धनुषा र सिरहाको जिल्ला प्रशासन कार्यालय ‘सटडाउन’
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालय बन्द भएको छ।
कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेपछि अत्यावश्यक सेवाबाहेक धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयमा सम्पूर्ण कामकाज बन्द गरिएको हो।
कोरोना संक्रमण समुदायमा फैलिइसकेको भन्दै सुरक्षा अपनाउन धनुषा र सिरहाका प्रमुख जिल्ला अधिकारीहरूले अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका छन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले शुक्रबारदेखि अत्यावश्यकबाहेक अन्य सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिए।
यस अवघिमा शान्ति सुरक्षासम्बन्धी सेवा, विपदसम्बन्धी काम, ठाडो निवेदन, उजुरी र मुद्दासम्बन्धी कामबाहेक अन्य सबै काम तत्कालका लागि बन्द गरिएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयमा एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका कामकाज बन्द गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए।
शान्ति सुरक्षा, विपद् व्यवस्थापन, ठाडो उजुरीबाहेक दैनिक रूपमा हुँदै आएको अन्य कामहरू बन्द गरिएको उनले जानकारी दिएका छन्।
कँडेलले सेवा लिन आउने सेवाग्राही संक्रमित छन् वा छैनन् यकिन गर्न नसकिने अवस्था देखिएकाले कामकाज बन्द गरिएको बताए।