पहिरोले सिन्धुपाल्चोकमा पाँच घरका परिवार बेपत्ता, कालिकोटमा ६ जनाको मृत्यु

पहिरोले सिन्धुपाल्चोकमा पाँच घरका परिवार बेपत्ता, कालिकोटमा ६ जनाको मृत्यु

पहिरो जाँदा सिन्धुपाल्चोक र कालिकोटमा ठूलो जनधनको क्षति भएको छ। 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा १३ घर पुरिएका छन् भने पाँच परिवारका सदस्य बेपत्ता भएका छन्।

सिन्धुपाल्चोकमा शुक्रबार बिहान गएको पहिरोमा १३ घर पुरिएको र २५ घर विस्थापित भएका छन्।

जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले आयोमेलसँग भने, ‘पाँच परिवारका १३ जना बेपत्ता भएका छन् भने १५ जना घाइते सुरक्षित स्थानतर्फ आएर बसेका छन्।

योजना अधिकृत नेपालका अनुसार अहिले उद्धारको काम भइरहेको छ भने घटनाको पूर्ण विवरण आउन बाँकी छ।

त्यस्तै कालिकोटको महाबै गाउँपालिका ३का वडा सदस्यको घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले जानकारी दिएका छन्। 

मृत्यु हुनेमा सबैजना एकै घरका परिवार हुन्। अध्यक्ष सिंहका अनुसार बिहीबार राति गएकाे पहिराेमा वडा सदस्य राजबहादुर बिष्टकाे घर पुरिएको थियो। वडा नं ३को नकु भन्ने स्थानमा रहेकाे उनकाे घर पहिराेमा पुरिँदा बिष्टका दुई छाेरा, दुई छाेरी तथा उनका दाजुका दुई छाेराको मृत्यु भएकाे हो। 

गाउँपालिका अध्यक्ष सिंहले उद्धारका लागि गाउँपालिकाका सबै जनप्रतिनिध तथा प्रहरीहरु खटिएकाे बताए। उनी आफू पनि सदरमुकामबाट घटनास्थलतर्फ हिँडिसकेकाे बताएका छन्। 

वर्षामा बाटो बिग्रिएका कारण सदरमुकामबाट घटनास्थल पुग्न कम्तीमा ३ घण्टा लाग्छ। 


Leave a Reply

Your email address will not be published.