‘तीन वर्ष भो हल्ला भएको, खोइ! मन्त्री चाहिँ भइएन’ 

‘तीन वर्ष भो हल्ला भएको, खोइ! मन्त्री चाहिँ भइएन’ 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन भएर प्रतिवेदन बुझाइसक्दाको अवस्थामा सबैभन्दा बढी चर्चामा रहेको विषय हो- मन्त्री हेरफेर। 

हेरफेरको अनुमान शृंखलामा दोहोरिएका नाम हुन् स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे।

उनले अर्थमन्त्री युवराज खतिवडालाई विस्थापन गर्ने भन्ने अनुमान हो। विगतमै अर्थमन्त्रीको अनुभव लिइसकेका पाण्डे नै चाहिँ यसलाई हल्लामात्र मान्छन्। 

‘चर्चा चल्न लागेको त तीन वर्ष भयो, हरेकपटक मन्त्री हेरफेरको कुरा आउनेबित्तिकै सबै मिडियाले अब सुरेन्द्र पाण्डे मन्त्री बन्ने भयो भनेर लेख्छन्,’ बुधबार आयोमेलसँग पाण्डेले भने, ‘खोइ! कसैले अहिलेसम्म मन्त्री बनाएको होइन?’ 

महासचिव विष्णु पौडल नेतृत्वको कार्यदलमा सहभागी सबै ६ जना मन्त्रीका प्रमुख दाबेदार रहेको चर्चा भइरहँदा पाण्डेले चाहिँ मन्त्रिपरिषद हेरफेरका सवालमा सचिवालय बैठकको निर्णय र प्रक्रियाअनुसार गर्न सुझावमात्रै दिएको उल्लेख गरे। 

‘मन्त्रिमण्डल गठनदेखि हेरफेर गर्दा सबैको सहमतिबाट प्रक्रियाअनुसार हुनुपर्ने सुझाव दिएका छौं। तर, अहिले नै कुन मन्त्री कहाँको फेरिने भन्ने कुरा चाहिँ कार्यदलको बैठकमा छलफल नै भएको छैन,’ उनले भने।

बालुवाटार स्रोतले चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षमा पनि अपेक्षाअनुसार काम गर्न नसकेका मन्त्रीका ठाउँमा नयाँ अनुहार ल्याउने तयारी गरिएको बतायो। तर, आगामी शनिबारका लागि बोलाइएको सचिवालय बैठकले कार्यदल प्रतिवेदनमाथि छलफल गर्ने क्रममा मात्रै ओली यससम्बन्धमा प्रष्ट हुने अवस्था देखिन्छ। ओली यतिबेला एकदम कम भेटघाट गरी करिब पूर्णआराम गरिरहेका छन्।  

पाण्डे अर्थमन्त्री हुने सम्भावना हकमा चाहिँ वर्तमान अर्थमन्त्री खतिवडाको गत चैतमै सांसद पदको म्याद सकिएको अवस्था र राष्ट्रियसभामा उनको मनोनयन नदोह¥याउने निर्णय महत्वपूर्ण छन्।   

झन्डै वर्ष दिनदेखि लम्बिँदै आएको नेकपा विवादले पार्टी नै विभाजित हुने खतरा चुलिएको थियो। र, ओली पक्षको प्रष्ट पहलमै निर्वाचन आयोगबाट पुरानो एमाले ब्युँताउने काम पनि त्यसैबीच भयो।

ओली बरु विभाजनका लागि तयार रहेको, तर सरकार र पार्टीको सत्ता सिधै छाड्न नमानेको स्थितिमा कार्यदलमार्फत सुलह खोज्ने उपाय निस्केको हो। 

समाधानको वातावरण बनिरहँदा ओलीले पार्टी फुटाउन छिमेकी भारत लागिरहेको भन्नेसम्मको आरोप लगाउने स्थितिबाट फर्केर नयाँदिल्लीसँग सम्बन्ध सुधारको समेत संकेत गरिसकेका छन्। 

अब केन्द्र र प्रदेशमा मन्त्री हेरफेर एवं बाँकी सारा समस्यालाई महाधिवेशनसम्म थयावत राख्न ओली लचक भएको एक स्थायी समिति सदस्यले आयोमेललाई बताए। 

यो सुलहलाई बैधता दिन कार्यदल गठन भएको हो। आठ दिन काम गरेको कार्यदलले प्रतिवेदन बुझाएसँगै त्यसमाथि धेरै रस्साकस्सी नगरी शनिबारको सचिवालय बैठक सम्पन्न हुने बुझिएको छ। 

‘अब धेरै किचकिच गरेर कसैलाई फाइदा हुने देखिएन। पार्टी झन्–झन् अलोकप्रिय हुने खतरा मात्र बढ्यो,’ ती स्थायी समिति सदस्य भन्छन्। 

कार्यदलमै सदस्य रहेका पाण्डेले पार्टीलाई विधि, पद्धति र विधानअनुसार अगाडि लैजानु नै अहिलेको मूलसरोकार रहेको उल्लेख गरे। 

‘लामो समयदेखि स्थायी कमिटी बैठक बसेको छैन, शीर्षतह नै बैठक र छलफलबाट भाग्न थालेपछि हामीले सँगै बस्ने वातावरण बनाउन सुझावमात्र दिएका हौं,’ उनले भने।


Leave a Reply

Your email address will not be published.