गण्डकीमा ९० प्रतिशत संक्रमितले जिते कोरोना
चैत पहिलो साता फर्किने गरी मुस्ताङको छैरोस्थित शरणार्थी शिविरबाट ८३ वर्षे वृद्ध मंसिरमा काठमाडौं गए। तर एक्कासि घोषित लकडाउनले उनकी श्रीमती, छोरी र नातिनी काठमाडौंमै रोकिए।
३१ जेठमा बसमा जिल्ला फर्किएका उनी मुस्ताङको पहिलो संक्रमित बन्न पुगे। बुवामा कसरी कोरोना स-यो भन्नेमा छोरी डोल्मा छिरिङ र ज्वाइँ छेवाङ राप्टेन पनि अनभिज्ञ छन्।
६ असारमा कोरोना पोजेटिभ देखिएका ती वृद्ध १० दिनमा निको भएर घर फर्किए। अहिले उनी शिविरमै बसिरहेका छन्। ‘बुवा त एक्दम तन्दुरुस्त हुनुहुन्छ। हिँड्डुल गरिराख्नुभएको छ। क्याम्पमै छौं। अहिले त यहाँ कोरोनाको डरै छैन,’ ज्वाइँ राप्टेनले बुधबार आयोमेलसँग भने।
…
बागलुङ नगरपालिका–३ गौंडाकोटकी मनकुमारी पौडेलमा २० चैतमा कोरोना पोजेटिभ देखियो। १५ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भइन्।
उच्च आत्मबलले नै उनले कोरोना भाइरसलाई जितिन्। ‘सबैभन्दा ठूलो कुरा हिम्मत र सकारात्मक सोच रहेछ,’ अस्पतालबाट घर जाँदै गर्दा उनले भनेकी थिइन्, ‘औषधिभन्दा ठूलो आत्मबल रहेछ, जसकारण औषधि नै नभएको कोरोनालाई जित्न सफल भएकी छु।’
मधुमेह र उच्च रक्तचापबाट ग्रसित उनी ४ चैतमा बेल्जियमबाट कतार हुँदै नेपाल फर्किएकी थिइन्। नेपालकी छैटौं कोरोना संक्रमित पौडेलको उपचार धौलागिरी अञ्चल अस्पतालले गरेको थियो।
…
मुस्ताङका वृद्ध र बागलुङकी पौडेल जस्तै गण्डकी प्रदेशमा हालसम्म १६ सय ५६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमध्ये १४ सय ९३ (९० प्रतिशत) संक्रमित निको भएका छन्।
देशभर निको हुने संक्रमितको संख्या ६८ प्रतिशतमात्रै छ। बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार चार सय ३२ पुगेको छ। तीमध्ये १६ हजार सात सय २८ (६८.७५) प्रतिशत संक्रमित निको भएका छन्।
बुधबार एकैदिन विभिन्न जिल्लामा गरेर चार सय ८४ संक्रमित थपिएका छन्। हालसम्म ९१ संक्रमितको मृत्यु भएको छ। गण्डकीमा भने संक्रमितमध्ये अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाका दुई, बागलुङ, गोरखा र कास्कीका एक/एक जना छन्।
गण्डकी प्रदेशमा हाल संक्रमितको संख्या अरु प्रदेशको भन्दा कम भए पनि ढुक्क हुने अवस्था नरहेको स्वास्थ्य अधिकारीको भनाइ छ। लकडाउन खुकुलो भएकाले ढुक्क हुनुभन्दा अझ बढी सचेत हुनुपर्ने प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मा बताउँछन्। ‘निको हुने दर बढी छ। तर यस्तो भन्दैमा ढुक्क हुनु हुँदैन। लकडाउन खुकुलो भएकाले जोखिम बढिरहेको छ,’ उनले भने।
सेकेन्डेरी कन्ट्याकका व्यक्तिमा कोरोना पुष्टि हुने संख्या बढे त्यसले जोखिम सिर्जना गर्ने उनले सुनाए। गण्डकी प्रदेशका आइसोलेसन र क्वारेन्टाइन अरु प्रदेशको भन्दा स्तरीय हुनु राम्रो पक्षका रुपमा लिनुपर्ने निर्देशक शर्माको भनाइ छ।
स्याङ्जाका स्वास्थ्य प्रमुख यामप्रसाद शर्मा संक्रमितको संख्या बढी भए पनि निको हुनेको दरले काममा उत्साह थपिएको बताउँछन्। ‘८२ प्रतिशत संक्रमित निको हुनुभएको छ। यसले सक्रिय संक्रमित र स्वास्थ्यकर्मीमा उत्साह थपेको छ,’ उनले भने।
संक्रमण समुदायमा फैलिएको पाइए पनि त्यसले स्याङ्जामा भयावह रुप लिएको छैन। संक्रमितको संख्या बढ्न सक्ने आँकलन गर्दै प्रशासनले जिल्लालाई सिल गरेको छ।
गण्डकीमा अहिलेसम्म ३० हजार ६ सय ६६ नमुना परीक्षण भइसकेको छ। गण्डकीका विभिन्न जिल्लाका स्वाब परीक्षणका लागि पोखरा ल्याइने गरेको छ। कतिपय जिल्लाले भने काठमाडौं र अन्त पनि पठाउने गरेका छन्।
कोरोना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्रमा पिसिआर मेसिन जडान गरिएको छ। दुवै ल्याबमा गरेर दैनिक तीन सयभन्दा बढी स्वाब परीक्षण हुँदै आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन्।
प्रतिष्ठान र क्षयरोग केन्द्रमा गरेर कोरोना परीक्षणका लागि २८ प्राविधिक छन्। क्षयरोग केन्द्रमा पिसिआर जडान गरेर दुई महिनाअघि मात्र कोरोना परीक्षण थालिएको हो। क्षेत्रीय अस्पतालको प्रयोगशालामा भने चैत तेस्रो हप्तादेखि परीक्षण हुँदै आएको छ।
गण्डकीका विवरण
कुल संक्रमित : १६५६
निको भएका : १४९३
सक्रिय संक्रमित : १५७
मृत्यु : ५
हाल क्वारेन्टाइनमा रहेकाको संख्या : ११४३
आइसोलेसन संख्या : ३८ (१३९७ बेड)
क्वारेन्टाइन संख्या : ७९० (१० हजारभन्दा बढी बेड)