बाँकेबाट ४५ महिला कैदीबन्दीलाई लगियो बर्दिया र दैलेख 

बाँकेबाट ४५ महिला कैदीबन्दीलाई लगियो बर्दिया र दैलेख 

कारागारमा भीडभाड कम गर्न क्षमताभन्दा बढी कैदीबन्दी रहेको बाँके कारागारबाट ४५ जना महिला कैदीबन्दीलाई बर्दिया र दैलेख स्थानान्तरण गरिएको छ। 

एक जना आश्रित बालिकासहित ३० जनालाई दैलेख कारागारमा र एक जना आश्रित बालिकासहित १५ जना महिला कैदीबन्दीलाई बर्दिया कारागारमा स्थानान्तरण गरी पठाइएको जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए।

४५ जना महिला कैदीबन्दीलाई स्थानान्तरण गरिए पनि ३५० जनाको क्षमता भएको बाँके कारागारमा अझै ७ सय ७३ पुरुष कैदीबन्दी छन्। 

सबै महिला कैदीबन्दीलाई स्थानान्तरण गरिएपछि हाल बाँके कारागारमा एक जना पनि महिला कैदीबन्दी छैनन्। कारागारको रेकर्डमा एक महिला भए पनि उनी कोरोना संक्रमित भएका कारण आइसोलेसनमा छिन्।

मुद्दाको पुर्पक्ष र अदालतको फैसला पछि आएका महिला कैदीबन्दीलाई बर्दिया पठाउने योजना रहेको जेलर श्रेष्ठले बताए।

सार्वजनिक सरोकारका विषयमा आवाज उठाउँदै आएका बाँकेका आधा दर्जन बढी अधिवक्ताहरूले सबै कैदीबन्दीको पिसिआर परीक्षण र स्वास्थ्य सतर्कतालगायतका कैदीबन्दीको आधारभूत मानव अधिकारको संरक्षणको विषयमा उच्च अदालत नेपालगन्ज इजलासमा निवेदन दिएकोमा अदालतले अन्तरिम आदेश दिएको थियो।

अदालतको अन्तरिम आदेशपछि बाँके कारागारका पहिलो चरणमा २१ जना र पछि ५ जना कैदीबन्दीको कोरोना परीक्षण गराएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

त्यसमा ७ जना पुरुष कैदीबन्दी र एक महिला बन्दी संक्रमित देखिएकी थिइन्।

हाल बाँके कारागारमा रहेका ७ सय ७३ जना सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जेलेर देवेन्द्र श्रेष्ठले जानकारी दिए।
‘कुनै कैदीबन्दीलाई स्वास्थ्यको केही समस्या छैन। खजुराको कृषि तालिम केन्द्रमा बनाइएको आइसोलेसनमा रहेकी एक महिला कोरोना संक्रमित बन्दीकोे स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ,’ जेलर श्रेष्ठले भने।

बाँकेमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको र यसबाट कोरोना संक्रमणको त्रास रहेको बारे राखिएको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले यसबारेमा आफू संवेदनशील रहेको र उच्च सतर्कता अपनाइएको बताए।

अदालतको आदेशबमोजिम दुई चरणमा गरेर २६ जना कैदीबन्दीको पिसिआर परीक्षण गरी सकिएको प्रजिअले जानकारी दिए।
सबै कैदीबन्दीको पिसिआर परीक्षण गराउन स्रोतसाधन र सरकारी नीतिले अप्ठेरो परेको र अदालतको आदेश कार्यान्वयन गर्न आफू प्रयत्नशील रहेको कुरुम्वाङले बताए। 

कारागारको भिडभाड कम गर्न र कारागारमा नयाँ आएका कैदीबन्दी राख्न सहज होस् भनेर र महिला कैदीबन्दीलाई दैलेख र बर्दिया कारागारमा पठाइएको उनले बताए।
 


Leave a Reply

Your email address will not be published.