महाधिवेशन घोषणा भइसकेपछि मनोनयन गर्नु हास्यास्पदः कांग्रेस जिल्ला सभापति 

महाधिवेशन घोषणा भइसकेपछि मनोनयन गर्नु हास्यास्पदः कांग्रेस जिल्ला सभापति 

प्रमुख प्रतिपक्षी दल नेपाली कां‌ग्रेसका जिल्ला सभापतिले पार्टीको १४औै महाधिवेशन घोषणा भइसकेको परिस्थितिमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्नु हास्यास्पद भएको जनाएका छन्।

काठमाडौं उपत्यकामा उपलब्ध र अन्य माध्यमबाट सम्पर्कमा रहेका कांग्रेसका जिल्ला सभापतिको बुधबार सम्पन्न बैठकले वर्तमान केन्द्रीय समितिलगायत सम्पूर्ण समितिले आफ्नो कार्यकालको अवधि पूरा गरिसकेको अवस्थामा विभागमा अवैधानिक एवं स्वेच्छाचारी ढङ्गले मनोनयन गरिएको आरोप लगाएको छ।

बैठकले लामो समय कसैलाई पनि जिम्मेवारी नदिई स्वेच्छाचारी तवरले सञ्चालन गरी महाधिवेशनको पूर्वसन्ध्यामा गठन भएका विभागलाई अमान्य ठहर गरेको काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बताए। 

बैठकले केन्द्रीय समितिको बहुमतले उल्टाएका महासमितिको निर्णय अक्षरशः पार्टीको १४औं महाधिवेशनमा प्रस्तावका रूपमा अगाडि बढाउने निष्कर्षसमेत निकालेको उनको भनाइ छ।

जिल्ला सभापतिले पार्टीको कार्यविधिअनुसार समायोजन सम्पन्न भएका डडेल्धुरा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा विभिन्न बहानमा रोकिएको क्रियाशील सदस्यता फाराम तत्काल उपलब्ध गराउन माग गरेका छन् ।

यसैगरी पार्टी एकीकरण वा प्रवेश गर्ने समूह वा व्यक्तिको हकमा पार्टीको विधानअनुसार पार्टीको तल्लो तहबाटै क्रियाशील सदस्यता दिने व्यवस्था सुनिश्चित गर्न जिल्ला सभापतिले माग गरेका छन्।

बैठकले मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन बढेको, कोरोना नियन्त्रण र व्यवस्थापनमा सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संघर्षमा उत्रन आवश्यक निर्णय र निर्देशनका लागि नेतृत्व समक्ष आग्रहसमेत गरेको छ ।

बैठकले विधानअनुसार तत्काल कारवाही गरिनुपर्नेलाई नगरी महाधिवेशनको कार्यतालिका प्रकाशित भइसकेपछि प्रतिशोधको आधारमा कारवाही गरिएको जनाउँदै त्यस प्रकारका गतिविधि रोक्न नेतृत्वसँग आग्रह गरेको छ।

साथै आसन्न १४औं महाधिवेशनबाट आर्थिक पारदर्शिता, स्पष्ट राजनीतिक दृष्टिकोण, स्थानीय तहसम्मका मतदाताले प्रत्यक्ष अनुभूति गर्ने गरी भावि रणनीतिक योजनासहित नीति तथा नेतृत्व स्थापित गर्ने अभियानको घोषणासमेत गरिएको छ।


Leave a Reply

Your email address will not be published.