कुलमानलाई सामाजिक सञ्जालले नियुक्ति दियो : खतिवडा

कुलमानलाई सामाजिक सञ्जालले नियुक्ति दियो : खतिवडा

सरकारका प्रवक्ताले नै कुलमान घिसिङलाई सामाजिक सञ्जालले नियुक्ति दिएको टिप्पणी गरेका छन्। विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै निर्णय नभएको भन्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सामाजिक सञ्जालले नै उनलाई पुनः नियुक्ति दिएको बताएका छन्।

बिहीबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक कार्यक्रममा उनले कुलनमानलाई पुनः नियुक्ति दिनेबारे कुनै निर्णय नभएको जानकारी दिए। 

‘प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै निर्णय भएको छैन। कुलमानलाई सामाजिक सञ्‍जालले नियुक्ति दिएको होला तर सरकारले कुनै निर्णय गरेको छैन’, उनले भने, ‘औपचारिक प्रस्ताव आसकेको छैन।’

उनले सामाजिक सञ्‍जाल र केही अनलाइनमाहरुमा आएका समाचारमा कुनै सत्यता नभएको बताए। ‘सामाजिक सञ्जालमा देखिएको त्यो लेखाइ र बोलाइमा कुनै पनि सत्यता छैन’, उनले भने। 

प्राधिकरणको बेथिति हटाएर देशलाई १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेका कुलमानको म्याद यही भदौ २९ मा सकिँदैछ। यस्तोमा प्राधिकरणमा समस्या आउन नदिन उनैलाई त्यहाँ राख्‍नुपर्ने जनदबाबबीच सरकारले प्रक्रिया नै अघि नबढेको भनेको हो। केही दिनअघि कुलमान घिसिङको फेक ट्वीटर अकाउन्टबाट पुनः सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेको सार्वजनिक भएको थियो। सोहीलाई आधार मान्दै सामाजिक सञ्जाल र केही अनलाइनमासमेत उक्त सामाचार भाइरल बनेको थियो।


Leave a Reply

Your email address will not be published.