सिन्धुपाल्चोक पहिराे अपडेट: ३० घरभन्दा बढी पुरिए, ३८ बेपत्ता, पाँच घाइतेकाे हेलिकाेप्टरबाट उद्दार, चार शव फेला
सिन्धुपाल्चाेकको जुगल गाउँपालिका- २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका चार जनाको शव भेटिएको छ।
घटनास्थलमा पुगेका सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार पहिरोले ३८ जना पुरिएको पुष्टि भएको छ भने ५ जनालाई उद्धार गरिएको छ।
नेपाली सेनाले अरु पुरिएकाहरुको खोजी कार्य जारी राखेको छ। घाइतेमध्ये ४ जनालाई चौतारा र १ जनालाई काठमाडौं ल्याइएको छ।
पहिरोमा परी ३० भन्दा बढी घर पुरिएका छन्।
…
यो बस्ती पहिरोको निकै जोखिममा रहँदै आएको थियो।
कुनै पनि बेला पहिरो खसेर गाउँ नै पुरिने स्थानीयलाई त्रास थियो। जमिन चर्किंदै गएको देखेपछि स्थानीयले बस्ती स्थानान्तरणको माग गरेका थिए।
साउन २३ गते नै लिदीका स्थानीयले बस्ती जोखिममा परेको भन्दै जिल्ला विपद व्यवस्थापन समितिमा जोखिमको पहिचान गरी बस्ती स्थानान्तरणको माग गर्दै निवेदन दिएका थिए।
निवदेनप्रति न गम्भीर रूपमा स्थानीय सरकारले नै सोच्यो न त विपद् व्यवस्थापन समितिले नै। अन्नतः आज (साउन ३०) बिहान ३ बजेतिर गएको सुख्खा पहिरोमा परी ३० भन्दा बढी घर पुरिए र ३६ जना बेपत्ता छन्।
अहिले घटनाबारे जानकारी लिन नेताहरू घटनास्थल पुगेका छन्। सभामुख अग्निप्रसाद सापकोटासहितकाे टाेली घटनाबारे अनुगमनलाई घटनास्थल पुगेका छन्।
उद्धारमा स्थानीय जनप्रतिनिधि, सेना र प्रहरी खटिएका छन्। घटनापछि उद्धार हुनु एउटा कुरा हो। तर, स्थानीयले नै बस्ती जोखिममा परेको भन्दै निवेदन दिई पहिचान गर्न माग गरे पनि एकपटक पनि यतातिर नसोच्नु लापरबाही हो।
‘बस्ती जोखिममा परेको भन्दै उहाँहरूले निवदेन पठाउनुभएको थियो, हामीले त्यसलाई जिल्ला भू-संरक्षण कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आवश्यक कारबाहीको अनुरोधसहित पत्र पठाएका थियौं,’ सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले भने, ‘बुझ्नमा आएअनुसार दुवै कार्यलयबाट कुनै काम भएको छैन रे। अहिले हामी घटनाको विवरण संकलनमै लागेका छौं।’
नेपाली सेनाको उद्धार टोली भर्खरै घटनास्थलमा पुगेको उनले जानकारी दिए।