ठाकुरले लिएको फर्जी नागरिकता रद्द हुने
फर्जी प्रमाण पेश गरी नेपाली नागरिकता लिएका गैर नेपालीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषाले कारबाही प्रक्रिया अगाडी बढाएको छ। फर्जी तरिकाले नेपाली नागरिकता लिने गैर नेपालीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषाले कारबाही प्रक्रिया अगाडी बढाएको हो।
जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम-४ ठेगाना देखाइ रोशन ठाकुरले लिएको नागरिकता खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।
बाबु त्रिवेणी ठाकुरसँग नेपाली नागरिकता नरहेपनि रोशनले वंशजको आधारमा नेपाली नागरिकता बनाएको रहस्य केहीदिनअघि बाहिरिएको थियो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रोशनको नागरिकता खारेज गर्ने प्रक्रियाअघि बढिसकेको जानकारी दिएका छन्। भट्टराईले फर्जी रहेको प्रमाणित भइसकेपछि नागरिकता रद्द गर्ने प्रक्रिया अगाडी बढाइएको बताए।
‘रोशनले लिएको नागरिकता फर्जी रहेको पुष्टि भइसकेको छ, नागरिकता खारेज गर्ने अधिकार गृहमन्त्रालयलाई हुन्छ,’ उनले भने, ‘नागरिकता खारेज गर्न हामीले मन्त्रालयमा पत्राचार गरिसकेका छौं, चाँडै जानकारी आउँछ।’ साथै रोशनले कसरी र कहाँबाट फर्जी नागरिकता प्राप्त गरे यस विषयमा पनि छानबिन भइरहेको उनले जानकारी दिएका छन्।
फर्जी नागरिकता लिने जो कोहि भएपनि कारबाहीको दायरामा आउने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।
बाबुले नै नेपाली नागरिकता प्रमाणपत्र प्राप्त नगरेको अवस्थामा रोशनले फर्जी तरिकाले वंशज नागरिकता प्रमाणपत्र बनाएको भन्दै उनका भाइ रमेश ठाकुरले दाबी गरेपछि रहस्य बाहिरिएको थियो। रोशनले ४० हजार खर्चेर नेपाली नागरिकता बनाएको दाबी गरेका थिए।
फर्जी कागजात पेश गरी भारतीय नागरिकले नेपाली नागरिकता प्राप्त गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा एक दर्जनभन्दा बढी उजुरी परेको छ। दर्ता भएको महिनौं बितिसक्दासमेत अधिकांश उजुरीउपर सुनवाइ हुनसकेको छैन।
यो पनि,
चालिस हजार खर्चेर भारतीयले लिए नेपाली 'वंशज'काे नागरिकता
One thought on “ठाकुरले लिएको फर्जी नागरिकता रद्द हुने”