कांग्रेसको प्रश्न- खाडीका नेपाली शत्रु हुन् प्रधानमन्त्रीज्यू ?

कांग्रेसको प्रश्न- खाडीका नेपाली शत्रु हुन् प्रधानमन्त्रीज्यू ?

सरकारले कोरोना भाइरसको असर कम रहेका मुलुकमा नियमित उडान भर्ने निर्णय गरेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। 

मन्त्रिपरिषद बैठकले भदौ १६ गतेबाट उडान भर्ने निर्णय पनि खाडीका जनताको भावनामा ठेस पुग्ने गरी निर्णय गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।

'खाडीका श्रमिक शत्रु हुन् प्रधानमन्त्रीज्यू? सर्वोच्चको आदेश उल्लंघन गर्दै महँगो टिकटसँगै सबै खर्च बोकाउनु मानवीयता कि सर्वहारा माथि अधिनायकवाद?' भन्दै कांग्रेसले प्रश्न उठाएको छ।

'गत असार १ गते सोमबार सम्मानित सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परी नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्दार गर्न सरकारका नाममा आदेश जारी गरेको थियो', कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ, 'न्यायाधीशहरू आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासले गरेको आदेश कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता देखाएन। आदेशको दुई महिनापछि पुनः महँगो चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा थप्न सरकार लागेको समाचारले कांग्रेसलाई गम्भीर तुल्याएको छ।'

सर्वोच्चको आदेश पालना गर्न सरकारलाई सचेत गराउँदै कांग्रेसले विदेशबाट आएका नागरिकलाई सरकारी खर्चमै क्वारेन्टाइन, पिसिआर परीक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन आग्रह गरेको छ। 

उच्च मानवीय भावनाका साथ  संकटमा उद्वार गर्नु मातृभूमिको कर्तव्य भएकाले यसै कुरालाई आत्मसाथ गर्दै सरकारलाई गम्भीर र जिम्मेवार बन्न कांग्रेसको आग्रह छ।

यस्ता छन् कांग्रेसका सरकारलाई चार सुझाव

(१) प्रवासी नेपाली जो जुन देशमा हुन् अप्ठ्यारोमा परेकालाई स्नेह र सहाराको हात दिनु राज्यको दायित्व थियो र हो। राज्यको यो दायित्व बारे नेपाली कांग्रेसले लिखित र मौखिक रूपमा निरन्तर प्रधानमन्त्रीदेखि मन्त्री हुँदै सम्बन्धित निकाय समक्ष राख्दै आएको छ। आज पुनः सार्वजनिक रूपले त्यही माग र आग्रह दोहोर्याउँदै प्रश्न गर्न चाहन्छौ- ६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ ? सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्वार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?

(२) मन्त्रिपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्वार फ्लाइटको अनुमति दिएको छ। भदौ १६ बाट सुरु गर्ने भनिएको नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्धित गरिएका कतिपय देशका नेपाली श्रमिक यो न्यून संख्याको फ्लाइटबाट नेपाल आइपुग्न महिनौं लाग्ने देखिन्छ। उद्वारको यो कछुवा गति भित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन।

(३) सरकारको पछिल्लो निर्णयअनुसार सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार त गर्न लाग्दैछ तर मानवीय भावना कम उद्दाारमा ब्यापारको मस्तिष्क धेरै खपत भएको देखिन्छ। एक त चार्टर फ्लाईटको महंगो टिकट काट्नु पर्ने, दोस्रो होटेल क्वारेन्टाइनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, तेस्रो पीसिआर परिक्षण आफै गराउनुपर्ने अनि चौथो गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने। अनुकूल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘बर्ग शत्रु’ को ब्यवहार ?

(४) रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकम मार्फत हवाई टिकट ब्यवस्था गरेर निःशुल्क उद्दार गर्न नेपाली कांग्रेस सरकारसमक्ष पुरानो माग दोहो-याउन चाहन्छ।


Leave a Reply

Your email address will not be published.