ट्रम्पको कपाल राम्ररी नपखालिएपछि ‘सावर’ नियम परिवर्तन गर्ने प्रस्ताव

ट्रम्पको कपाल राम्ररी नपखालिएपछि ‘सावर’ नियम परिवर्तन गर्ने प्रस्ताव

राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘बाथरुम’ को ‘सावर’ मा पानीको कमजोर प्रवाहका कारण कपाल राम्ररी नपखालिएको गुनासो गरेपछि अमेरिकी सरकारले पानीको बहाव बढाउन ‘सावरहेड’ को परिभाषा परिवर्तन गर्ने प्रस्ताव गरेको छ। 

सन् १९९२ मा जारी कानुनअन्तर्गत अमेरिकामा सावरहेडमा पानीको बहाव प्रतिमिनेट २.५ ग्यालन (९.५ लिटर) भन्दा बढाउने अनुमति छैन। ट्रम्प प्रशासन उक्त सीमा समग्रभन्दा प्रत्येक नोजलमा लागू होस् भन्ने चाहन्छ। 

उपभोक्ता संरक्षण समूह भने यसलाई बेकार र अनावश्यक मान्छ। गत महिना ह्वाइट हाउसमा ट्रम्पले गुनासो गरेपछि अमेरिकी ऊर्जा विभागले बुधबार उक्त प्रस्ताव राखेको हो। 

‘सावरहेड भएको ठाउँमा नुहाउन पानीको प्रवाह पुग्दैन। तपाईं हात धुन चाहनुहुन्छ तर पानी आउँदैन। त्यस्तो अवस्थामा के गर्नुहुन्छ?,’ ट्रम्पले भने, ‘तपाईं त्यहाँ लामो समयसम्म उभिराख्नु हुन्छ वा लामो समयसम्म नुहाउनुहुन्छ? मलाई तपाईंको बारेमा थाहा छैन, तर मलाई चाहिँ आफ्नो कपाल चरिचट्ट मिलेको हुनुपर्छ।’ 

ऊर्जा संरक्षण समूह एप्लिकेसन स्ट्यान्डर्ड अवेयरनेस प्रोजेक्टका कार्यकारी निर्देशक एन्ड्र्यु डेलास्कीले ट्रम्पको प्रस्तावलाई ‘मुर्खता’ को संज्ञा दिएका छन्। 

चार, पाँच वा बढी नोजल भएका ‘सावरहेडले प्रतिमिनेट १० देखि १५ ग्यालन पानी प्रवाह गर्छन्। शाब्दिक अर्थमा त्यस्तो पानीको प्रवाहले तपाईंलाई बाथरुमबाट बाहिर फाल्न सक्छ,’ उनले अमेरिकी समाचार संस्था एपीलाई भने, ‘यदि राष्ट्रपतिलाई राम्रो नुहाउने स्थान खोज्न मद्दत चाहिएको हो भने हामी उहाँलाई केही राम्रा उपभोक्ता वेबसाइट प्रस्ताव गर्नसक्छौं। जसले मज्जैले भिजाउनुका साथै राम्रो स्नानको प्रत्याभूति गर्नेछ।’ 

उपभोक्ता हकहित हेर्ने समूह कन्जुमर रिपोर्ट्सका उपाध्यक्ष डेभिड फ्रिडम्यानले अमेरिकामा सावरहेडले पैसा बचत गर्दै ग्राहकलाई उच्च सन्तुष्टि प्रदान गरेको बताए। 

बेलायती समाचार संस्था रोयटर्सले ट्रम्पको प्रस्तावविरुद्घ अदालतमा मुद्दा पर्नसक्ने जनाएको छ। 

(बिबिसिबाट अनुवादित)


Leave a Reply

Your email address will not be published.