कोरोना नियन्त्रणमा चुकिसक्यो प्रदेश २ : जनता नटेर्ने, सरकार कामै नगर्ने

कोरोना नियन्त्रणमा चुकिसक्यो प्रदेश २ : जनता नटेर्ने, सरकार कामै नगर्ने

कोरोना भाइरस संक्रमणका कारण प्रदेश २ अहिले आक्रान्त बनेको छ। प्रदेश मुकाम जनकपुरसहित आठवटै जिल्लामा कोरोना महामारीको कहर छ अहिले।

कोरोना रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले प्रदेशको अधिकांश ठाउँमा जारी निषेधाज्ञाका कारण ‘आंशिक लकडाउन’ को अवस्था छ।

सुरुको केही महिनासम्म लक्षणबिनाको संक्रमण देखिए पनि पछिल्लो केही दिनयता लक्षणसहितका संक्रमित देखिन थालेपछि थप त्रास र डर छाएको छ सर्वसाधारणमा। 

मंगलबारसम्म प्रदेश २ मा ३१ जना कोरोना संक्रमितको ज्यान गइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा छ। 

मंगलबार राति नै काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ। उनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमणको सन्दर्भमा प्रदेशको मुकाम जनकपुरधाम र वीरगन्ज हटस्पट बनेको पाइएको छ। 

यी दुई ठाउँमा हरेक दिन संक्रमित संख्या थपिँदै गएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयका कतिपय कर्मचारी संक्रमित भइसकेका छन्। 

यहाँसम्म कि प्रदेशको आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादव स्वयंं संक्रमित भइसके। मुख्यमन्त्री कार्यालयदेखि अन्य मन्त्रालयसम्म कोरोना प्रवेश गरेपछि अहिले सबै मन्त्रालयको कामकाज ठप्प छ। 

यसबाहेक प्रदेशका प्रायः सबै जिल्लाहरुमा चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु समेत संक्रमित भएका छन्। 

जनकपुरस्थित प्रादेशिक अस्पतालमा मात्रै झण्डै ३० जना स्वास्थ्यकर्मी तथा अस्पतालका सफाइ कर्मचारीहरु संक्रमित भइसकेका छन्। 

यसैगरी वीरगन्जको नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, वयोधालगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीसहित ८५ भन्दा बढी कोरोना संक्रमणको चपेटामा परिसकेका छन्। 

जनकपुर र वीरगंजबाहेक सप्तरी, महोत्तरी रौतहटलगायतका जिल्लाहरुमा पनि स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन्।

‘फ्रन्टलाइन’ मै खटिइने चिकित्सक र स्वास्थ्यकर्मीहरु संक्रमित हुनथालेपछि बिरामीको उपचारमा समस्या आउनसक्ने चिन्तासमेत व्यक्त गर्न थालिएको छ। 

कोरोना संक्रमणको बहानामा निजी अस्पतालहरुले बिरामी भर्ना गर्न नमान्दा अनाहकमा सर्वसाधारणको ज्यान गइरहेको छ। भर्ना भएका बिरामीमा संक्रमण पुष्टि हुँदा अन्यत्र लान दबाब दिइरहेका छन्, निजी अस्पतालहरुले।

सरकारले आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन नसक्दा चिकित्सक र स्वास्थ्यकर्मीहरु कोरोनाको चपेटमा पर्न थालेको नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश २ का अध्यक्ष शिवजी दास बताउँछन्। 

सरकारले कुरा गरेपनि स्वास्थ्यकर्मीहरुको सुरक्षा र सुविधातर्फ ध्यान दिन नसकेको उनको आरोप छ। 

‘स्वास्थ्यकर्मीहरु घर परिवारको चिन्ता छोडेर जोखिम मोल्दै काम गरिरहेका छन्, आवश्यक सुरक्षा सामग्री सरकारले पर्याप्त मात्रामा उपलब्ध गराउन सकेको छैन्,’ उनले भने, ‘त्यसकै परिणामस्वरुप अहिले ठूलो संख्यामा उनीहरु संक्रमित भइरहेका छन्।’ 

स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिइने भनिएपनि हालसम्म उनीहरुले जोखिम भत्ता पाउन नसकेको उनको भनाइ छ। 

