प्रजातान्त्रिक अधिकार सरकारले ग्यारेन्टी गर्नुपर्यो : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन सरकारले संविधानले दिएको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्।
गान्धी जयन्तीको अवसरमा महेन्द्रनारायण स्मृति प्रतिष्ठानले शुक्रबार ‘गान्धी, अहिंसा र नेपालको शान्ति प्रक्रिया’ विषयक भर्चुअल अन्तक्र्रियामा बोल्दै सभापति देउवाले जनताको प्रजातान्त्रिक अधिकार सुनिश्चत भएमात्र शान्ति प्रक्रिया पूरा भएको मान्न सकिने स्पष्ट पारे।
‘नागरिकले शान्तिपूर्ण तरिकाले बोल्न पाउनुपर्यो, शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार सुनिश्चित हुनुपर्यो,’ देउवाले भने, ‘प्रजातान्त्रिक अधिकार ग्यारेन्टी गर्ने जिम्मेवारी सरकारको हो। सरकारको तर्फबाट यसको उल्लंघन हुनु भएन।’
‘नेपालको शान्ति प्रक्रिया विश्वमा अतुलनीय छ, केही काम गर्न अझै बाँकी छ,’ देउवाले भने, ‘बाँकी काम गर्न सबै दल मिलेर अघि बढ्नुपर्दछ। हामी सहयोगका लागि सधैं तयार छौं।’
शान्ति नै उत्तम प्रक्रिया रहेको भन्दै सभापति देउवाले विगतमा बन्दुक बोकेकाले पनि व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताए।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा महात्मा गान्धीको नैतिक समर्थन रहेको स्मरण गर्दै उनको अंगालेको सिद्धान्त अझै सान्दर्भिक रहेको बताए।
गान्धीले अहिंसाको सिद्धान्तबाट अघि बढे पनि विश्वको राजनीति परमाणु बमतर्फ अगाडि बढेको देख्दा दुःख लागेको पौडेलको भनाइ थियो। शान्तिको आधार भनेको सम्झौता रहेको उल्लेख गर्दै उनले अर्को पक्षको चाहना कदर गरेर हिँड्दा शान्ति स्थापना हुने निश्चित रहेको बताए। बाघको घोडा चढेर कसैले सुख नपाउने भन्दै पौडेलले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन दलहरू एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गरेका छन्।
पूर्वसभामुख तथा प्रतिनिधिसभामा नेकपाका उपनेता सुवाष नेम्वाङले शान्तिको बाटो अङ्गिकार गरेर जनभावनाअनुसारको संविधान बनाउन सफलता प्राप्त भएको बताएका छन्।
‘जनताको मन जित्ने गरी संविधान बनेको छ, अब कुनै पनि परिवर्तनका लागि आन्दोलन गर्नुपर्ने जरुरी छैन्,’ नेम्वाङले भने, ‘व्यक्ति मन नपरे व्यक्ति फेरौं, पार्टी मन नपरे पार्टी फेरौं, यस्तो परिवर्तन हामीले ल्याएका छौं।’
संविधानले आधार तयार पारिसकेको भन्दै नेम्वाङले कार्यान्वयनतर्फ सबै दल एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले राजनीतिक र सामाजिक परिवर्तनको लागि अहिंसाको विकल्प नरहेको बताए। नेपालमा
राजनीतिक परिवर्तनका लागि अहिंसात्मक आन्दोलन भए पनि अन्ततः अहिंसाबाटै सफलता प्राप्त भएको उनले जिकिर गरे।
पटक–पटकको अहिंसात्मक आन्दोलनबाट गणतन्त्र र संघीयता प्राप्त भए पनि कानुनअनुसार प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने कार्य अझै बाँकी रहेको निधिले बताए।
गान्धीले धार्मिक, सांस्कृतिक र अहिंसाका साथै छुवाछुतविरुद्ध आन्दोलन चलाएकोे स्मरण गर्दै निधिले यसविरुद्ध सबैजना सक्रिय हुनुपर्ने आवश्यक्ता रहेको उल्लेख गरे।
नेपालका लागी भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको सन्दर्भमा स्वर्गीय निधि अहिंसाको पर्यावाची रहेको बताए।
पत्रकार चन्द्रकिशोर झाले नेपालको सन्दर्भमा महेन्द्रनारायण निधि अहिंसाको प्रतिक रहेको बताए। गान्धी जयन्तीका अवसरमा अहिंसा दिवस मनाइ रहँदा स्वर्गीय निधिलाई सम्झनै पर्ने उनको भनाइ थियो।
प्रतिष्ठानका अध्यक्ष प्राध्यापक पुरुषोत्तम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, रमेश लेखक, नेपालका लागि स्वीजरल्यान्डका राजदूत एलिसा भान क्याप्लर, शान्ति प्रक्रिया विशेष समिति सचिवालयका तत्कालीन संयोजक बालनन्द शर्मालगायतले सम्बोधन गरेका थिए।