‘कमिसन नभएर भेन्टिलेटरसम्म नकिन्ने प्रदेश २ मा प्रतिपक्षको पनि भूमिका शून्य भयो’

‘कमिसन नभएर भेन्टिलेटरसम्म नकिन्ने प्रदेश २ मा प्रतिपक्षको पनि भूमिका शून्य भयो’

संघीय सरकारले अधिकार प्रत्यायोजन नगर्दा काम गर्न नसकेको प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरूले पटक–पटक आरोप लगाउने गरेका छन्। कोभिड–१९ नियन्त्रण र रोकथाममा समेत संघीय सरकारले समन्वय नगरेको आरोप लाग्दै आइरहेको छ। संघीय सरकार प्रदेश २ सरकारप्रति रुष्ट हुनुका कारण र प्रदेश सरकारले गरेका कामबारे नेकपाका युवा नेता सन्जीव झासँगको आयोमेलका लागि धैर्यकान्त दत्तले गरेको कुराकानीः

प्रदेश २ कोरोना महामारीको हटस्पट बनेको छ। कोरोना नियन्त्रण र रोकथामलाई प्रदेश सरकारले खेलेको भूमिकालाई कसरी हेर्नुभएको छ?

कोभिड–१९ मा प्रदेश सरकार पूर्ण रूपले असफल भइसकेको छ। जुन मधेसी जनताको नाम लिएर उहाँहरू सरकारमा पुग्नुभएको छ, त्यही मधेसी जनताको ज्यान र धनसँग खेलिरहनुभएको छ। जुन प्रकारले केन्द्रले आर्थिक स्रोत साधन उपलब्ध गराएको थियो, त्यो सरकारमा रहेकाहरू सबैजनाले गोजी भर्नमात्र प्रयोग गरेका छन्। 

अहिलेको महामारीमा आइसोलेसन, कोभिड अस्पताल, भेन्टिलेटर र आइसियूको व्यवस्थापन गर्नुपर्दथ्यो प्रदेश सरकारले नालायकीपन देखाएको छ। सरकार भनेको जनताको अभिभावक हुनुपर्छ तर प्रदेश सरकार कहींकतैबाट जनताप्रति जवाफदेही देखिएन। 

प्रदेश सरकार यहाँका नागरिकहरूको अभिभावक हो। तर, उसले अभिभावकत्व ग्रहण गर्न असफल भएको छ। प्रदेश सरकार कुतत्वको अभिभावक बनेको छ। सरकारको यस्तै रवैया रहने हो भने नभएकै वेस होला जस्तो मलाई लागेको छ।

तपाईं प्रदेश सरकारलाई असफल भएको भन्नुहुन्छ। तर, तपाईंकै पार्टीको नेतृत्वमा रहेको संघीय सरकारले काम गर्न नदिएको आरोप लागिरहेको छ नि?

यो झारो टार्ने कुरामात्र हो। विद्यार्थीले परीक्षा दिँदा नपढेको आएर बिग्रिएको बहाना बनाउने गर्दछन्। ठीक यस्तै तरिकाले प्रदेश सरकार बहाना बनाइरहेको छ। गर्नुपर्ने काम पनि गर्न नसक्ने अनि आरोप संघीय सरकारमाथि थुपारेर उम्कन खोजेको छ प्रदेश सरकार। झुटो बहाना बनाएर प्रदेश २ सरकारले आमनागरिकको आँखामा झटारो हान्ने काम गरिरहेको छ। 

कोभिड–१९ कै कुरा गरौं। क्वारेन्टाइन, आइसोलेसन बनाउन संघीय सरकारले रोकेको हो? भेन्टिलेटर किन्न र आइसियू बनाउन संघीय सरकारले रोकेको हो त? आफू गर्न नसक्ने अनि अरुलाई दोष लगाउने। भ्रष्टाचारमा चुर्लुम्म डुबेकाले प्रदेश २ सरकारले केही गर्न सकेको छैन। आज सातवटै प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार गर्ने प्रदेश २ सरकार नै हो। 

निकायको कुरा छोडिदिनुस् आमजनताले भन्न थाले प्रदेश सरकारको भ्रष्टाचारबारे। संघीय सरकारले भेन्टिलेटर किन्न, आइसियू बनाउन, कोभिड अस्पताल बनाउन कसले, कहाँ रोक्यो, प्रदेश सरकारले देखाइ दिनुप-यो। कमिसनको चक्करमा फसेको प्रदेश सरकार आमनागरिकको जीवनसँग खेलवाड गरिरहेको छ। कमिसनको कुरा नमिलेपछि भेन्टिलेटर खरिद गर्न छुट्याइएको पैसासमेत फ्रिज गराइसकेको छ। सरकारको गैरजिम्मेवारीपन हेरेर मेरो प्रदेशको सरकार हो भन्न पनि लाज लाग्न थालेको छ।