चिकित्सक एवं स्वास्थ्यकर्मीहरु अहोरात्र खटिइरहेपनि आक्रमणको सामना गर्नु परिरहेको बताउँदै उनले सरकार जिउज्यानको सुरक्षासमेत गर्न नसकेको बताए।

चिकित्सक र स्वास्थ्यकर्मीहरू नै संक्रमित हुन थालेपछि बिरामीको उपचारमा समस्या आउन सक्ने चिन्तासमेत व्यक्त गर्न थालिएको छ।

कोरोना संक्रमणको बहानामा निजी अस्पतालहरूले बिरामी भर्ना गर्न नमान्दा अनाहकमा सर्वसाधारणको ज्यान गइरहेको छ। 
भर्ना भएका बिरामीमा संक्रमण पुष्टि हुँदा अन्यत्र लैजान दबाब दिइरहेका छन् निजी अस्पतालहरू।

समुदायस्तरमा कोरोना महामारी फैलिइसके पनि नियन्त्रण र न्यूनीकरणका लागि भने प्रदेश सरकारको तर्फबाट अझै तयारी पुग्न सकेको छैन। 

प्रदेश २ कोरोनाको उच्च जोखिममा रहेको र समयमै तयारी गर्न नसके भयावह अवस्था आउनसक्ने विज्ञहरूले सचेत गराइरहँदा समेत प्रदेश सरकारले हालसम्म एउटा पनि स्तरीय कोभिड अस्पताल सञ्चालनमा ल्याउन सकेको छैन। 

प्रदेशभित्र रहेका आइसोलेसन वार्डमा बस्न संक्रमित स्वास्थ्यकर्मीले नै अस्वीकार गरिसकेका छन्।

प्रदेशमा कोरोना नियन्त्रण करिब करिब अनियन्त्रित अवस्थामा पुगिसकेपछि दुई दिनअघि मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विशेष प्याकेज घोषणा गर्न आग्रह गरेको थियो।

भेटघाटमा राउतले स्थानीय प्रशासन र सुरक्षा निकायलाई थप चुस्त भएर काम गर्नुका साथै सीमा क्षेत्रमा कडाइ गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए।

तर, विशेषज्ञहरू भने कोरोना नियन्त्रण गर्नतर्फ प्रदेश सरकार सुरुदेखि नै चुकेको बताउँछन्। 

सरकारले चार महिनाको ‘लकडाउन’ को अवधिमा प्रदेश सरकारले कोरोनासँग लड्न कुनै तयारी गर्न नसकेको डा. अजय झाले बताए। 

चार महिनाको लकडाउन तयारी गर्न पूरा समय छँदा पनि प्रदेश सरकारले बजेट निकासाबाहेक अरु केही गर्न नसकेको उनको भनाइ छ।

‘चार महिनाको अवधिमा बजेट निकासा भयो तर, सरकारी अस्पतालहरू जहाँ थियो अझै त्यही अवस्थामा छ, कोरोनाको नाममा कोभिड अस्पताल खोलियो,’ उनी भन्छन्, ‘तर कोभिडका लागि चाहिने आवश्यक पूर्वाधार अझै सरकारले ल्याउन सकेको छैन।’

कोरोना संक्रमण फैलिइरहँदा प्रदेश सरकारले प्रदेशभित्र रहेका चिकित्सक र स्वास्थ्य कर्मचारीको आँकलनसमेत गर्न सकेको छैन। 

पर्याप्त संख्यामा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा संक्रमण नियन्त्रण र न्यूनीकरणमा समस्या पुगेको डा. झा बताउँछन्। 

प्रदेशभित्र उपलब्ध चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक पर्नसक्ने संख्याबारे यकिन गर्नतर्फ ध्यान पु¥याउन नसकेको उनको भनाइ छ।

‘प्रदेशभित्र चिकित्सक र स्वास्थ्यका कर्मचारी कति छन् सरकारले ध्यान दिन सकेन,’ उनी भन्छन्, ‘आइसियू सञ्चालन गर्नसक्ने विज्ञ कति छन् सरकारले ध्यान पुर्‌याउन सकेको छैन।’ 

प्रदेश सरकारले गठन गरेको विज्ञ टोलीले कोभिडबारे अध्ययन गरेका छन् वा छैनन् भन्दै उनले प्रश्न गरे।

