भजनीका एक हजार बाढीपीडितले जंगलमा टहरा बनाए, बाढीको १६ दिनपछि मुख्यमन्त्रीको अवलोकन

भजनीका एक हजार बाढीपीडितले जंगलमा टहरा बनाए, बाढीको १६ दिनपछि मुख्यमन्त्रीको अवलोकन

साउन १४ गतेको बाढीका कारण विस्थापित कैलालीको भजनी नगरपालिका क्षेत्रका एक हजारभन्दा बढी परिवारले सामुदायिक वनमा टहरा बनाएका छन्।

भजनी वडा नम्बर ३, ५, ८ र ९ का का बासिन्दाले महुन्याल सामुदायिक वन उपभोक्ता समूह र  वडा नम्बर ४ गौनहियामा रहेको वनदेवी सामुदायिक वन क्षेत्रमा १ हजार १ सय ५० टहरा निर्माण गरेका हुन्। वन क्षेत्रमा स्थायी बसोबास गर्न पाउनुपर्ने माग आफूहरूको रहेको भानुभक्त बुढाले बताए।

वर्षेनि आउने बाढीका कारण असुरक्षित बनेपछि त्रिपाल टागेर बस्न सुरु गरिएको भजनी-३ का दीपक जोशीले बताए। ‘कि सरकारले हामीलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था गर्नुपर्दछ, हैन भने हामी वनको क्षत्रमै वासस्थान बनाउछौं,’ उनले भने। 

भजनी वडा नम्बर-५ का  बुढाले भने, ‘वर्षौदेखि सुरक्षित वासस्थानका लागि पहल गरिदिन भन्दा कसैले सुनेन। अब हामी आफ्नो व्यवस्था आफै गछौं।’ 

साउन १४को बाढीले अझै पनि कयौं घर डुबाना रहेको भजनी ५ लालबोझीकी अस्मिता चौधले बताइन्। ‘कान्द्रा नदीले जमिन कटान गर्दै जाँदा पुरानो घरमा बस्ने वातावरण नै छैन,’ उनले भनिन्, ‘जंगलमा टहरा निर्माण गरी बस्न सुरु गरेका हौं ।’

बाढीको १६ दिनपछि भजनी पुगे मुख्यमन्त्री 
बाढीबाट प्रभावित बनेको भजनीमा १६ दिनपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अवलोकन गरेका छन्।

साउन १४ गते भजनीमा बाढी आउँदा तीनजनाको मृत्यु हुनका साथै २ हजार ५ सय बढी परिवार विस्थापित भएका थिए। हालसम्म प्रभावित क्षत्रका बारेमा चासो नदेखाएको आरोप लागेपछि मुख्यमन्त्री भट्टले शुक्रबार बाढीबाट प्रभावित भजनी नगरपालिका वडा नम्बर-३, ५ र ८ को अवलोकन गरेका हुन्।

अवलोकनमा मुख्यमन्त्री सँगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनस्ता चौधरी, प्रदेशसभा सदस्य वीरमान चौधरी पनि थिए।
 
 


Leave a Reply

Your email address will not be published.