येल विश्वविद्यालय भर्नामा जातीय विभेद व्याप्त: अमेरिकी कानुन विभाग

येल विश्वविद्यालय भर्नामा जातीय विभेद व्याप्त: अमेरिकी कानुन विभाग

अमेरिकाको प्रसिद्ध येल विश्वविद्यालयले गोरा र एसियाली-अमेरिकी भर्नामा जातीय विभेद गर्दै आएको हालै प्रकाशित एक सरकारी प्रतिवेदनमा उल्लेख छ।

अमेरिकी कानुन विभागले दुई वर्षको अनुसन्धानपछि प्रकाशन गरेको प्रतिवेदनमा उक्त ‘आइभी लिग’ येलले स्नातक तहको भर्ना प्रक्रियामा नागरिक अधिकार कानुन उल्लंघन गरेको पाइएको उल्लेख छ।

विभागले उक्त समस्या निर्मूल गर्ने कदम नचाले विश्वविद्यालयविरुद्ध मुद्दा चलाउने चेतावनी दिएको छ।

येलका प्रवक्ताले भने विश्वविद्यालयले उक्त आरोप अस्विकार गरेको बताए।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन तथाकथित सकारात्मक कार्यको कडा विरोधी रहेको छ।

पूर्वराष्ट्रपति बाराक ओबामाले समर्थन गरेका कार्यक्रमअन्तर्गत अल्पसंख्यक, विशेष गरी हिस्पानिक र अफ्रिकी-अमेरिकीको प्रवेश बढाउने र जातीय विभेद नहोस् भन्ने प्रयासमा कानुन विभाग लागिरहेकाे छ।

विभागको हिजो बिहीबार प्रकाशित प्रतिवेदनमा सर्वोच्च अदालतले करदाताबाट रकम प्राप्त गर्ने विश्वविद्यालयलाई भर्नाका क्रममा ‘जातीय विभेद विभिन्न कारकमध्ये एक’ का रूपमा प्रयोग गर्न अनुमति दिइरहेको उल्लेख छ। ‘येलमा असीमित जातीय विभेद छ,’ प्रतिवेदनको निष्कर्ष छ।

‘प्रवेश प्रक्रियाका धेरै चरणमा येलले जातीय विभेद गर्ने गर्छ जसको परिणामस्वरूप आवेदकको भर्ना पाउने सम्भावनामा प्रभाव पार्छ,’ प्रतिवेदनमा छ।

उक्त निष्कर्षको कडा शब्दमा प्रतिकार गर्दै विश्वविद्यालयलाई सबै सूचना उपलब्ध गराइदिन भनी कानुन विभागको आदेश आउनुअघि नै प्रतिवेदन सार्वजनिक गरिएको येलको दाबी छ।

‘विभागले पूर्णरूपमा सूचना प्राप्त गरी निष्पक्ष अध्ययन गरेको भए येलको अभ्यास सर्वोच्च अदालतको दशकौं लामो नजिरअनुरूप नै भएको निष्कर्ष हुन्थ्यो,’ येलले जारी गरेको विज्ञप्तिमा छ,‘भर्ना प्रक्रियाका क्रममा विश्वविद्यालयले धेरै कुराको विचार गर्ने गरेको छ। यस्ता हडबडीमा गरिएको आधारहीन आरोपका आधारमा आफ्नो प्रक्रिया बदलिँदैन।’ 

गत वर्ष संघीय न्यायाधीशले एसियाली-अमेरिकी आवेदकविरुद्ध विभेदसम्बन्धी एक मुद्दामा हार्वर्ड विश्वविद्यालयलाई सफाइ दिएका थिए। यद्यपि, उक्त फैसलाविरुद्ध पुनरावेदन परेको छ।

(बिबिसिबाट अनुवादित)


Leave a Reply

Your email address will not be published.