रित्तिए चामलका डिपो, ठेक्का नहुँदा उपभोक्ता मारमा 

रित्तिए चामलका डिपो, ठेक्का नहुँदा उपभोक्ता मारमा 

समयमा नै ठेक्का प्रक्रिया नहुँदा मुगुमा चामल अभाव हुन थालेको छ। 

सर्वसाधारणले गत साउन २८ गतेबाट खाद्य संस्थानको चामल किन्न पाएका छैनन्। संस्थानले एक सूचना जारी गर्दै चामल बिक्री गरेपछि उपभोक्ताले अभाव झेल्नुपरेको हो। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुका कार्यालय प्रमुख कर्णबहादुर रावलका अनुसार सोना मन्सुली, मध्य जापानिज, अरुवा मोटो, जिरा मन्सुलीलगायत ब्रान्डका चामल बिक्री गर्दै आए पनि यतिखेर अभाव भएको हो।

आर्थिक वर्ष २०७७/७८ को चामल ढुवानीको ठेक्का प्रक्रिया भइरहेको र गत वर्षको चामल सकिसकेकाले समस्या भएको उनले बताए। साथै चामल ढुवानीका लागि समन्वय भइरहेको उनको भनाइ छ। 

मौज्दात चामल सकिएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडअन्तर्गत सबै डिपोहरू रित्तो छन्। अब शाखा कार्यालय गमगढीमा रहेको गोदाममा मात्रै ५ सय ५० क्विन्टल चामल बचत छ।

प्राकृतिक प्रकोपलगायत भैपरी आउने अत्यावश्यक कार्यमा मात्र उक्त चामल वितरण गर्ने तयारी छ।

मुगुमा गत आर्थिक वर्षको स्वीकृत कोटाअनुसार गमगढी बजारका लागि १० हजार क्विन्टल, पुलुका लागि एक हजार दुई सय क्विन्टल, सोरुकोटमा दुई हजार दुई सय क्विन्टल, खत्याडको रातापानीमा दुई हजार क्विन्टल र कालै डिपो केन्द्रमा भारमा एक हजार दुई सय ९९ क्विान्टलमध्ये एक सय ७१ क्विन्टल मात्र चामल ढुवानी हुँदा उपभोक्ताको माग पूर्ति भएको छैन। 

यस्तै सदरमुकाम गमगढी बजारमा पनि दैनिक उपभोग्य सामान दाल, चामल, तेल, मैदा, सुजी, आँटालगायतका खाद्य सामग्री अभाव हुन थालेको छ।
नाग्म गगगढी सडक खण्डका दर्जनौं ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तु ढुवानी गर्न नसकिएको कामना स्टोरका व्यवसायी बाँचुकला रावतले बताइन्।


Leave a Reply

Your email address will not be published.