पूर्वमेयर गिरीलाई यसरी सम्झिए उपसभापति निधिले

पूर्वमेयर गिरीलाई यसरी सम्झिए उपसभापति निधिले

नेपाली कांग्रेसका नेता एवं जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मंगलबार राति काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। राति करिब १२ बजे निधन भएका गिरीलाई कोरोना पुष्टि भएको थियो।

गिरीको निधनप्रति नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले समवेदना व्यक्त गरेका छन्। जनकपुरको मिल्स एरियामा उपसभापति निधि र गिरीको घर केही सय मिटरको दूरीमा छ। निधि र गिरी परिवारबीच वर्षौंदेखि आत्मीय सम्बन्ध रहिआएको छ।

उपसभापति निधिले बुधबार विज्ञप्ति जारी गरेर ‘नेपाली कांग्रेसका नेता तथा जनकपुरका प्रसिद्ध समाजसेवी कृष्ण गिरीको निधनको खबरले स्तब्ध बनाएको’ उल्लेख गरेका छन्।

‘मेरो हजुर बुबा स्वर्गीय राजेश्वर निधि र मेरो पिता स्वर्गीय महेन्द्रनारायण निधि तथा उहाँको पिता स्वर्गीय गौरीनारायण गिरी (डिट्टा साहेब) को पालादेखि दुई परिवारबीच गहिरो एवं मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ,’ गिरीलाई स्मरण गर्दै निधिले भनेका छन्, ‘उहाँसँगको मेरो पारिवारिक एवं राजनैतिक सानिध्यता अत्यन्त आत्मीय र सम्मानजनक रहँदै आएको थियो।’

उनको निधनबाट कांग्रेस,समाज र आफूले व्यक्तिगत रुपमा अपुरणीय क्षति ब्यहोर्नुपरेको निधिले बताएका छन्।

जनकपुरको सबैभन्दा पुरानो रामा होटलका सञ्चालकसमेत रहेका गिरी समाजसेवादेखि विभिन्न संघ संस्थामा आवद्ध भएर काम गर्दै आइरहेका थिए। गिरीको निधिनप्रति जनकपुरका स्थानीयहरूले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्ति गरिरहेका छन्।

धनुषा कांग्रेसले पार्टीको झण्डा तीनदिन झुकाउने

नेपाली कांग्रेस धनुषाले कोरोना संक्रमणबाट मृत्यु भएका पूर्वमेयर गिरीप्रति शोक व्यक्त गर्दै तीनदिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ।

जिल्ला सभापति महेशशंकर गिरीको सभापतित्वमा बिहिबार बसेको बैठकले पार्टीका पूर्वसभापतिसमेत रहेका गिरीप्रति समवेदना प्रकट गर्न तीनदिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको हो।

बैठकपछि धनुषा कांग्रेसले जारी गरेको शोक सन्देशमा ‘गिरीको निधनबाट धनुषाले एक कुशल संगठनकर्ता एवं अग्रज व्यक्तित्वलाई गुमाएको’ भनिएको छ। 

समाज एवं पार्टीमा उनले पु-याएको योगदानको कदर तथा सम्मान गर्दै पार्टी कार्यालयमा शोक पुस्तिका राखी तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र पार्टीको दैनिक कामकारबाही स्थगित गरी शोक मनाउने निर्णय भएको जिल्ला सभापति गिरीद्वारा जारी शोक सन्देशमा भनिएको छ।


Leave a Reply

Your email address will not be published.