कार्यतालिकाअनुसार कामै भएन, अलमलमा कांग्रेस महाधिवेशन
नेपाली कांग्रेसले ७३ जिल्लामा पार्टीको आन्तरिक संरचना समायोजन पूरा गरेको छ। देश संघीय संरचनामा गइसकेपछि पार्टीकाे संरचना पनि त्यस्तै बनाउनका लागि कांग्रेसले आन्तरिक संरचना समायाेजन सुरु गरेकाे हाे।
तर, बाँकी जिल्लामा भने समायोजन बाँकी नै छ।
सिन्धुपाल्चोकसहित प्रदेश २ को तीन जिल्लामा समायोजन गर्न बाँकी रहेको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिएका छन्।
अधिकारीका अनुसार सिन्धुपाल्चोक तथा प्रदेश २ का सप्तरी, सिरहा र बारामा समायोजन कार्य सम्पन्न हुनु बाँकी छ। यसअघि धनुषामा विवाद देखिएपनि समायोजन सम्पन्न भएको उनले बताए।
‘७३ जिल्लाको समायोजन सकिएको छ,’ अधिकारीले भने, ‘सिन्धुपाल्चोक, सप्तरी, सिरहा र बारामा बाँकी छ, काम भइरहेको छ, चाँडै सकिन्छ।’
अषाढ २२ मा बसेको केन्द्रीय समिति बैठकले तल्ला तहका अधिवेशन तालिकाका साथै पार्टीको आन्तरिक संरचना समायोजन र क्रियाशील सदस्यता वितरणको समया तालिका परिमार्जन गरेको थियो।
बाँकी रहेका जिल्लाहरुमा आन्तरिक समायोजन सक्न कांग्रेसले साउन १० सम्म समय तोकेको थियो।
आन्तरिक समायोजन सम्पन्न नहुँदा कांग्रेसको क्रियाशील सदस्यता वितरण कार्यसमेत प्रभावित भएको छ। पार्टीको आन्तरिक समायोजन कार्य नहुनुमा काेराेना संक्रमण प्रमुख कारण रहेको कांग्रेसको भनाइ छ।
पार्टीको आन्तरिक समायोजन र सम्पन्न हुन नसक्दा क्रियाशील सदस्यता वितरण कार्य रोकिएपछि १४ औं महाधिवेशन नै प्रभावित हुनसक्ने कांग्रेसका नेताहरुले आकंलन गर्न थालेका छन्।
फागुनमा महाधिवेशन गर्न भदौ १५ गतेसम्म क्रियाशील सदस्यता वितरण टुंग्याइसक्नु पर्नेथियो तर त्यो हुन सकेको छैन।
असोज १६ सम्म समायोजन प्रक्रियासमेत पूरा नसकेकोले तोकिएको मितिमा महाधिवेशन हुनेमा शंका रहेको केन्द्रीय सदस्य महेन्द्र यादव बताउँछन्।
‘समायोजन सकेर भाद्र १५ गतेसम्म क्रियाशील सदस्यता वितरण गर्नुपर्ने कार्यतालिका थियो, अब दसैं, तिहार र छठ आउँदै छ, काम हुने सम्भावना देखिँदैन्’ यादव भन्छन् ,‘तीन चार महिना ढिला भइसकेको छ, महाधिवेशनको मिति सार्नुको विकल्प देखिँदैन्।’
‘अहिलेको विधानले वडाबाट क्रियाशील सदस्य सिफारिस गर्ने प्रावधान गरेको छ,’ उनले भने, ‘वडाले सिफारिस गर्नुअघि समायोजन सक्नु पर्यो, चार जिल्लामा समायोजन हुनै बाँकी छ, सरसर्ती हेर्दा महाधिवेशन भाद्रमा मात्र हुनसक्ने लागेको छ।’
जिल्लाहरुले समयमा समायोजन प्रक्रिया पूरा गर्न नसकेपछि कार्यतालिका प्रभावित भएको भन्दै यादवले महाधिवेशन नै प्रभावित हुने सम्भावना बढेको बताए।
आसन्न १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न असोज १९ गते कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ।
केन्द्रीय समिति बैठकमा यसअघि तोकिएको कार्यतालिकाबारे समेत निर्णय गर्ने बताइएको छ।