एफएनसिसिआईले आफ्ना सदस्यलाई भन्यो- ‘महामारीमा सरकारकै भर नपरी उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखौं’

एफएनसिसिआईले आफ्ना सदस्यलाई भन्यो- ‘महामारीमा सरकारकै भर नपरी उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखौं’

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) ले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तीनवटै तहका सरकारले चालेका कमदममा सहयोग गर्न आफ्ना सदस्यहरूलाई अपील गरेको छ।

महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी ‘महामारीको समयमा सरकारको मात्र भर नपरी हामी सबैका तर्फबाट पनि उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखी काम गर्नैपर्छ’ भनिएको छ।

महासंघले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चालेका कार्यक्रम, योजना, घोषणालाई सफल कार्यान्वयनमा लैजान सक्दो सहयोग गर्नुपर्ने टड्कारो आवश्यकता रहेको औंल्याएको छ।

‘महामारीको संवेदनशील घडीमा सबैभन्दा पहिलो प्राथमिकता स्वास्थ्य सुरक्षा नै भएको कुरामा दुईमत छैन। जनताको स्वास्थ्य सुरक्षाका लागि कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू यतिखेर निरन्तर क्रियाशिल रहेका छन्,’ महासंघले भनेको छ, ‘महामारीको यो समयमा सरकारको मात्र भर नपरी हामी सबैका तर्फबाट पनि हाम्रो उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखी काम गर्नैपर्छ।’

अहिलेको अति नै संवेदनशील अवस्थामा सरकारको मात्र भर नपरी आ-आफ्ना तर्फबाट सक्दो सहयोग गर्न महासंघले आग्रह गरेको छ। 

कोरोनाका कारण नेपाल पनि पछिल्लो पटक निकै प्रभावित बन्दै गएको छ। कोरोना संक्रमितहरूको संख्या दिनानुदिन बढ्दै गएको छ भने मृत्यदर पनि बढेका छ। 

‘एकाध जिल्लालाई छोडेर सबै जिल्लामा यसको संक्रमण तेज गतिमा बढी रहेको छ। खासगरी काठमाडौं उपत्यका, तराईका मोरङ, पर्सा बाँके, धनुषा, स्याङजा लगायतका धेरैवटा जिल्ला र नगरहरू अहिले यसको उच्च जोखिममा छन् भने अन्य जिल्ला पनि आक्रान्त हुँदैछन्,’ महासंघले भनेको छ, ‘यसले मुलुकवासीको स्वास्थ्य सुरक्षा निकै पेचिलो बन्दै गएको छ भने अर्कोतिर हाम्रो अर्थतन्त्रमा पनि यसले गम्भीर धक्का लागेको छ।’ 


Leave a Reply

Your email address will not be published.