२४ सयले बढ्यो सुनको भाउ, चाँदीको मूल्य पनि उकालो लाग्यो
यो साताको चार दिन लगातार आरोलो लागेको सुनको भाउ बिहीबार एकै दिन तोलाको २ हजार ४ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाल सुन तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो भाउ बुधबारको तुलानामा २ हजार ४ सय रुपैयाँले बढी हो। बुधबार सुन तोलाको ६ हजार २ सय रुपैयाँले ओरालो लागेर ९५ हजार ४ सयमा कायम भएको थियो।
मंगलबार छापावाला सुन तोलाको १ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। महासंघका अुनसार नेपाली बजारमा छापावाला सुनको भाउ मंगलबार ८ सय, सोमबार २ सय र आइतबार ९ सय रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा किनबेच भएकोमा आइतबार सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँ भाउ थियो।
गत शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेर सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। महासंघका अनुसार तेजाबी सुनको भाउ बिहीबार तोलाको ९७ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ।
तेजाबी सुन बुधबार तोलाको ९४ हजार ९ सय, मंगलबार १ लाख १ हजार १ सय, सोमबार १ लाख १ हजार ९ सय र आइतबार १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
गत शुक्रबार तेजाबी सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो। बुधबार चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार बिहीबार चाँदीको भाउ तोलाको ८५ रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।
चाँदीको भाउ बुधबार १ हजार २ सय १०, मंगलबार १ हजार ४ सय ३५, सोमबार १ हजार ३ सय ९५ र आइतबार १ हजार ४ सय १० रुपैयाँमा किनबेच भएको थियो। चाँदी गत शुक्रबार १ हजार ४ सय ५ रुपैयाँमा किनबेच भएको थियो।