प्रदेश २ का थप पाँच संक्रमितको मृत्यु, कूल मृतक संख्या ५६

प्रदेश २ का थप पाँच संक्रमितको मृत्यु, कूल मृतक संख्या ५६

प्रदेश २ मा थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ। एकजनाको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा र अर्का एकजनाको मत्युपछि संक्रमण पुष्टि भएको हो।

धनुषाको नगराइन नगरपालिका-३ फुलगामाका ५० वर्षीय पुरुषमा मृत्युपछि संक्रमण पुष्टि भएको हो। शुक्रबार आएको पिसिआर नतिजामा उनी संक्रमित रहेको पुष्टि भएको छ। उनको बिहीबार अन्तिम संस्कारसमेत भइसकेको बताइएउको छ।

मुटु, दम, उच्च रक्तचाप र मधुमेहका बिरामी रहेका उनको जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं लग्दै गर्दा बुधबार बाटोमा मृत्यु भएको थियो। 

मृत्यु भएको पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि नगराईन नगरपालिकाको फुलगामा ११ गतेसम्म सिल गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक रामगुलाम कर्णले जानकारी दिए। गाउँ सिल गरिएर कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलनको काम भइरहेको उनले बताए। 

उपचारको क्रममा उनीसँगै रहेका श्रीमतीसहित परिवारका सदस्य तथा मलामी गएका झन्डै दुई सयजनाको  कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन भइरहेको कर्णले जानकारी दिए।

यसैगरी कोरोना संक्रमणपछि पाटन अस्पतालमा उपचार गराइ रहेका सर्लाही मंलगवा बस्ने एक व्यवसायीको मृत्यु भएको छ। मलंगवा–३ बस्ने ४६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी पर्साको वीरगंजका ४८ र ७४ वर्षीय दुई पुरुष र बारा कलैया–१० का ५९ वर्षीय एकजना पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यससँगै प्रदेश २ मा कोरोना संक्रमित ५६ जनाको मृत्यु भएको छ। धनुषामा १०, महोत्तरीमा २, सिरहामा २, सप्तरीमा ४, सर्लाही २, रौतहटमा ३, बारामा ७ र पर्सामा २६ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published.