाटै चल्थ्यो। हामीलाई लाइन दिने पनि उहाँ नै हुनुहुन्थ्यो। समाचारका अक्कलदेखि प्रमाणीकरणसम्मको प्रक्रियामा उहाँलाई नै खोजिन्थ्यो। अंगे्रजी न्युजरुम (रिपब्लिका) पट्टिका मित्रहरू पनि दाइ भन्दै लाइन लिन आउँथे। समग्रमा समाचारको आधिकारिता उहाँकै वरपर घुम्थ्यो। 

दैनिकी ननिस्किँदै नागरिकमा गाभियो। बलराम दाइले अलिक फरक ढंग तर उत्तिकै तागतमा न्युजरुम हाँक्न थाल्नुभयो, राजनीतिक सम्पादकका रूपमा। सुरुवातको नागरिक दैनिकले समाचारको तिर मार्दा उहाँ अर्जुन र कृष्ण सँगसँगै बन्ने गर्नुहुन्थ्यो। हाम्रो पुस्ताका पत्रकारलाई सघन समाचारका बाइलाइनबाट स्थापित गर्न उहाँको नीतिगत नेतृत्व निर्णायक थियो।

आफैं पनि समाचार पायो कि ठोकिहाल्ने। समाचार कुरेर हाकिमगिरी नगर्ने, आफैं युवा पत्रकारलाई साथ लिएर सिंहदरबारका सूचनाखानाहरूमा पुग्ने। सोफामा बसेर कुरा सुन्दासुन्दै स्कुपहरू बटुलिसक्ने।

लाग्छ, आजका हल्लाबाज पत्रकारहरूले बलराम बानियाँको त्यो रूप देखेको भए हुन्थ्यो। अधिकारीहरू पनि अगाडि बसेका ‘बानियाँजी’ का अगाडि साक्षी बयान बके झैं कुरा ओकल्थे। 

बलराम दाइले मलाई त्यसरी धेरैचोटि सूचनाखानाहरूमा लगेर ‘अन–द–स्पट ट्रेनिङ’ दिनुभएको छ। जसका कारण मजस्ता थुप्रै पत्रकार आज सूचनाकर्ममा आत्मविश्वास राख्ने हैसियतमा पुगेको ठान्छन्। 

मौनतामै कडा निर्णय गर्ने बानी रहेछ उहाँको। अचानक कान्तिपुर फर्कने निर्णय गर्नुभयो। जुन उहाँको पत्रकारीय परिचयसँग अविछिन्न जोडिएको संस्था हो। केही दिनमै उहाँले मलाई ‘काठमाडौं पोस्ट’ मा काम गर्न आउ भन्नुभयो।

म रिपब्लिकामा काम गर्न थालेको एक वर्षजति भएको थियो। म तत्काल जान सकिन। अर्को वर्ष उहाँ र अर्का स्नेही मित्र सुजित महतले कान्तिपुरमा काम गर्ने प्रस्ताव गर्नुभयो। सुरक्षा बिटका लागि मेरो योग्यताबारे उहाँहरूले विशेष जोड गर्नुभएको रहेछ। 

अन्ततः कान्तिपुरमा जोडिनु मेरा लागि बलराम दाइसँगैको अर्को इनिङ थियो। त्यतिबेला उहाँ निष्काम कर्मयोगी झैं हुनुहुन्थ्यो। निरन्तर सूचनाखानाहरूतिरको घुमफिर र किबोर्डमा घोप्टिएर लेख्नेबाहेक हामीसँग बेला–बेला चियानास्तामा रम्ने।

एकदमै जुनियरलाई चाहिँ ढाडसका धाप दिने र जिस्किरहने, वरिष्ठहरूसँग भने आँखा जुधाएर प्रश्न सोधिसकेपछि सुनिरहने। यो काइदाले मेरो बलराम दाइप्रति एउटा निष्कण्टक आकर्षण कायम रह्यो। 

मैले कान्तिपुर छाडेँ, अन्नपूर्ण पोस्ट हुँदै नेपालन्युज डटकमतिर लागेँ। त्यहाँबाट पनि नयाँ (आयोमेल डटकम) मा डोरिएँ। उहाँ चाहिँ निरन्तर हुनुहुन्थ्यो, आफ्नै एकनासे गति नछाडी। बीच–बीचमा उहाँका केही चिन्ताजनक पक्षबारे सुनिरहन्थेँ।

उहाँ मनले जति सफा, सीपले जति अब्बल, शीलले जति सज्जन, करुणाले जति विशाल, पर–मामिलामा जति सचेत भए पनि आफैंप्रति चाहिँ निष्फिक्री हुनुहुन्थ्यो। मानिस जति नै गुण र हैसियतको भए पनि अक्सर एउटा चिजबाट मुक्त हुन सक्दैन– अहं ममः। 

तर, बलराम दाइ अपवाद थिए। आफूलाई कुनै चिजले नोक्सानी गरिरहँदा पनि त्यसलाई रोक्न मतलब नगर्ने। त्यसबारे उहाँलाई धेरै आस्थावान भाइसाथीहरूले सम्झाएका पनि थिए। उहाँ चाहिँ हाँसेरै टार्नुहुन्थ्यो। कुनै गीतमा उहाँको जवाफ खोज्न परे म सम्झन्थे– नारायण गोपालको ‘यसै गरी बिताइदिन्छु दुई दिने जिन्दगी…’

मलाई बलराम दाइबारे ‘ओबिचुअरी’ लेख्न भने आयोमेलका साथीहरूले। तर, मैले मर्माहत अवस्थामा स्मृतिका हरफहरू लेखेछु। र, यो नै मेरो उहाँमाथिको सत्य र आधिकारिक विवेचना हो। 

बलराम दाइलाई असल व्यवस्थापक होइन भन्ने ठाउँ छैन। उहाँले धेरैको जीवन र करिअर व्यवस्थापनमा उत्कृष्ट निर्णय गरेको विषयको म आफैं साक्षी र अनुभवी हुँ।

उहाँको परिवारप्रति अतीव लगाव थियो। छोराको क्रिकेट मोहप्रति सधैं पुलकित, छोरीको अब्बल पढाइप्रति खुसी, भाउजुको उत्तरदायी भूमिकाप्रति अनुग्रहित, दाजु भतिजाहरूप्रति सधैं प्रेम र लगाव।

कुनै समयमा आर्थिक जोहो भएर जोडेको जग्गामा घर बनाएर राजधानीको थातथलो स्थायी तुल्याउने चाहना। नजिकबाट चिन्दा मैले उहाँलाई जिम्मेवार मात्र पाएँ। तर आफ्नै हकमा चाहिँ उहाँ निर्विकार भइदिने, लहरमा कहाँ पुगेको थाहा नपाउने। 

तर, यसपाला त बलराम दाइलाई लहर होइन, बर्खे भेलले बगाएर मकवानपुर पु-याएछ। र, उहाँको भौतिक अस्तित्वमा पनि पूर्णविराम लगाएछ।

मैले आज पूरै दिन रिक्ततामा बिताएँ। 

चेतको ढोका ढकढक्याइरहेँ, बलराम दाइले दिएको नासो खोजिरहेँ। उहाँको नासो हो– इमान, निष्ठा र निर्भिकता। नेपाली पत्रकारिताले यसलाई बचाउन सकोस्। हामी यसका अनुयायी बन्न सकौं।


Leave a Reply

Your email address will not be published.