यसपालिको तीजमा कोरोना आयो, बाँचे अर्को साल नाचौंला 

यसपालिको तीजमा कोरोना आयो, बाँचे अर्को साल नाचौंला 

गाऔं स्वर खोलेर दिदी र बैनी
नाचौं न मिलेर नाम लिई सैनी
तीजको लहर आयो बरिलै…

महिना दिनअघि नै तीजको झल्को दिने यस्ता गीतहरू यो वर्ष मधुरो भए। 

अघिल्ला वर्षहरूमा गरगहनाले सजिसजाउ दिदीबहिनीहरू मरक–मरक कम्मर भाँच्दै नाचिरहेका हुन्थे।

उनीहरूलाई पुरुष मित्रहरूले पनि साथ दिइरहेका हुन्थे।

महिना दिनअघिबाट नै दर खाँदै रमाइलो गर्ने कार्यक्रम सुरु भइसकेको हुन्थ्यो।

विभिन्न स्थानमा तीज महोत्सवको आयोजना गरिन्थ्यो।

तर, यसपालि सुनसान छन् तीज कार्यक्रम हुने स्थानहरू। बन्द छन् बैक्वेट, पार्टी प्यालेस र रेष्टुराँहरू।

कहींकतै तीज महोत्सव हुन पाएनन् यसपालि।

तीज भन्नेबित्तिकै हुरुक्क हुने दिदीबहिनीका अनुहार मलिन छन्।

दिदीबहिनीहरू तीजमा रमाउन पाएका छैनन्। बस् घरभित्रै बस्न बाध्य छन्।

यो बाध्यता रहरको होइन, कहरले हो। जुन कुरालाई महिला दिदीबहिनीहरूले राम्रोसँग बुझेका छन्।

देशमा कोरोना संक्रमण भुसको आगोझै भित्रभित्रै सल्किँदो छ। 

अवस्था जटिल बन्दै गएपछि सरकारले थुप्रै ठाउँमा निषेधाज्ञा जारी गर्नुका साथै कतै लकडाउन घोषणा गरेको छ।
त्यसैले झनै सुनसान छन् बस्ती। 

हुन त यस्तो बेला के तीजको रौनकको कुरा गर्नु। मानिस बाहिरसम्म त निस्किन सकिरहेका छैनन्।

सुरक्षित रहौं, बाँचे अर्को साल रमाउँला

गायिका मन्जु पौडेल पनि ‘यसपालिको तीज यस्तै भयो, बाँच्दै गए नाँच्दै गरौंला’ भन्दै चित्त बुझाएर बसेकी छन्।

‘मन भए मात्रै मायाप्रीति हुन्छ। मन हुनका लागि पनि जीवन चाहिन्छ। जीवन हुनका लागि अप्ठ्यारोमा सावधानी अपनाउनु नै ठूलो कुरा हो,’ उनी भन्छिन्, ‘सबै दिदीबहिनीहरू घरभित्रै सुरक्षित बसौं। बाँच्दै गए नाँच्दै गरौंला।’

महामारी सधैं नरहने भएकाले जीवन बचे अर्को वर्ष पनि नाच्न पाइने उनको भनाइ छ।

अघिल्ला वर्षभन्दा नरमाइलो लागे पनि समयको नियतिसँग केही गर्न नसकिने उनको तर्क छ। 

‘समयको नियतिलाई झेल्नु नै पर्दोरहेछ,’ उनी भन्छिन्।

सुरक्षित भएर घरभित्र बस्नु सचेत नागरिकको दायित्व भएकाले सबैलाई सतर्कता अपनाउन उनले सुझाइन्।

उनले यसपालि ‘तीजैमा’ बोलको गीत बजारमा ल्याएकी छन्। ‘दिदीबहिनीहरूले घरमै बसेर रमाइलो गर्न सकुन् भन्ने उद्देश्यले गीत बजारमा ल्याएकी हुँ। जुन गीतको म्युजिक भिडियोमा पनि भौतिक दूरी कायम गरिएको छ,’ उनले भनिन्।

गायिका सरु गौतम पनि सबैलाई सावधानी अपनाएर तीज मनाउन सुझाउँछिन्। घर बाहिर जाने र मन्दिर गएर पूजा गर्न सकिने अवस्था नरहे पनि घरभित्रै बसेर घरमै पूजा गर्न उनको सुझाव छ।

अघिल्ला वर्षहरूमा यो सिजनमा विभिन्न मेला महोत्सवमा गएर दर्शकस्रोतासँग रमाइलो गरिएको भए पनि यसपालि त्यसो गर्न नसिकेकोमा भने उनी खिन्न छिन्।

‘सारा दुःख पीडा भुलेर महिला दिदीबहिनीहरू भोकभोकै पनि रमाइरहेका हुन्थे। तीजको उमंग नै फरक हुन्थ्यो,’ उनी भन्छिन्।

यस्तो छ तीजको पौराणिकता

तीज हिन्दु नारीको महान पर्व हो। पौराणिक कालदेखि नै आफ्नो पतिको दीर्घायुको कामना गर्दै महिलाले तीज मनाउने परम्परा छ।

पतिको दीर्घायुको कामना गर्दै भगवान् शिव तथा आध्यशक्तिकी देवी पार्वतीसँग प्रार्थना गर्दै यो पर्व मनाउँदै आएको पाइन्छ। 

तीजका दिन महिलाहरू बिहान सबेरै उठी नुहाइधुवाइ गरी दिनभर जललाई अन्नको रूपमा ग्रहण गरी ब्रत बस्ने चलन छ। त्यसैगरी साँझपख गाउँघरका महिलाहरू जम्मा भएर पूजाका सामान एवं मण्डप तयार गरी भगवान् शिवको आराधना गर्ने प्रचलन छ।

हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान्  विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर पार्वतीले शिवको तपस्या गर्न थालेको किंवदन्ती छ। 

तर, आफूले तपस्या गरेको वर्षदिन पूरा हुँदा पनि तपस्याको फल प्राप्त नभएपछि उनले शिवलिंगको स्थापना गरी पानीसमेत नपिई निराहार ब्रत बसेको शास्त्रमा उल्लेख छ।

यसरी पार्वती कठोर ब्रत बसेको कारणबाट प्रभावित भई भगवान् शिव प्रकट भएर तिमीले सोचेको पुगोस् भन्दै उनलाई वरदान दिएपछि पार्वतीको बिहे भएको धार्मिक मान्यता छ। पार्वतीको तपस्या पूरा भएको दिन भाद्र शुक्ल तृतीया रहेकाले त्यसैको आधारमा हिन्दु नारीहरूले एक विजयोत्सवका रूपमा यस पर्वलाई मनाउन थालेको किंवदन्ती छ।


Leave a Reply

Your email address will not be published.