कोरोनाको जोखिम बढेपछि दाङमा आइतबारदेखि लकडाउन

कोरोनाको जोखिम बढेपछि दाङमा आइतबारदेखि लकडाउन

कोरोना भाइरसको जोखिम बढेपछि दाङमा एक हप्ताका लागि लकडाउन गरिने भएको छ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आज शुक्रबार बसेको बैठकले भदौको १४ देखि २१ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।

लकडाउन आइतबारदेखि लागू हुने  प्रमुख जिल्ला अधिकारी तथा कोरोना संकट व्यवस्थापन समितिका संयोजक गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन्। संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि लकडाउन गर्नुपरेको उनले बताए।

लकडाउनका क्रममा कुनै पनि नागरिक अत्यावश्यक कामबाहेक अन्य कामका लागि बाहिर निस्किन पाउने छैनन्। जिल्लाका दसवटै पालिका प्रमुखको सुझाव अनुसार यो निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

‘लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा आज जिल्लाका दसवटै पालिका प्रमुखसहित राजनीतिक दललगायतको उपस्थितिमाा बैठक बसेको थियो,’ प्रजिअ रिजालले भने, ‘ सवैको सल्लाहअनुसार लकडाउन गर्ने निर्णय गरेका हौं।’

यसबीचमा संक्रमण दर बढेमा लकडाउन थप गरिने समेत उनले बताए। साथै लकडाउन अवधिमा कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि पिसिआर

परीक्षणको दायरा बढाउने निर्णय भएको छ। त्यसका लागि आवश्यक किट एवं अन्य स्राेत जुटाउन पनि स्थानीय सरकारले पहल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन्।

दाङमा हालसम्म ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।


Leave a Reply

Your email address will not be published.