कोरोनाविरुद्ध सडक सचेतनामा विवेकशील : ‘मास्क लगाउनुहोस् कोरोनाले चिन्ला’
विवेकशील नेपाली दलको अभियान विभागले उपत्यकामा कोरोनाविरुद्ध सचेतनामूलक अभियान तथा मास्क वितरण अभियान थालेको छ।
भीडभाड धेरै हुने ठाउँमा मास्क वितरण गर्दै कोरोनाविरुद्धको सचेतना कार्यक्रम गरेको दलकी नेतृ रजिया बानुले जानकारी दिइन्।
अभियान विभागकी उपप्रमुख बानुका अनुसार पहिलो र दोस्रो दिन काठमाडौंको चाबहिल गणेश मन्दिर, तरकारी बजार वरिपरि क्षेत्रमा मास्क वितरण तथा कोरोनासँग सम्बन्धित सचेतनामूलक कार्यक्रम गरिएको हो।
त्यसैगरी तेस्रो दिन लगनखेल तथा चौथो दिन शुक्रबार पाटन क्षेत्रमा कार्यक्रम गरिएको थियो। मास्क वितरण सँगै ‘मास्क लगाउनुहोस् कोरोनाले चिन्ला’, ‘तरकारी लैजानुहोस्, कोरोना नलैजानुहोस्,’ ‘कृष्णजीको आशीर्वाद लिनुहोस्, कोरोनाबाट बच्न मास्क लाउनुहोस्’ जस्ता सन्देश उल्लेखित प्लेकार्ड प्रदर्शन समेत गरिएको थियो। यसरी नै एक हप्तासम्म थप बल्खु , वनस्थली लगायत ठाउँमा सचेतना कार्यक्रम सम्पन्न भएको जनाइएको छ।