कर्णालीले कोरोना फैलिनुअघि आफ्नो पैसा खर्च गरेर पिसिआर, भेन्टिलेटरलगायतका उपकरण खरिद गरिसकेको थियो। तर, यहाँ पैसा र भौतिक पूर्वाधार हुँदासमेत प्रदेश सरकारले कमिसनको खेलमा पैसा फ्रिज गराएर आमनागरिकलाई अहिले जोखिममा पार्ने काम गरेको छ। 

भ्रष्टाचार र कमिसनमा डुबेको यो सरकारले कोरोना रोकथाम र न्यूनीकरण गर्नेतर्फ थोरै पनि ध्यान दिएको छैन। 

छोटकरीमा भन्ने हो यहाँका नागरिकले प्रदेश सरकार पनि रहेछ भन्ने अनुभूति नै गर्न पाएका छैनन्। आफ्नो स्वार्थ पूरा गर्न प्रदेशका जनताको जनधनसँग खेल्ने सरकार भएको छ, प्रदेश २ सरकार।

प्रदेशका मुख्यमन्त्रीसहितका टोलीले केही दिनअघिमात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोरोना रोकथाम र न्यूनीकरणमा सहयोग गर्न आग्रह गरेको थियो। प्रधानमन्त्रीले के कस्तो आवश्वासन दिनुभएको रहेछ?

केही दिनअघिमात्रै आर्थिक वर्ष सकिएको छ। र, जनस्तरबाट प्रदेश सरकारको चौतर्फी आलोचना भइरहेको छ। कतिपय सत्तापक्षका प्रदेश सांसदहरू नै सरकारको विरोधमा उत्रिएको छ। सरकार परिवर्तन हुनुपर्ने सत्तापक्षकै सांसदबाट आवाज उठ्न थालेको छ। 

जसकारण जसपाको मुख्य नेतृत्वमाथि प्रदेश सरकारमा परिवर्तन गर्नुपर्ने दबाब बढिरहेको छ। उहाँहरू मुख्यमन्त्री र मन्त्रिपरिषद् नवीकरण गराउनमात्र काठमाडौं पुग्नुभएको थियो। नवीकरणको दस्तुर बुझाउन सुटकेस बोकेर उहाँहरू आफ्नो कामका लागि काठमाडौं जानुभएको थियो।

प्रदेशमा कोरोनाका कारण त्राहिमामको अवस्था रहेका बेला पूरा सरकार नै काठमाडौं पुगेको हो। अझै कतिपय मन्त्रीहरू काठमाडौंमै हुनुहुन्छ।

सुटकेस बोकेर ज–जसको कोटाबाट मन्त्री बनेका छन् उहाँहरूलाई नवीकरण दस्तुर बुझाउन काठमाडौं पुग्नुभएको थियो। काठमाडौं गएकै बेला प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई भेटेर कुरा राखिहालौं भन्ने सोचमात्र थियो। प्रधानमन्त्रीले पहिले पनि काम गर्नुस् केहीको कमी हुन नदिने भन्नुभएकै हो।

महामारीविरुद्ध लड्नुस् संघीय सरकार हरेक खाले सहयोग गर्न तयार रहेको प्रधामन्त्रीले भनिसक्नुभएको छ। केन्द्र सरकारले पैसा पनि पठाएकै हो तर खरिद गर्ने जिम्मेवारी त प्रदेश सरकारको हो।

पछिल्लो भेटमा पनि प्रधानमन्त्रीले प्रदेश २ प्रति चिन्ता व्यक्त गर्दै ढुक्क भएर काम गर्न आश्वासन दिनुभएको छ। संघीय सरकार सबै सहयोग गर्न तयार रहेको उहाँले भन्नुभएको छ। तर, यहाँ समस्या अर्कै रहेछ। संघीय सरकारबाट आएको बजेट भागबण्डा गर्नेतर्फ लागेकाले यहाँ कोरोना अनियन्त्रित हुँदै गइरहेको छ। आफू केही गर्न नसकेपछि अन्त्यमा फेरि संघीय सरकारमाथि सबै दोष थोपर्ने काममात्र हुन्छ।

थोरै प्रसंग फेरौं, कोभिडलाई छाडिदिने हो भने प्रदेश सरकार कार्यान्वयनमा आएको झन्डै तीन वर्ष पुग्न लागेको छ। यस अवधिमा प्रदेश सरकारले विकास निर्माणको के कस्तो काम गरेजस्तो लागेको छ?

