कर्णालीमा बर्सेनि सयौं घर र ज्यान पहिरोमा बगाउँछ
गए राति कालिकोटको महाबै गाउँपालिका-३ नख्खुमा एकै परिवारका चारजना गरी ६ जनाको मृत्यु भयो।
घरमाथिबाट पहिरो खस्दा वडासदस्य रजबहादुर विष्ट, दुई छोरा, दुई छोरी र उनका दाजु डिलबहादुर बिष्टका दुई छोरीसहित ६ जनाको मृत्यु भएको हो।
कर्णालीमा बर्सेनि सयौं घर बाढीपहिरोमा बग्ने गर्छन् भने दर्जनौंको ज्यान जान्छ।
आर्थिक वर्ष २०७४/०७५ मा कर्णालीमा ७ सय ९ घर विपद्का कारण क्षति भयो। यसका साथै २०७५/०७६ मा ८ सय ७० र २०७६/०७७ मा ८ सय ६२ घर विपदमाा परी क्षति भएको विवरण छ।
तीन वर्षको अवधिमा कर्णालीमा १ सय ३४ जनाले विपदका कारण ज्यान गुमाएका छन् भने २ सय १६ जना घाइते भएका छन्। आर्थिक वर्ष २०७४/०७५ मा ३७ जना, २०७५/०७६ मा ५६ जना र २०७६÷०७७ मा ४१ जना मानिसको विपदका कारण ज्यान गएको छ।
यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा ८१ जना, २०७५/०७६ मा ४९ जना र २०७६/०७७ मा ८६ जना मानिस विपदमा परेर घाइते भएका छन्।
कर्णाली प्रदेश प्रहरीको तथ्यांकअनुसार तीन वर्षको अवधिमा २ अर्ब ८३ करोड १७ लाख १४ हजार ९ सय ३७ रुपैयाँबराबरको जनधन क्षति भएको प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी गराए।