कोभिड अस्पतालमा आइसियू व्यवस्था नहुनुका साथै गम्भीर अवस्थामा पुगिसकेको बिरामी बाहिर रेफर गरिनुले प्रदेश सरकारको तयारीको पोल खुलेको उनले बताए। सरकारले करोडौं रुपैयाँ निकासा गरे पनि नागरिकले स्वास्थ्य क्षेत्रमा केही पाउन नसकेको झाको भनाइ छ।

चार महिनाको अवधिमा स्वास्थ्य क्षेत्रमा भएको तयारी, अस्पतालले कस्तो बिरामी जाँच्ने र कुन बिरामीलाई रेफर गर्ने, संक्रमितको संख्या बढेपछि कोभिड अस्पताल र आइसियूको तयारी के कति छ यसबारे प्रदेश सरकारले आमनागरिकलाई जवाफ दिनुपर्छ। 

तयारीको झुटो नारा दिएर प्रदेश सरकारले जनतालाई गुमराहमा राख्ने काममात्र गरिरहेको उनले बताए।

प्रदेश २ मा कोरोना संक्रमण भयावह रूप लिनुमा लकडाउन खोलिनु र नाका कडाइमा कमी हुनु प्रमुख कारण रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका एक उच्चपदस्थ कर्मचारी बताउँछन्। 

‘लकडाउन खुलेपछि मानिस बेफिक्री भइदिए, नाकाबाट लुकिछिपी सरासर घरसम्म पुगे,’ ती कर्मचारी भन्छन्, ‘लकडाउन खुलेपछि कोरोना सकिइसकेको सबैले बुझ्न थाले। परिणाम अहिले सबैको सामुन्ने छ।’ 

कार्यालय, बजार खुल्दा भीडभाड बढ्दै गएपछि अहिले कोरोना समुदायस्तरमा फैलिइसकेको उनको भनाइ छ।

अहिले भयावह बन्दै गएको स्थिति नियन्त्रण गर्न नाकामा पूर्ण कडाइ हुनुपर्ने ती कर्मचारी बताउँछन्। 

‘सुरुमा नाकाबाट भित्रिनेलाई क्वारेन्टाइनमा राखिए पनि अहिले त्यसो भइरहेको छैन,’ उनी भन्छन्, ‘नाकाबाट आउनेलाई क्वारेन्टाइनमा नराखिए अवस्था थप भयावह हुनसक्छ।’

लक्षण नदेखिनेको स्वाब परीक्षण नगरिनुले पनि संक्रमितको संख्या बढ्दै गएको उनको तर्क छ। 

‘दस दिनसम्म कुनै लक्षण नदेखिएपछि परीक्षण नै नगरी क्वारेन्टाइनबाट घर पठाउन सकिने मापदण्ड तयार भयो,’ उनी भन्छन्, ‘तर लक्षण नदेखिए पनि कोही संक्रमित भए अरुलाई संक्रमित बनाउने हुँदा संख्या बढिरहेको हुनुपर्छ।’ 

यस्तै मापदण्ड आइसोलेसनमा पनि अपनाइएपछि अहिले समूहमै संक्रमित फेला पर्न थालेको उनको भनाइ छ।

नाकामा कडाइ, बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राखिनुपर्ने, क्वारेन्टाइन बसेका सबैको स्वाब परीक्षण, स्वाब जाँचको नतिजा चाँडै दिन सकिए संक्रमण नियन्त्रण गर्न सकिने ती कर्मचारी बताउँछन्।

आइसोलेसन, भेन्टिलेटर, आइसियू, प्रयोगशालाको क्षमता बढाउनतर्फ प्रदेश सरकारले ध्यान दिनु जरुरी रहेको उनको भनाइ छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघिसकेको छ। सबैभन्दा धेरै रौतहट र पर्सा प्रभावित छन्। 

काेराेना संक्रमणका कारण देशभर मृत्यु भएकामध्ये सबैभन्दा धेरै ३८ जना त प्रदेश २कै हुन्। त्याेमध्येमा पनि पर्सामा मात्रै १८जनाले यो भाइरसका कारण ज्यान गुमाइसकेका छन्। 


Leave a Reply

Your email address will not be published.