१० हजार भेन्टिलेटर र आइसियु थप्न संसदीय समितिको निर्देशन

१० हजार भेन्टिलेटर र आइसियु थप्न संसदीय समितिको निर्देशन

संसदको कानून, न्याय तथा मानव अधिकार समितिले कोरोना भाइरसका संक्रमितको उपचारका लागि थप १० हजार भेन्टिलेटर र आइसियुको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको शुक्रबारको भर्चुअल बैठकले कोरोना संक्रमितको उपचारका लागि कोरोना डेडिकेटेड अस्पतालको संख्या पनि तत्काल वृद्धि गर्न भनेको छ। कोरोना बाहेकका बिरामीको उपचार एउटै अस्पतालबाट गर्नुपर्ने अवस्थामा पूर्वसावधानी र उचित सतर्कताका साथ गर्ने  व्यवस्था मिलाउन पनि बैठकले निर्देशन दिएको छ।

समितिले कोरोनाका लागि आवश्यक पर्ने उपकरणको वितरण सातै प्रदेशमा बिरामीको चापका आधारमा सन्तुलित र समानुपातिकरुपमा गर्न तथा जनशक्ति आवश्यकताका आधारमा नियुक्त गर्न भनेको छ।

समितिका सभापति कृष्णभक्त पोखरेलका अध्यक्षतामा बसेको बैठकले ७७ जिल्ला सदरमुकामबाट पिसिआर परीक्षण गर्ने प्रबन्ध मिलाउन निर्देश गरेको छ।


Leave a Reply

Your email address will not be published.