स्कुल खोल्दा बच्चालाई जोखिम कति?

स्कुल खोल्दा बच्चालाई जोखिम कति?

विश्वका आधाभन्दा धेरै देशका करोडौं बालबालिका अहिले विद्यालय जान पाएका छैनन्।

कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा लामो समय बन्द भएका क्षेत्रमध्ये विद्यालय पनि हो। 

विद्यालय खोल्ने कि नखोल्ने? भन्ने बहसमा सबैभन्दा धेरै उठ्ने विषय भनेकै बालबालिकालाई हुने खतरा हो।
कोरोना भाइरसको खतरा बालबालिकालाई कति? 

यद्यपि कोरोना भाइरसको संक्रमणबाट बालबालिका बिरामी पर्ने सम्भावना थोरैमात्रै हुने अनुसन्धानहरुले देखाएका छन्। 
अहिलेसम्म संक्रमणका कारण बृद्ध अवस्थाका र दीर्घरोगीले ज्यान गुमाइरहेका छन्।

भारतका बाल रोग विशेषज्ञ डा.रवि मलिकले केही  बालबालिकाको कोरोना भाइरसका कारण ज्यान गएको भएपनि बढी असर नपर्ने बताएका छन्।

‘बालबालिकामा अरुजस्तो कोरोना भाइरसको जोखिम हुँदैन, बालबालिका यस मामलामा प्रोटेक्टिभ देखिएका छन्। अरुको तुलनामा संक्रमणको जोखिम कम भएपनि पूर्ण रुपमा सुरक्षित भने छैनन्’ उनी भन्छन्।

उनका अनुसार कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका १८ वर्षमुनीका बालबालिका दुई प्रतिशत रहेका छन्। 

उनी अहिले नै स्कुल खोल्न नहुने बताउँछन्। 

स्कुल खुलेपनि अभिभावकले नै बालबालिबालाई स्कुल पठाउने  पक्षमा नरहेको उनको भनाई छ।

स्कुल खोल्ने नखोल्ने सन्दर्भमा भारतमा गरिएको एक सर्वेक्षणमा ५८ प्रतिशत अभिभावकले स्कुल बन्द नै रहनुपर्ने बताएका छन्।

सर्वेक्षणमा स्कुल बन्द राख्नुपर्ने कारणबारे पनि प्रश्न सोधिएको थियो। 

जसमा करिब ४७ प्रतिशत अभिभावकले आफ्ना सन्तानलाई जोखिममा नपार्ने र घरका बुढापाका सदस्यालाई जोखिममा पार्न नचाहेको बताए।

स्कुल खुले सामाजिक दुरी कायम गर्न समस्या भई पालना गर्न नसकिने हुँदा कोरोना भाइरसको संक्रमण फैलिने खतरा बढी हुने अभिभावकको बुझाई छ।

स्कुलमा भीडभाड हुन्छ। 

शिक्षकले जति नै निगरानी गरेपनि मास्क लगाउनु, सामाजिक दुरी कायम गराउनु, एक आपसमा खेल्न नदिनु असम्भवजस्तै रहेको अभिभावकले सर्वेक्षणमा गुनासो गरेका छन्।

स्कुल बन्द भएको लामो समय भइसक्दा बेलायतमा पनि स्कुल खोल्ने बारे छलफल भइरहेको छ।

बेलायतको एक्सेटर विश्वविद्यालयका बालरोग विशेषज्ञ अदिलिया वारिस बालबालिकामा कोरोनाको जोखिम कम हुने र विश्वभर बालबालिकामा कम संक्रमण रहेको पुष्टि भएको बताउँछिन्।

विश्वका अधिकांश देशमा बालबालिकामा संक्रमणको जोखिम न्युन देखिएको र देखिएपनि अत्यधिक कम रहेको र केहि दिन भेन्टिलेटरमा राखेपछि निको भएको तथ्यांक छ।

बालबालिकामा जोखिम कम हुनुमा रोग प्रतिरोधात्मक क्षमता रहेको विश्लेषण गरिएको छ। 

वैज्ञानिकहरु यसबारे अध्ययन अनुसन्धान गरिरहेका छन्।

बच्चाबाट कोरोना भाइरस सर्छ?

बालबालिकाबाट कोरोना भाइरसको संक्रमण सर्ने नसर्नेबारे कुनै तथ्य फेला परेको छैन्।

कोरोना भाइरसको थोरै लक्षण देखिएका तथा लक्षण नदेखिएका व्यक्तिले कति मात्रामा कोरोना फैलाउन सक्छन् भन्ने बारे एकीन हुन सकेको छैन्।

बेलायतको साइन्टिफिक एड्भाइजरी ग्रुप फर इर्मेजेन्सि(सेज) ले बालबालिकाको माध्यमबाट कम मात्रामा भाइरस सर्ने बारे सिमित मात्रै प्रमाणहरु भेटिएको बताएको छ। 

तर, अन्य भन्दा बालबालिकाबाट संक्रमण सर्ने सम्भावना भने कम हुनसक्ने देखाएको छ।

तर, हालसालै चिनको सेनजेनमा गरिएको एक सर्वेक्षणले बालबालिकालाई पनि कोरोना भाइरसको संक्रमण हुनसक्ने जोखिम आम सर्वसाधारण जत्तिकै रहेको देखाएको छ।

विना कुनै लक्षणका बालबालिकाले पनि अरुमा संक्रमण फैलाउनसक्ने यस अध्ययनले देखाएको छ।

चिनमा गरिएका त्यसपछिका अध्ययन अनुसन्धानले पनि बालबालिकामा संक्रमणको जोखिम कम हुने देखाएको छ।

लामो समयसम्म स्कुल बन्द रहनुले बालबालिकाको सिकाइमा असर पर्नुका साथै मानसिक विकासमा समस्या ल्याउने चिन्ता व्यक्त गरिएको छ। 

विश्व स्वास्थ्य संगठनका वैज्ञानिक सौम्या स्वामिनाथले औषधी पत्ता नलागुन्जेलसम्म परीक्षणको दायरा बढाउने र संक्रमितलाई छुट्टै व्यवस्थापन गरी स्कुल खोल्नुलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।

‘स्कुल परिसर पूर्ण रुपमा स्यानिटाइजर डिसइन्फिेक्सन गरी सामाजिक दुरी कायम गरिनुपर्छ, पूर्णरुपमा सावधानी नअपनाई स्कुल खोलियो भने अवस्था झन खराब बन्नसक्छ’ उनले भनेकी छन्।

बिबिसीबाट


Leave a Reply

Your email address will not be published.