घट्न थाल्यो डलरको भाउ, नेपाललाई फाइदा कि घाटा?

घट्न थाल्यो डलरको भाउ, नेपाललाई फाइदा कि घाटा?

अमेरिकी मुद्रा डलरको भाउ घट्न थालेको छ। 

साउन पहिलो साता एक डलर किन्न १ सय २० रुपैयाँ खर्च गर्नुपथ्र्यो भने आज शुक्रबार १२औं दिन आइपुग्दा ११७.८० रुपैयाँमा भए पुग्छ। केन्द्रीय बैंकको विनिमयदरअनुसार शुक्रबार एक डलरको बिक्री मूल्य ११८.४० रुपैयाँ छ।

हिजो बिहीबार एक डलरको खरिद मूल्य ११८.५८ र बिक्री मूल्य ११९.१८ रुपैयाँ थियो। यसैगरी, बुधबार खरिद मूल्य ११८.६२ रहेकोमा बिक्री मूल्य भने ११९.२२ रुपैयाँ थियो।

भदौ ५ मा एक डलरको खरिद र बिक्री मूल्य क्रमशः ११९.७५ र १२०.३५ थियो भने साउन ३० यो मूल्य क्रमशः ११९.४५ र १२०.५ थियो।
यसैगरी, साउन २ गते खरिद मूल्य १२०.१ र बिक्री मूल्य १२०.६१ थियो। 

त्यसअघि वैशाख २६ नेपालमा डलरको भाउ त्यो भन्दा बढी थियो। त्यतिखेर एक डलरको नेपाली खरिद मूल्य १२०.९२ र बिक्री मूल्य १२१.९२ थियो। 

गत वर्ष चैत २८ मा डलरको मूल्य अझ महँगो थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार त्यतिखेर एक डलरको खरिद मूल्य १२१.७६ र बिक्री मूल्य १२२.३६ थियो।

नेपालमा के असर पर्छ?

डलरको भाउ घटबढ हुँदा नेपाललाई सिधै असर गर्दैन किनकि नेपाली रुपैयाँको भारतीय मुद्रासँग स्थिर विनिमयदर छ।

तर, डलर भाउ घटिरहेको यो अवस्थामा भारतीय रुपैयाँ (भारु) पनि मजबुत बनिरहेकाले त्यसको लाभ नेपाललाई हुन्छ। भारु एकको नेपाली रुपैयाँ १.६० मा स्थिर गरिएको छ।

डलरको भाउ घट्दा नेपालजस्ता आयातमुखी मुलुकलाई आयात सस्तो पर्न जान्छ। तर, कोभिड–१९ को यो अवस्थामा नेपालको अन्तर्राष्ट्रिय व्यापार खुम्चिएको छ।  

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्ट डलरको भाउ घट्दा आयात सस्तो र ऋण भुक्तानी गर्न सहज हुने बताउँछन्। 

तर, रेमिट्यान्समा भने यसले असर गर्छ। आर्थिक वर्ष२ ०७६÷७७ मा मात्र नेपालमा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको थियो। रेमिट्यान्स डलरमा भित्रिने भएकाले भाउ घट्दा त्यसले उपभोक्तालाई असर गर्छ।

डलर विश्वमा सबैभन्दा बढी प्रचलित मुद्रा हो। हरेक मुलुकका केन्द्रीय बैंकको विदेशी मुद्राको भण्डारमा डलर बढी हुन्छ।  

पछिल्लो समय सुनको भाउमा सुधार आउँदा डलरको भाउ घट्न थालेको आँकलन गरिएको छ। त्यसअघि सुन र डलरको भाउ सँगसँगै अगाडि बढिरहेका थिए। कोभिड–१९ विरुद्धको खोप अमेरिकाभन्दा अगाडि अन्य मुलुकमा पत्ता लाग्दा त्यसको असर डलरमा परेको विश्लेषण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरिरहेका छन्।

फाइनाइन्सियल टाइम्सले रुस र चीनबीचको व्यापारमा डलरको हिस्सा घटेर ५० प्रतिशतले कमी आएको उल्लेख गरेको छ। यो २०२० को पहिलो चौमासिकको तथ्यांक हो। बरु यी देशले व्यापारमा युरोसँगै आ–आफ्नो मुद्राको प्रयोग बढाएका छन्।


Leave a Reply

Your email address will not be published.