टोल टोलमा कोरोना संक्रमित बढ्दैछन्, बूढानीलकण्ठलाई गेट बनाउने हतारो!

टोल टोलमा कोरोना संक्रमित बढ्दैछन्, बूढानीलकण्ठलाई गेट बनाउने हतारो!

उपत्यका काेरोना भाइरस संक्रमणको चपेटामा परिरहेकाे बेला बूढानीलकण्ठ नगरपालिकालाई नगर प्रवेशद्वारको डिजाइन निर्माणका लागि हतारो भएको छ।

कोरोना संक्रमणको महामारी चलिरहेका बेला जनताकाे स्वास्थ्य सेवाको सट्टा नगरपालिकाको प्रवेशद्वारको डिजाइनले महत्त्व पाएको छ। नगरले डिजाइनका लागि शुक्रबार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन आह्वानसमेत गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाकाे निवास रहेकाे बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाइरसको संक्रमण बढिरहेको छ। अहिलेसम्म १ सय ८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

यस्तो संक्रमण बढिरहेको विषम परिस्थितिमा स्वास्थ्य सेवालाई बलियो र प्रभावकारी बनाउनुको साटो नगरपालिका प्रवेशद्वारको डिजाइन मगाइरहेको छ।

त्यति मात्र होइन, नगरपालिकाले उत्कृष्ट कलात्माक डिजाइन पेस गर्ने कम्पनी तथा संघसंस्थालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुका साथै प्रवेशद्वारमा फर्म वा कम्पनीको नाम राख्ने आर्कषण देखाएको छ।

बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले नगरपालिकाले पहिल्यैदेखि निर्माण गर्ने भनेको प्रवेशद्वारको डिजाइन अहिलेसम्म बनि नसकेकाले विज्ञापनमार्फत् आह्वान गरेको बताए।

नगरपालिकालाई प्रवेशद्वार निर्माणको नक्सा बनाउन हतार भए पनि कोरोनाको परीक्षणको दायरा बढाउन भने सकेको छैन।
स्वास्थ्य सेवाको विस्तार जनस्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा किन डिजाइनमा लाग्नुभयो भन्दा खरेल नक्सा नै बनाउन नपाइने हो र भन्दै जङ्गिए।

‘डिजाइनका लागि सूचना प्रकाशित गरे पनि तत्काल बन्ने भन्ने छैन, के हामीले नक्सा तथा डिजाइन नै गर्न नपाउने हो र घरबाटै पनि डिजाइन निर्माण गरी पठाउन सक्छन्, यसमा आपत्ति जनाउनुपर्ने केही छैन,’ मेयर खरेलले भन।

नगरपालिकाले भाइरस परीक्षणको दायरा बढाउनु त परको कुरा संक्रमण पुष्टि भएका १ सय ८ जनामध्ये सबैको कन्ट्रयाक ट्रेसिङसमेत गर्न सकेको छैन।

नगरपालिकाले संक्रमितको कन्ट्रयाक ट्रेसिङ गरिरहेको र परीक्षण गर्न बाँकी रहेकाको परीक्षणका लागि पहल गरिरहेको दाबी गरेको छ।

नगरपालिकाको सीमा सुरु हुने स्थान बाँसबारी नजिकै नगर प्रवेशद्वारका लागि भन्दै भदौ ५ गते सूचना जारी गर्दै १५ दिनभित्र डिजाइन बुझाउन इच्छुक फर्म वा कम्पनीलाई आग्रह गरेको हो।


 


Leave a Reply

Your email address will not be published.