कोरोना संक्रमण राेक्न भक्तपुर नगरले गर्‍यो केही यस्ता निर्णय

कोरोना संक्रमण राेक्न भक्तपुर नगरले गर्‍यो केही यस्ता निर्णय

भक्तपुरमा पनि कोरोना भाइरसको संक्रमित संख्या बढ्दै गएको छ। भक्तपुर नगरपालिका क्षेत्रमा रहेका उद्योगधन्दा एवं कलकारखानामा कार्यरत कर्मचारी र मजदुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखेको छ ।

संवेदनशीलतालाई मध्यनजर गरी उद्योग र कलकारखानामा काम गर्ने मजदुर एवं कर्मचारीलाई आफ्नै उद्योगपरिसरमा क्वारेन्टाइनको अनिवार्य व्यवस्था गर्न उद्योग सञ्चालकलाई निर्देशन दिने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

क्वारेन्टाइनको व्यवस्था नगर्ने उद्योगधन्दा बन्द गराउन जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गर्ने निर्णय भएको जनाइएको छ ।

साथै कोरोना संक्रमणको जोखिमप्रति संवेदनशील भई निकट भविष्यमा मनाइने कुशे औंसी (बुबाको मुख हेर्ने दिन) लाई औपचारिकतामा मात्र सीमित गर्न सार्वजनिक अनुरोध गर्ने निर्णय गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ का संक्रमित उपत्यकामा पनि दिनहुँ सयौंको संख्यामा देखिन थालेको वर्तमान अवस्थामा भीडभाड हुने कुनै पनि गतिविधि नगर्न संघीय सरकारले समेत निर्देशन दिएको नगर प्रमुख प्रजापतिले बताए। 

भक्तपुर नगरपालिकाका वडाहरूमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन तथा फोटो खिच्ने अभियान हाल स्थगित गर्न जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने निर्णय गरेको प्रजापतिले बताए। 

साथै उपत्यकामा प्रवेश गर्ने मुख्य नाकाहरूमा कडाइ गर्न र अनधिकृत प्रवेशलाई पूर्णतः रोक्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । 

बैठकले कोभिड–१९ संक्रमण तीव्र गतिमा बढिरहेको अवस्थामा लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन हाललाई सञ्चालन नगर्न सम्बन्धित संघीय सरकारसँग अनुरोध गर्ने, नगरपालिका प्रवेश गर्ने प्रमुख नाकामा थप कडाइ गर्न नगरपालिका, प्रशासन कार्यालय, महानगरीय प्रहरी, स्वयंसेवक तथा सरोकारवाला संस्थाहरूको तर्फबाट एकीकृत गस्ती परिचालन गर्ने निर्णय भएकाे छ।

त्यस्तै भक्तपुर नगरपालिका क्षेत्रभित्रका सडक, गल्ली, चोक, मन्दिर र खुला ठाउँलगायतका क्षेत्रमा कीटनाशक औषधि छर्कने तथा बजार क्षेत्र, राजमार्ग र सहायक मार्गवरपरका क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका ठेलागाडा, साइकल हटाउने र फुटपाथ पसल व्यवस्थित गर्ने निर्णय पनि गरिएको छ।


Leave a Reply

Your email address will not be published.