कोरोना महामारीभन्दा केही दिनअघि पार्टी कामको सिलसिलामा प्रदेश २ को आठवटै जिल्ला पुग्ने मौका पाएको थिएँ। मैले विकास भएको कहींकतै भेटिनँ। तपाईंहरूले विकास भएको भेट्नुभएको छ भने मलाई भन्नुहोला। जनकपुरमा भएको फराकिलो सडक सबै एडिबिको प्रोजेक्ट थियो। त्यसबाहेक अरु केही भएजस्तो लागेको छैन। 

बरु जनकपुरमा भएको फराकिला सडकलाई नै संरक्षण गर्न सकिरहेको छैन। ८७ करोड रुपैयाँ गैरकानुनी ढंगले निकासा गरेर बाँडफाँट गरेको काम पनि कागजमा मात्र भएको थियो। अहिले पनि मन्त्रीको निर्वाचन क्षेत्रमा आसेपासे र कार्यकर्तालाई बजेट वितरण गर्ने काम भइरहेको छ। मानिस बोलाएर ५० प्रतिशतसम्मको कमिसनमा सरकारले बजेट दुरुपयोग गरिरहेको छ। 

विकासको नाममा शून्य काम भएको छ, प्रदेशमा। पहिले काठमाडौंले भेदभाव गरेर विकास हुन नदिएको आरोप लगाउने काम हुन्थ्यो। अहिले आफ्नै पूर्ण बहुमतको सरकार हुँदासमेत उहाँहरूले कुनै विकास निर्माणको काम गर्न सक्नुभएको छैन। पैसा, स्रोत र साधन हुँदा समेत विकास गर्न सकेको छैन यहाँको सरकारले। शिक्षा र स्वास्थ्यको स्तर झनै खस्किँदै गएको छ। अधिकांश योजना कागजमै सीमित छ।

त्यसो भए विकासका लागि सरकार परिवर्तन हुनुपर्छ भन्ने लागेको छ तपाईंलाई?

जनताले भावना र जातपातभन्दा माथि उठेर निर्णय गर्न सक्यो भने प्रदेशको विकास सम्भव छ। जात पनि चाहिने र विकास पनि यो कदापि सम्भव छैन। यहाँका जनता जातपातभन्दा माथि उठ्नैपर्छ। सक्षम व्यक्ति नेतृत्वमा आउनुपर्छ। र, सक्षम व्यक्तिलाई नेतृत्वसम्म पु¥याउने अभिभारा जनताले निर्वाह गर्नुपर्दछ। जहाँसम्म नेकपाको कुरा गर्ने हो, अन्य सरकारभन्दा यसले राम्रो काम गरेको छ। 

म दाबीका साथ भन्न सक्छु। तत्कालीन एमालेले ल्याएको आर्थिक नीतिलाई लिनुस् सबै सफल भएका छन्। भोलि प्रदेश २ मा नेकपाको सरकार आए विकासले गति लिने मलाई विश्वास छ।

सरकार लापरबाह हो भने प्रदेशको प्रमुख प्रतिपक्षी दलमा बसेर तपाईंहरूले के भूमिका खेल्नुभएको छ?

प्रमुख प्रतिपक्षी दलले खेल्नुपर्ने भूमिका निर्वाह गर्न नसकेकोप्रति म स्वयं सहमत छु। गैरजिम्मेवारपूर्ण तरिकाले सरकार अघि बढिरहेको बेला प्रमुख प्रतिपक्षी दलको हैसियतले सचेत गराउने काम हुनुपर्दथ्यो। तर त्यो हुनसकेको छैन। किन भइरहेको छैन मलाई आफैंलाई आश्चर्य लागेको छ। प्रदेशमा प्रतिपक्षी दलको भूमिका शून्य रहेको कुरा म पार्टीको सम्बन्धित ठाउँसम्म पु-याउने छु।

प्रतिपक्ष भन्ने कुरा प्रदेश २ मा हेरिएको छैन। अहिले कोभिडकै बेला पनि कमीकमजोरी र त्रुटिबारे प्रतिपक्षी दलले सरकारलाई घच्घचाउने काम गर्नुपर्दथ्यो। तर, भएको जस्तो लागेको छैन। विकास निर्माणको कुरामा पनि प्रतिपक्षले बोलेको सुनिएको छैन। एक हिसाबले प्रदेश २ प्रतिपक्षविहीन भइसकेको छ।

मेरो पार्टीको होस् वा नेपाली कांग्रेस। दुवैले प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सकेको छैन। खेद नै प्रकट गर्नुपर्ने भएको छ। वरिष्ठ नेताहरू प्रतिपक्षमा हुनुहुन्छ। तर, उहाँहरूले सरकारलाई प्रश्न गरेको कहिल्यै सुनिएन। सरकारसँग साँठगाँठ गरेको हो कि लड्न नसकेको हो, मूल्यांकन गर्ने बेला आएको छ। भोलि चुनावमा जाँदा प्रतिपक्षमा बसेर हामीले के ग-यौं जनताले प्रश्न गर्दा जवाफ दिनुपर्ने हुन्छ। सत्तापक्षले मात्र होइन, जनतालाई प्रतिपक्षले पनि जवाफ दिनुपर्दछ।


Leave a Reply

Your email address will not be published.