‘सिल’ गरिएका राजधानीका टोलहरू- कतै कोरोनाको ‘डर’, कतै बेपरवाह

‘सिल’ गरिएका राजधानीका टोलहरू- कतै कोरोनाको ‘डर’, कतै बेपरवाह

अब आफ्नो टोल ‘सिल हुँदैछ’ भन्ने थाहा पाएपछि भोटाहिटीका शिवशंकर श्रेष्ठले १५ दिनका लागि पुग्ने ‘घरखर्च’ जुटाइसकेका थिए। 
त्यसपछि उनी र उनका परिवार घरबाहिर निस्किएका छैनन्। 

‘हावाबाट पनि सर्छ रे, भन्ने सुनेको’ उनले सुनाए, ‘अनि त कसरी बाहिर निस्किनु, १५ दिनलाई पुग्ने घरखर्च पहिल्यै ल्याएर राखियो।’ 
यद्यपि हावाबाट पनि कोरोना भाइरस सर्ने भन्ने कुराको कुनै वैज्ञानिक प्रमाण भेटिएको छैन। 

उनलाई यस्तो अवस्थामा बाहिर निस्किनै डर लाग्छ।

कोरोना संक्रमित भेटिएपछि काठमाडौं भोटाहिटी क्षेत्र सिल गरिएको थियो। अहिले पनि त्यो क्षेत्र सिल नै छ। 
शुक्रबार दिउँसो भोटाहिटी क्षेत्र पुग्दा एउटा मास्क पसल अनि एउटा आयुर्वेदिक पसलमात्रै खुला थिए। सडक सुनसान थिए। टोलवासी घरभित्रै थिए। 

‘म धापासीबाट पसल खोल्नमात्रै यहाँ आएको हो। नत्र यहाँ कोही आउने जाने गरिरहेका छैनन्,’ आयुष आयुर्वेद पसलका शेर साउदले भने। 

राजधानीमै संक्रमित बढ्न थालेपछि स्थानीय वडा तथा टोलहरूले धमाधम ‘सिल’ गर्न थालेका छन्। तर, धेरैजसो ‘सिल’ गरिएका ठाउँहरू ‘सुनसान’ भने छैनन्। 

मानिसको ओहोर–दोहोर चलिरहेको छ र, सवारीसाधन पनि रोकिएका छैनन्। 

शुक्रबार सिल गरिएको काठमाडौं महानगरपालिका २४ इन्द्रचोकदेखि न्यूरोड चोकसम्मको बाटोमा पनि चहलपहल खासै कम भएको देखिएन।

सिल भएका टोलमा पैदल यात्रीदेखि सवारी साधनको आवतजावत पनि त्यत्तिकै चलिरहेका भेटियो। अझ कुनै कुनै ठाउँमा त फुटपाथमा समेत पसल राखिरहेका थिए। 

नगरपालिकाका कर्मचारी भने सिल भएका उक्त क्षेत्रमा औषधी छर्किरहेका थिए। 

औषधी छर्किएको मिनेट पनि नबित्दै डोको, नाङ्ला लिएर मानिस ‘पसल थाप्न’ आइपुगे। 

वडावासी कृष्ण रौनियारलाई वडा सिल भएकै थाहा थिएन। 

वडा कार्यालयका कर्मचारीहरूले भनेपछि मात्रै उनले आफ्नो पसल बन्द गरेका थिए। 

‘तर, अरु पसल त फेरि खुलिरहेका छन् त। बुझ्नै गाह्रो। नियम पनि कस्तो बनाएको’ उनले गुनासो गरे। 

बिहीबारदेखि ‘सिल’ भएको कलंकी क्षेत्रमा मानिसको घुइँचो उत्तिकै थियो। पसलहरू जम्मै खुला थिए। बन्द गरिएका केही पसलका सटरमा भने सेवाग्राहीका लागि मोबाइल नम्बर लेखेर टाँसिएका थिए। 

काठमाडौं महानगरपालिका १४ की अध्यक्ष शोभा सापकोटाले कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरूमा कोरोना संक्रमण देखिएपछि वडा सिल गरेको बताइन्। उनले कुलेश्वर, बल्खु, कालीमाटी, सुनारगाउँ र लाम्पाटीमा क्षेत्र सिल भएको बताइन्। 

सिल गरेपछि बिहान ५ देखि ९ बजेमात्र खाद्यान्नको पसल खोल्न दिएको सापकोटाले बताइन्।
तर, पसलहरू खुल्लै थिए। मानिस सडकमै हिँडिरहेका थिए। 

‘अब हामी कसले पसल खोलेको छ कि छैन भनेर चहारेर हिँड्न त सकिँदैन। हामीले अनुरोध गरेकै हो। अत्याश्यकबाहेक घरबाहिर ननिस्कनुस् भनेकै हो,’ उनले भनिन्, ‘अब डरै नभएकाहरूलाई के भन्ने? कि पुलिस, आर्मी लगाउनुपर्यो।’

साथै काठमाडौं महानगरपालिका २२ का अध्यक्ष चिनीकाजी महर्जनले आफ्नो वडामा ११ जनासम्म कोरोना संक्रमित भइसकेपछि अरु संक्रमित नबढोस् भनेर पसलहरू बन्द गराइएको बताए।

व्यापारीहरूको सहमतिमा नै पसलहरू बन्द गरेको उनको भनाइ छ।


Leave a Reply

Your email address will not be published.