चार घन्टाको बैठकमा दुवै अध्यक्ष सकारात्मक 

चार घन्टाको बैठकमा दुवै अध्यक्ष सकारात्मक 

संवादहीनतालाई तोड्दै ८ दिनपछि भएको छलफलमा पार्टीको विवाद समाधान गर्नेपक्षमा नेकपाका दुवै अध्यक्ष सकारात्मक देखिएका छन्। पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच विवाद समाधानका लागि आज करिब चार घण्टा लामो छलफल भएको छ। 

दुवै अध्यक्ष समस्या समाधानका लागि सकारात्मक देखिएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)ले जानकारी दिए। ‘लामो समयपछि छलफल भए पनि पार्टीको विवाद समाधान र अहिले परिस्थितिसँग जुध्ने कुरामा दुवै अध्यक्ष सकारात्मक देखिनुभएको छ, आजको छलफललाई सकारात्मक संकेतका रुपमा मान्न सकिन्छ’, सल्लाहकार जुगलले भने। 

साउन २० गते बसेको बैठकमा सहमति नजुटेपछि दुवै अध्यक्षबीच संवादहीनताको स्थिति सिर्जना भएको थियो। त्यसैबीचमा प्रचण्डका सुरक्षाकर्मीमा कोरोना देखिएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेका थिए। 

पार्टी फुटको संघारमा जान लागेको भन्दै नेकपाका ६१ सांसदले आइतबार ध्यानाकर्षणपत्र बुझाएका थिए। फुटतिर लाग्ने कुनै पनि नेतृत्वलाई आफूहरूको सहयोग नहुने भएकाले मिल्नुपर्ने दवाव उनीहरूको पत्रमा थियो। सोही पत्रपछि नेकपाभित्रको आरोप प्रत्यारोपको शृंखला पनि चार दिनदेखि बन्द भएको छ। 

कार्यकर्ताहरू मिल्ने पक्षमा देखेपछि आज प्रचण्ड निकास निकाल्नका लागि प्रधानमन्त्री ओलीलाई भेट्न बिहान ११ बजे बालुवाटार गएका थिए। करिब चार घण्टा लामो छलफल निकास निकाल्ने विषयमा सकारात्मक देखिएको बालुवाटार स्रोतले जनाएको छ। 

आजको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।  

पछिल्लो समय स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको माग उठेपछि नेकपामा विवाद चुलिएको थियो। अधिकांश स्थायी कमिटी सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक नै स्थिगित गरी सचिवालय बैठकबाट समाधान खोजिनुपर्ने अडान राखेका थिए।

नेकपा फुट्न लागेको भन्दै सर्वत्र चर्चा भएका बेला प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजनमा अन्तवार्ताका क्रममा पाँच दिनभित्र पार्टीको परिस्थिति नै बदल्ने दाबी गरेका थिए।


Leave a Reply

Your email address will not be published.