कर्णाली प्रवेश गर्न पिसिआर अनिवार्य 

कर्णाली प्रवेश गर्न पिसिआर अनिवार्य 

कर्णाली प्रदेश सरकारले भदौ १ गतेदेखि कर्णाली प्रवेश गर्न कोरोना संक्रमण भए/नभएको पिसिआर रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने निर्णय गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश विपद व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले भारतबाट आउने नेपाली नागरिकहरूलाई अनिवार्य रुपमा सीमा नाकाको क्वारेन्टाइनमा राख्ने तथा क्वारेन्टाइनको क्षमताभन्दा बढी राख्नु पर्ने अवस्था भएमा मध्यपश्चिम विश्वविद्यालयको भवनलाई पनि प्रयोग गर्ने वैकल्पिक व्यवस्था मिलाउने सम्बन्धमा सामाजिक विकास मन्त्रालयले समन्वय गरी आवश्यक कार्य गर्ने गराउने निर्णय गरेको छ।

कम्तीमा तीनदिन अघिको पिसिआर रिपोर्ट पेश गर्नुपर्ने र सीमामै क्वारेन्टाइनको व्यवस्था गरिने बैठकको निर्णयमा उल्लेख छ। रातको समयमा भने कर्णाली प्रदेश पूर्ण रुपमा बन्द गरिने समेत बैठकले निर्णय गरेको छ। 

सामाजिक विकास मन्त्रालयकै समन्वयमा स्थानीय तहमा एक पालिका एक क्वारेन्टाइन निर्माण र विभिन्न स्थानमा जनचेतामूलक होडिङ बोर्डलगायतका सामग्री प्रयोग गर्ने निर्णय गरिएको छ। कुनै एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्दा कर्मचारीको समेत अनिवार्य पिसिआर रिर्पोट पेश गर्नु पर्ने निर्णय बैठकले गरेको छ।

समुदाय स्तरमा मास्कको अनिवार्य रुपले प्रयोग गर्ने गराउने र प्रयोग नगर्नेलाई कडा कारबाही गरिने बैठकले निर्णय गरेको छ। प्रदेशमा आयोजना गरिने कुनै पनि मेला, पर्व वा जात्रा र नाचगान नगराउ आग्रह गरिएको छ। कुनै महत्वपूर्ण र अत्यावश्यक ठानिएका बैठक, सेमिनार वा गोष्ठिका विषयमा बढिमा १५ जनाले भौतिक दूरी कायम गरी गर्न सकिने उल्लेख छ।

यसैवीच जिल्ला प्रशासन कार्यालय सुर्खेतले आगामी भदौ १ गतेदेखि वीरेन्द्रनगरमा पनि निषेधाज्ञा गर्ने भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकले आगामी भदौ १ गतेदेखि भदौ ५ गते राती १२ बजेसम्म निधेषाज्ञा गर्ने निर्णय गरेको हो।

सुर्खेतमा कोरोना संक्रमितहरूको संख्या ह्वात्तै बढ्न थालेपछि तत्काल वीरेन्द्रनगरमा निषेषाज्ञा लागु गर्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। 

निश्चित समयसम्म मात्रै निषेधाज्ञा लागु गर्न लागिएकाले अत्यावश्यक र निर्माण योजनाहरू बाहेक अन्यमा क्षेत्र पूर्ण रुपमा बन्द गरिने रेग्मीको भनाई छ।

वीरेन्द्रनगर बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड नअपनाएर पसल सञ्चालन गर्ने, भीडभाड धेरै गर्ने, पर्वहरूमा नाचगान र दर खान जाने प्रवृत्ती बढेकाले निषेधाज्ञा गर्नु परेको रेग्मीले उल्लेख गरे। कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतसहित सेवाग्राहीको भीड हुने कार्यालयहरूमा यहीँ साउन २५ गतेबाट अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिसकेको छ। वीरेन्द्रनगर नगरपालिकाले पनि साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.