‘याक एन्ड यतीमा विदेशी महाप्रबन्धक नियुक्ति कानुनविपरीत’

‘याक एन्ड यतीमा विदेशी महाप्रबन्धक नियुक्ति कानुनविपरीत’

राजधानीको दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यती व्यवस्थापनले महाप्रबन्धकमा कानुनविपरीत विदेशी नियुक्त गरेकोे भन्दै छानबिनका लागि पर्यटन विभागमा निवेदन परेको छ।

याक एन्ड यतीमा ‘योग्यता’ नपुगेकी एक विदेशीलाई महाप्रबन्धक नियुक्त गरिएपछि सबै स्थायी म्यानेजरदेखि कार्यरत ३ सय कर्मचारी रुष्ट छन्।

होटलका कार्यकारी निर्देशक अरुण सर्राफले अस्ट्रियाकी मोनिका सेइब्लउरलाई एकैपटक ६ वर्षको करार नियुक्ति दिएपछि उब्जिएको विवाद पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागसम्म पुगेको छ। 

होटल कर्मचारीका तर्फबाट अधिवक्ता युवराज लुइँटेलले विदेशी महाप्रबन्धक नियुक्ति नेपालको कानुनविपरीत रहेको भन्दै पर्यटन विभागलाई आवश्यक छानबिन गरी सिफारिस गरिदिन निवेदन दिएका हुन्।

‘तीन वर्षसम्म मोनिकालाई महाप्रबन्धक बनाउँदा याक एन्ड यती व्यवस्थापनले नेपाली कर्मचारीलाई दक्ष बनाउने कुनै कार्य नगरेको तर श्रम स्वीकृति समय नसकिँदै सरकारलाई कुनै जानकारी नदिई कानुनविपरीत ढंगबाट सन् २०१९ अक्टोबर १६ बाट लागू हुने गरी ६ वर्षका लागि महाप्रबन्धक नियुक्त गरिएको अवस्था छ,’ आयोमलसँग सुरक्षित उक्त निवेदनमा उल्लेख छ, ‘सरकारको अनुमतिबिना विदेशीलाई वर्षौंका लागि गोप्यरूपमा रोजगारी दिई सरकारको आँखामा छारो हाल्ने उद्देश्यले फेरि सोही पदमा विज्ञापन मागी दक्ष नेपालीका निवेदनलाई वास्तै नगरी आन्तरिक रूपमा नियुक्त विदेशीलाई महाप्रबन्धकमा काम लगाइ पाउँ भनी पर्यटन विभागमा निवेदन दिइएको छ।’

कर्मचारीलाई यसबारे सुइँको नदिन व्यवस्थापनले होटललाई महाप्रबन्धक चाहिएको भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। सूचनामा नेपालीलाई पहिलो प्राथमिकता दिइने उल्लेख छ। 

उक्त सूचनामा महाप्रबन्धक नियुक्त हुन यही पदमा २ सयभन्दा बढी कोठा भएका अन्य पाँचतारे अन्तर्राष्ट्रिय चेन होटलमा काम गरेको अनुभव हुनुपर्ने उल्लेख छ।
तर, व्यवस्थापनले सन् २०१९ अक्टोबर १६ बाट लागू हुने गरी मोनिकालाई ६ वर्षे करारमा महाप्रबन्धक नियुक्त गरिएको जुलाई १ को चिठी भेटिएपछि सारा कर्मचारी आक्रोशित भएका हुन्। 

‘पहिल्यै महाप्रबन्धक नियुक्त गर्ने अनि ढाँटेर महाप्रबन्धक चाहियो भनेर सार्वजनिक सूचना जारी गर्ने?,’ एक म्यानेजरले भने, ‘यसले सारा कर्मचारीको मनोवल गिरेको छ।’

र, याे पनि…

 

याक एन्ड यतीमा जालझेल, १३ स्थायी म्यानेजरलाई जबर्जस्ती बेतलबी बिदा


Leave a Reply

Your email address will not be published.