कांग्रेसले भन्यो- निषेधाज्ञामा प्रधानमन्त्रीका विवादास्पद अभिव्यक्ति पनि निषेध होस्

कांग्रेसले भन्यो- निषेधाज्ञामा प्रधानमन्त्रीका विवादास्पद अभिव्यक्ति पनि निषेध होस्

 

नेपाली कांग्रेसले कोरोना नियन्त्रणका लागि लकडाउन वा निषेधाज्ञामात्रै बिकल्प नभएको भन्दै सरकारलाई युद्धस्तरमा कोरोना निषेधको क्षमता बढाउन आग्रह गरेको छ। 

‘लक डाउन या निषेधाज्ञा आफैमा समाधान होइनन्, भन्ने पुष्टि हाम्रै निकट अतीतको एकसय बीस दिन लामो लक डाउनले गरिसकेकै छ। केवल रक्षात्मक रणनीति मात्रै हुन् लक डाउन र निषेधाज्ञा’ कांग्रेस प्रवक्त्ता विश्वप्रकाश शर्माले विज्ञप्ती निकालेर भनेका छन् ’कोरोना विरुद्धको संघर्षलाई चुस्त बनाउन यो स्थितिको उपयोग गर्ने अधिकतम क्षमता अब सरकारले प्रस्तुत गर्न सक्नुपरेको छ। नेपाली कांग्रेस आग्रह गर्दछ-विगतमा गरिएका कमजोरी र गल्तिहरुबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास हाल जारी निषेधाज्ञाको समयमा गरियोस्।’

त्यस्तै कांग्रेसले कोराना नियन्त्रणलाई प्राथमिकता दिनुपर्नेमा नेकपाले सत्ताको लागि द्वन्द्व गरेको भन्दै त्यस्ता गल्ती सुधार्न पनि भनेको छ। ‘चैत्र महिना देखि सवासय दिनसम्मको लक डाउनमा देशले कोरोना विरुद्धको संघर्ष भन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवं विवादास्पद अभिव्यक्तिहरु बढी सुन्यो, देख्यो र भोग्यो। निषेधाज्ञाको अबको चरणमा यी बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामर्थ्य देशले खोजेको छ’ विज्ञप्तीमा भनिएको छ। 

त्यस्तै फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, संचारकर्मीलगायतलाई उच्च सम्मान  गर्न र भौतिक सामग्री देखि मनोबैज्ञानिक सहजता सम्मको सम्पूर्ण सहजीकरणमा कुनै सम्झौता नगर्न पनि सरकारलाई कांग्रेसले अपिल गरेको छ। 

निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, बिद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपांगता भएका नागरिक आदिलाई हातमुख जोर्न संकट  हुनसक्ने भन्दै त्यसबारेमा सोच्न पनि कांग्रेसले आग्रह गरेको छ। 

नियमित जीवनमा ब्यवधान सहेर भएपनि कोरोनाविरुद्धको संघर्षलाई आम जनताले साथ दिइरहेको भन्दै संयम, सशक्त्त र एकताका लागि सरकार र समुदायलाई अपिल पनि कांग्रेसले गरेको छ। 

‘कोरोनाको बढ्दो संक्रमणका कारण देशको आधाभन्दा बढी भू–भागमा यतिबेला लक डाउन देखि निषेधाज्ञासम्म जारी छ। देशको राजधानी काठमाडौ उपत्यका निषेधाज्ञाका कारण एक ढंगले ठप्प स्थितिमा छ र यसले समग्र जन जीवनलाई कष्टकर बनाएको छ’  विज्ञप्तीमा भनिएको छ ‘नियमित जीवनमा ब्यवधान ब्यहोरेर जनताले कोरोना विरुद्धको संघर्षलाई साथ दिइरहेका छन्। ‘सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ’ भन्ने मान्यता पुनः दोहोर्‌याउँदै नेपाली कांग्रेस कोरोना विरुद्धको संघर्षमा संयम, सशक्तता र एकताका लागि सरकार र समुदायमा हार्दिक अपील गर्दछ।’


Leave a Reply

Your email address will not be published.