‘ट्रम्पले अमेरिका तहसनहस पारे’
अमेरिकामा डेमोक्र्याटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार जो बाइडेन र उप–राष्ट्रपति उम्मेदार कमला ह्यारिसले राष्ट्रपति डानाल्ड ट्रम्पलाई निशाना बनाउन थालेका छन्।
ट्रम्प देशका लागि अयोग्य नेता ठहर भइसकेको उनीहरुको आरोप छ। एक चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले भनेका छन् ‘ट्रम्पले अमेरिकालाई धुजाधुजा पारिसके। अब झन् ध्वस्त बनाउँदैछन्।’
बाइडेनको गृहराज्य डलवेयरको एउटा हाइस्कुलमा भएको चुनावी सभामा दुबैजनाले सम्बोधन गरेका थिए।
कोरोना भाइरसको महामारीका कारण भीडभाड नगर्ने र सामाजिक दुरी कायम गरिनुपर्ने भन्दै सभामा उनीहरुले केही विषेश व्यक्तिलाई मात्रै निम्त्याएका थिए।
बाइडेनले आगामी चुनावले नै अमेरिकाको ‘दीर्घकालिन भविष्य’ निर्धारण गर्ने बताएका थिए।
‘ट्रम्पलाई कुरा गर्न र दोष दिन राम्रोसँग आउँछ, यसमा आश्र्चय मान्नुपर्ने कुनै कारण छैन, अमेरिकी राष्ट्रपतिकै इतिहासमा उनी सबैभन्दा धेरै अरुलाई गाली गर्ने र अरुकै कुरा गर्ने मान्छे हुन्।’
बाइडेनले कोरोनाको महामारी, जलवायु परिवर्तन, बेरोजगारीका मुद्दा र विभेदकारी नश्लीय राजनीतिमा असफल भइसकेको भन्दै ट्रम्पको जमेर आलोचना गरे।
त्यस्तै उपराष्ट्रपति पदकी उमेदवार कमला ह्यारिसले ट्रम्पले अमेरिकालाई तहसनहस पारिसकेको आरोप लगाइन्।
‘आफ्ना जनताको भन्दा ट्रम्पलाई आफ्नै चिन्त छ’ उनले भनिन् ‘अमेरिका तहसनहस भइसकेको छ, कारण ट्रम्प नै हुन्।’
कमलाले पूर्व राष्ट्रपति बाराक ओबामा र बाइडेनले बलियो पारेको अमेरिकाको अर्थ व्यवस्था ट्रम्पले ध्वस्त पारेको बताइन्।
‘हामीले यस्तो राष्ट्रपति चुन्यौं जसले अमेरिकालाई नाजुक अवस्था पु¥याइसकेको छ। अमेरिकाले आफ्नो प्रतिष्ठा गुमाउँदै गइरहेको छ’ कमलाले भनिन् ‘किनकि ट्रम्प राष्ट्रपतिको कुर्सीका लागि लायकै थिएनन्।’
डेमोक्र्याटले उपराष्ट्रपतिका लागि कमला ह्यारिसलाई छानेको हो। उनी भारतीय–जमैकन मूलकी अश्वेत महिला हुन्।